व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरेको छु : अर्थमन्त्री

Read Time = 8 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकबारेमा छलफल गर्नुभएको छ । सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकबारेमा उहाँले छलफल गर्नुभएको हो । सो अवसरमा सांसदहरूले वर्तमान अर्थतन्त्रबारेमा विभिन्न जिज्ञासा राखेका थिए ।

सांसदहरूको जवाफ दिँदै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नुहुँदैन तर हामीले नेपालमै अवसर सिर्जना गर्दै लैजाने हो । यो कुरा हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुईमत छैन । युवाहरूको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौँ । यहीँ उत्पादन कसरी बढाउने भन्ने कुरा प्राथमिकतामा राख्नुपर्छ । नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडिसन कम छ । हामी चाहन्छौँ, यो भ्यालु एडिसन बढी होस् ।’
नेपाली उद्योग व्यवसायीलाई प्रोत्साहित गर्ने कुरालाई बजेटमा प्राथमिकता दिँदै बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिमा सरकार केन्द्रित हुने उहाँले बताउनुभयो । मन्त्री महतले भन्नुभयो, ‘ज्ञानलाई सम्पूर्णरूपमा उपयोग गरेर सिस्टममा भएको समस्या धकेल्ने हो । समस्या कसरी धकेलेर बाहिर निकाल्ने हो भन्ने कुरामा सबै जानकार हुनुहुन्छ ।’

उहाँले ज्ञान र अनुभव आफूले उपयोग गर्ने र इमान्दारितासाथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो तर दुई महिनाभित्र आफ्नो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट नहुने पनि उहाँले बताउनुभयो । मन्त्री महतले भन्नुभयो, ‘अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधारहरू गरिनेछन् । धेरैजसो यसपालि गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिनेछ । कार्यान्वयन हाम्रो मूल चुनौती हो । नौ महिनापछि स्रोत रिलिज गरिदिनुपर्‍यो, अब हामी ठेक्का लगाउँछौँ भनेर आउँछन् । त्यसलाई मैले रोकिदिएको छु । नौ महिनासम्म के गरेर बस्यो ? बजेटलगत्तै असार मसान्तसम्मको काम छँदैछ, गृहकार्य तत्काल सुरु गर्छौँ । यी कुरा यो समयभित्र गरिसक्ने भनेर कार्यतालिका बनाउँछौँ । यसबारे गृहकार्य भइरहेको छ ।’ त्यस्तो भएमा पुँजीगत खर्चको प्रभावकारिता बढ्ने, पुँजी प्रवाह बढ्ने र आर्थिक वृद्धिदरमा टेवा पुग्ने उहाँको भनाइ थियो । मन्त्री महतले भन्नुभयो, ‘समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा गरेको हुँ, एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन । पुँजीगत खर्च, राजस्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन भन्ने मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ । मैले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको छु । सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन्, यी सबै कुरा दिनरात म हेरिरहेको छु, यहाँ राजनीतिक दल, यो वा त्यो भनेर हेरेको छैन । यहाँ देश र जनताको कुरा छ । म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु ।’

अहिले राजस्व कम उठेकाले सोही आधारबाट माथि उठेर सरकारले कामको सुरुवात गरेको भन्दै उहाँले आफूले राजस्व घटेको स्थानमा हेरिरहेको र ती कुरा सुधार गरिने बताउनुभयो । अर्थमन्त्री महतले भन्नुभयो, ‘यति गर्दागर्दै पनि यो आर्थिक वर्षमै गति लिएर ३५-४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन, वैदेशिक ऋणले हाम्रो अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन ? यसको समीक्षा हुन जरुरी छ । यो समीक्षा गरेर हाम्रो आवश्यकताअनुसार ल्याउन आजको भोलि नै सम्भव छैन । यसका पनि सीमा छ, योसँगै हामीले खर्च गर्ने क्षमता पनि देखाउन आवश्यक छ ।’

साँवाको ब्याज एकदमै बढ्दै गएको, भूकम्पका बेलामा लिएको ऋणको पनि भुक्तानी भइनसकेको भन्दै उहाँले ऋण भुक्तानीमा ध्यान केन्द्रित गर्दा साधारण र पुँजीगत खर्चमा दबाब सिर्जना हुने बताउनुभयो । त्यस्तै प्रशासनिक खर्चका पनि सीमा रहेको र सामाजिक सुरक्षा खर्च हटाउन र सार्वजनिक स्वास्थ्य शिक्षाको लगानी कटाउन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

मन्त्री महतले भन्नुभयो, ‘ऋण भुक्तानीको दायित्वबाट हामी भाग्न सक्दैनौँ । यो जति दबाब बढ्दै जान्छ, हाम्रो आन्तरिक आवश्यकतामा दबाब पर्छ । पुँजीगत खर्च गर्नुपर्ने चौतर्फी मागलाई सम्बोधन गर्न हामीसँग स्रोत सीमित छ । यो असन्तुलनबीच हामीले काम गर्नुपर्ने आवश्यकता छ । मेरो आधारसहितको तर्कलाई माननीयज्यूहरूले बुझिदिनुहुनेछ ।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको भन्दै कागजपत्र, नियमावली संशोधन र सके संविधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेकाले नीतिगत भ्रष्टाचार रोक्न नयाँ सोच अघि सार्नुपर्ने बताउनुभयो ।

साथै उहाँले बजेटको आकार विश्वसनीय बनाउन अप्रिय निर्णय लिन पनि आग्रह गर्नुभयो । डा वाग्लेले भन्नुभयो, ‘लाइसेन्सिङ र पोलिसी करप्सनमा प्रहार गर्नुहोला, बजेटको आकार विश्वसनीय भएको छैन, यसमा अप्रिय निर्णय गरिदिनुहोला, समग्र बजेटको विश्वसनीयतामा कस्ता-कस्ता अंक तोक्नुहुन्छ भन्ने कुराले तय गर्छ, अनुदान छ्याप्पै सुकेको छ, बजेट विश्वसनीय बनाउने हो भने अलिकति अप्रिय निर्मम कदम चालिदिनुहोला ।’

बैठकमा एमाले सांसद सूर्यबहादुर थापा, पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका भवानी खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री डा. महतलाई प्रश्न गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?