मेलम्ची खानेपानी र उपत्यकाका अपूरा सपना

हिमालय टाइम्स
Read Time = 9 mins

मेलम्ची खानेपानीको मर्मत र सरसफाइ गर्नुपर्ने भएका कारण दुई हप्ताका लागि त्यहाँबाट वितरण हुँदै आएको पानी आपूर्ति बन्द हुने भएको छ । मेलम्ची नेपालका ठूलाखालका आयोजनामध्ये एक हो । काठमाडौं उपत्यकामा जनघनत्व बढेसँगै यहाँको पानीका स्रोतहरूले नधान्ने भएपछि विकल्प खोज्ने क्रममा मेलम्चीको पानी काठमाडौंमा ल्याएर अभाव पूर्ति गर्ने दीर्घकालीन लक्ष्यकासाथ यो योजना ल्याइएको हो । पहिले त यहाँका नदीहरूको पानी प्रयोग गर्न सकिने अवस्था थियो । समयान्तरमा मानिसहरूको बसोवास बाक्लाम्मे भएसँगै यहाँका नदीहरू पनि प्रदूषित भए र हालका दिनमा ती ढलमै परिणत भइसकेका छन् ।

संरक्षणको अभावमा उपत्यकाभित्रका विभिन्न ठाउँका ढुंगेधारा पनि जग खल्बलिएर सुकेका तथा प्रदूषित हुन पुगेका कारणले हाल तिनको उपयोग गर्न छोडिएको छ । कतिपय यस्ता धारा वा हिटीहरू मानवीय अतिक्रमणको चपेटामा परेका छन् । नेपालमा २०४६ सालको प्रजातन्त्र आएसँगै यो योजनाको सुरुवात भएको थियो । तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले अब प्रजातन्त्रमा विदेशीहरूले हामीलाई विभिन्न प्रकारका सहयोग गर्छन् । मेलम्ची खानेपानीको योजना त घोषणा नै भइसकेको छ । त्यो पानी उपत्यकामा आएपछि यहाँ खानेपानीको आवश्यकता पूर्ति हुनेमात्र होइन सडक पखाल्नसमेत पुग्नेछ भन्नुभएको थियो । पञ्चायतभन्दा यो व्यवस्था राम्रो हो भन्ने सन्दर्भमा उहाँले यसो भन्नुभएको थियो तर उहाँको उक्त भनाइलाई लामो समयसम्म खिसीटिउरीको विषय बनाइयो ।
उहाँले कुनै असम्भव कुरा बोलेको ढंगमा यसको व्यख्या गरियो र पछि यसलाई असम्भव जस्तो नै बनाउँदै पनि लगियो, जसले गर्दा यो योजना पूरा हुन तीन दशकको समय लाग्यो । यो योजना पूरा भएर सञ्चालनमा आउँदासम्म उपत्यकाको जनसंख्या तेब्बर भयो र फेरि त्यस पानीले नधान्ने भएको छ । जति धान्छ त्यही पनि नियमित रूपमा आउन सक्ने हो भने यहाँको मागको आधाभन्दा बढी समाधान गर्नसक्ने थियो । यो योजना सञ्चालन हुँदै गरेको समयमा बीचमा माओवादी सशस्त्र विद्रोह भयो । त्यस योजनाका ठेकेदार तथा सम्बन्धित पक्षबाट विद्रोहमा संलग्नहरूबाट अनेक निहुँमा व्यवधान उत्पन्न गरिएपछि योजना निरीह बन्यो र मूर्तरूप लिन करिब तीन दशक लागेको छ ।
यतिमात्र होइन विभिन्न कारणले यसको ठेक्का लिने पक्षहरू फेरबदल भइरहे जसले गर्दा योजना सुचारु बन्न सकेन । त्यसका साथै योजना संबद्ध मन्त्रालयमा मन्त्री फेरबदल भएपिच्छे योजनामा सबैले आँखा गाड्ने गरेकाले समेत यसको निर्माण कार्यका बीचमा अवरोध पैदा भई नै रहृयो । उच्च पदमा आसीन राजनीतिक व्यक्ति, सरकारी कर्मचारी तथा ठेकेदारहरूको मिलोमतोमा अनेकौं असम्भव कार्यसमेत सम्भव हुनसक्ने गरेको पाइएको छ । हालका दिनहरूमा संग्रालिएर चर्चामा आइरहेको भुटानी शरणार्थीसम्बन्धी प्रकरणले समेत राजनीतिक नेतृत्व तथा कर्मचारीहरूको लोभानीपापानीको दृष्टान्त दिइरहेको छ । बिचौलियाहरू यस्ता कार्यमा हावी हुने गरेका छन् ।

