सुडानमा भएको झडपमा करिब सात सयजनाको मृत्यु : संयुक्त राष्ट्रसंघ

Read Time = 3 mins

सुडान । सुडानी सेना र र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)बीच भएको झडपमा परी कम्तीमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)ले जनाएको छ । सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल-बुहारन र उप-प्रमुख मोहम्मद हमदान डागलोप्रति वफादार सुरक्षा बल (र्‍यापिड सपोर्ट फोर्सेज) बीचको द्वन्द्वले एक महिना नाघिसकेको छ । ‘सुडानको सशस्त्र बल र ¥यापिड सपोर्ट फोर्सेजबीच लगातार ३० दिनसम्म जारी द्वन्द्वमा विशेषगरी खार्तूम र आसपासका क्षेत्रमा कम्तीमा ६७६ जनाको मृत्यु भएको छ भने पाँच हजार ५७६ जना घाइते भएका छन्’, ओसीएचएले उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार गत अप्रिल १५ देखि हालसम्म द्वन्द्वका कारण नौ लाख ३६ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमध्ये करिब सात लाख ३६ हजार २ सय आन्तरिक रूपमा विस्थापित भएका छन् भने करिब दुई लाखले छिमेकी मुलुकमा शरण लिएका छन् ।
गत अप्रिलको मध्यमा भएको झडपपछि सुडानको राजधानी खार्तुमका बासिन्दाले खाद्यान्नको चरम अभाव झेल्दै आएका छन् । झडपमा विशेषगरी दर्जनौँ कारखाना लुटिएका वा जलाइएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ मा करिब एक करोड ५८ लाख सुडानी अर्थात् सुडानको जनसंख्याको करिब एक तिहाइलाई मानवीय सहायताको आवश्यकता पर्ने अनुमान गरिएको छ ।

मे ११ मा, सुडानी युद्धरत पक्षहरूले साउदी बन्दरगाह शहर जेद्दाहमा आपत्कालीन मानवीय सहायता वितरणलाई सहजीकरण गर्न र नागरिकहरूको सुरक्षित निकासीको ग्यारेन्टी गर्न सुडानका नागरिकहरूको रक्षा गर्ने प्रतिबद्धताको घोषणापत्रमा हस्ताक्षर गरेका भए पनि हिंसा रोक्ने सम्झौता भने गरिएको छैन । हिंसात्मक झडपमा कमीआएको छैन ।

यद्यपि, दुवै पक्षले एक अर्कालाई सम्झौता उल्लंघन गरेको र सशस्त्र द्वन्द्व जारी राखेको आरोप लगाएका छन् । सुडानी सेनाले आइतबार आरएसएफले ओमदुरमान शहरको अल-मसाल्मा क्षेत्रमा रहेको एक चर्चमा क्रिश्चियन उपासकलाई गोली हानेको आरोप लगाएको थियो ।
यद्यपि आरएसएफले घटनाको जिम्मेवारी लिन अस्वीकार गरेको छ र यसको पछाडि सेनाको हात रहेको आरोप लगाउँदै घटनाको स्वतन्त्र छानबिनको माग गरेको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?