गोकुलमको जितमा सावित्राको चार गोल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले चार गोल गर्नुभएको खेलमा गोकुलम केरला एफसीले भारतीय महिला लिग (आइडब्ल्युएल) मा माता कुमानी फुटबल क्लबलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

खेलको पाँचौँ मिनेटमा सोरोखाबाम रञ्जना चानुको गोलबाट गोकुलमले अग्रता लिएको थियो । सावित्राले सातौँ र १२ औँ मिनेटमा गोल गर्नुभयो । डाङमइ ग्रेसले २०औँ, हेमाम सिल्की देवीले २७औँ तथा इन्दुमथीले ३५औँ र इन्जुरी समयमा गोल गरेपछि टोलीले पहिलो हाफमा ७–० को अग्रता लिएको थियो ।

६८औँ मिनेटमा अर्को गोल गर्दै सावित्राले हृयाट्रिक पूरा गर्नुभयो । जारी लिगमा उहाँको यो चौथो हृयाट्रिक हो । त्यसको एक मिनेटपछि नै सावित्राले चौथो गोल गर्नुभएको थियो । सावित्राले ४ वा सोभन्दा बढी गोल गरेको यो चौथो खेल हो । उहाँको गोल संख्या १९ पुगेको छ । उहाँ सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा शीर्षस्थानमा हुनुहुन्छ । सावित्रा प्लेयर अफ दी म्याच घोषित हुनुभएको थियो ।

छैटौँ खेलमा गोकुलमको यो पाँचौँ जित हो । एक खेलमा बराबरी खेलेको गोकुलम १६ अंकका साथ समूह ‘ए’को अंकतालिकाको शीर्षस्थानमा छ । यस्तै, अर्की नेपाली खेलाडी एञ्जिला तुम्बापो सुब्बा आबद्ध टोली सेथु १८ अंकका साथ समूह ‘बी’को शीर्षस्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?