यो त एउटा उदाहरण भयो, यस्ता कार्य सबैतिर हुने गरेका छन् । जुन व्यवहार मेलम्ची खानेपानी परियोजनामा पनि देखिन पुग्यो । स्थानीयहरूको अवरोध पनि यसको ढिलाइको एउटा कारण बन्न पुग्यो । यस्ता अनेकौं अप्ठ्याराहरूको सामना गर्दै पूर्णतातर्फ उन्मुख योजनाले केही समयपछि नै प्राकृतिक प्रहारको सामनासमेत गर्नुप¥यो । बाढीपहिरोका कारण फेरि यो बन्द हुन पुग्यो । अब पुनर्निर्माण गर्नै नसकिने अवस्थामा पुग्यो भनिएको योजनाको पुनर्निर्माण भयो र काठमाडौं उपत्यकामा पानी वितरण गरियो । साविकका पाइपहरूका साथै घरघरमा मेलम्ची पानीको छुट्टै पाइप राख्ने काम भएको भए तापनि मेलम्चीको पानी सबै क्षेत्रमा वितरण भएन, केही क्षेत्रहरूमा मात्र वितरण गर्दै आएकोमा हाल त्यो हुने भएको छ ।

जेठ ५ गतेबाट दुई हप्ताका लागि मर्मतसंहार गर्ने भनेर बन्द गर्न लागिएको पानी अब फेरि आउला कि नआउला भन्ने सन्देह यहाँका उपभोक्तामा छ । पानीको आपूर्ति दुई हप्ताका लागि मात्र सरसफाइ तथा मर्मत गर्न बन्द गरिएको भनिए तापनि त्यसपछि वर्षायाम सुरु हुने भएकाले पुनः सुचारु नहुने हो कि भन्ने संसय पैदा भएको हो । मेलम्ची खानेपानी आयोजनालाई सरकारले दिगो व्यवस्थापन गर्न नसकेको हुनाले वर्षायाममा त्यहाँको पानी उपत्यकासम्म ल्याउन कठिन हुने देखिएको छ । सरकारले जनताका प्रत्यक्ष सरोकारका यस्ता योजनाहरूको सञ्चालनमा तदारुकता देखाउनुपर्छ । मेलम्ची खानेपानी वितरणमा विलम्ब नहोस् र उपत्यकावासीहरूले पानी खान नपाएर काकाकुल बन्नु नपरोस् भन्ने जनचाहना निरपेक्ष छैन । उपत्यकावासीको यो चाहना मेलम्ची परियोजनासँग मात्रै सम्बद्ध छैन । मेलम्ची परियोजनाको विकल्पसँग समेत जोडिएको छ । कमसेकम उपत्यकाभित्रका पुराना स्रोतहरूको रक्षा, तिनबाट प्राप्त पानीलाई स्थायी उपयोग गर्ने योजना, उपत्यका वरिपरिका नदीनालाका मुहानको संरक्षण र शुद्धीकरण, वर्षायाममा आकाशबाट पर्ने पानीलाई सञ्चित गरी आवश्यकता अनुसार वितरणको प्रबन्धसँग पनि यो चाहना सम्बद्ध छ । जतिसुकै प्रदशेको संगठन, प्रदेश राजधानीहरूको निर्माण भए पनि उपत्यकामा आवास निर्माणको आकांक्षा आमनागरिकसँग हुने गर्छ, केही थोरै कमाइ हुनासाथ तुरुन्त जग्गा किन्ने र घर बनाउने प्रयास देखिन्छ । अर्थात् आगामी दिनहरूमा उपत्यकामा जनघनत्वको चाप कम हुनुको साटो तीव्र हुँदै जानेछ । यस अवस्थालाई समेत पानी आपूर्तिको सम्भाव्य पूर्वयोजना हुनै पर्दछ । पानी आपूर्तिसँग पानी सुरक्षा, शिक्षा र चेतनाको समेत महत्व बुझाउने योजना जरुरी छ । महत्व नबुझ्दा प्रयोग कर्ताहरूले पानी खेर फालिरहेका हुन्छन् । जति अशिक्षा, अज्ञानता र लापरबाहीले पानी खेर जान्छ त्यति नै अभाव झेल्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?