पूर्वाञ्चल विश्वविद्यालयले बैंकिङ विषय पढाउने

Read Time = 6 mins

काठमाडौं । बैंक तथा वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न पूर्वाञ्चल विश्वविद्यालयसँग सम्झौता भएको छ । नेपालको बैंकिङ क्षेत्रमा देखिएको वर्तमान आवश्यकता, बजारमा उपलब्ध मानवीय पुँजीको समग्र अवस्था, आमविद्यार्थीको बैंकिङप्रतिको आकर्षण एवं आकांक्षालाई मध्यनजर गर्दै आवश्यक दक्ष एवं प्रतिस्पर्धी मानवीय पुँजीको उत्पादन एवं उपयोगका लागि उत्कृष्ट पाठ्यक्रम निर्माण तथा कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता भएको हो । सम्झौतामा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यान र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले हस्ताक्षर गर्नुभएको छ ।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई व्यावहारिकता÷उत्पादनसँग जोड्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष एवं क्षमतावान् मानवीय पुँजीको उत्पादन तथा विकासका लागि अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गरी देशभित्रै अध्ययन÷अध्यापनको उपयुक्त अवसर सिर्जना गर्नु, देशैभित्र मानवीय पुँजीको उपयुक्त परिचालन तथा उपयोग गर्नु र नेपालको बैंकिङ क्षेत्रले प्राप्त गरेको विश्वास र प्रतिष्ठालाई अन्तर्राष्ट्रियकरण गर्नु सम्झौताको मुख्य उद्देश्य रहेको सिबिफिनले जनाएको छ ।

कर्जा जोखिम, सम्पत्ति व्यवस्थापन, तरलता र जोखिम मूल्यांकन, तरलता र जोखिम व्यवस्थापन, वित्तीय उपकरण विकास, वित्तीय इञ्जिनियरिङ, डिजिटल÷क्रिप्टो करेन्सी, वित्तीय मोडलिङ, वित्तीय स्थायित्व, वित्तीय समावेशीकरण, डिजिटल फाइनान्स, छायाँ बैंकिङ, स्टार्टअप बिजनेस, स्वउद्यमशीलता जस्ता नवीन विषय र बैंकिङ क्षेत्रमा प्रवेश गरिसकेपछि व्यावहारिकरूपमा सम्पादन गर्नुपर्ने कार्यका विषयमा पाठ्यक्रम निर्माण हुने बताइएको छ ।

त्यसैगरी विदेशी मुद्रा नीति, विदेशी विनिमय व्यवस्थापन/विदेशी विनिमयदर र विदेशी मुद्रा नीतिमा प्रभाव, भुक्तानी प्रणाली विकास, भुक्तानी उपकरण, भुक्तानी प्रणाली पूर्वाधार, इलेक्ट्रोनिक भुक्तानी प्रणाली, ई-बैंकिङ/डिजिटल बैंकिङ, ब्याजदर, निक्षेप, कर्जा, पुँजी बजारको विकास, पुँजी बजारका साधन र पूर्वाधारजस्ता विषयमा प्राप्त हुने व्यावहारिक ज्ञानले कार्यसम्पादनमा चुस्तता एवं निर्पूणताको विकास गर्ने र वर्तमान तथा भविष्यमा बैंकिङ क्षेत्रमा देखिने जोखिम व्यवस्थापनसहित बैंकिङ क्षेत्रको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रारम्भिक चरणमा स्नातकोत्तर तहमा लागू हुने पाठ्यक्रम बिस्तारै तल्लो तहबाटैै लागू हुने गरी थप पाठ्यक्रम निर्माण गर्ने लक्ष्य राखिएको छ । पाठ्यक्रम निर्माणका लागि ख्यातिप्राप्त विषय विज्ञ रहेको एक कार्यदल गठन गरी सरोकारवालासँग व्यापक छलफल तथा पराशर्म गर्ने कार्य तत्काल आरम्भ गरिने सम्झौतापत्रमा उल्लेख छ ।

सो अवसरमा सिबिफिन अध्यक्ष गोल्यानले सम्झौता प्रभावकारी कार्यान्वयनमा जोड दिँदै बंैकिङ बजारको आवश्यकताको परिपूर्तिमात्र नभई स्तरीय शिक्षाका लागि ठूलो संख्यामा विदेशिने युवा जनशक्ति र धनराशि रोक्दै शिक्षाका लागि विदेशी विद्यार्थी आकर्षित गर्न र नेपाललाई शैक्षिक पर्यटनका रूपमा विकास गर्न पनि सम्झौताको कार्यान्वयनले महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा कोइरालाले निर्माण हुने पाठ्यक्रम पूर्वाञ्चल विश्वविद्यालयमा लागू गरिने र पाठ्यक्रमले बैंकिङ क्षेत्रका व्यावहारिक विषयमा ज्ञान दिनुका साथै विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादनमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सम्झौतामा हस्ताक्षर कार्यक्रममा सिबिफिन सचिव कुशप्रसाद मल्ली, कार्यकारी सदस्यद्वय उपेन्द्रप्रसाद पौडेल, महेन्द्रकुमार गोयल, पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार नीलमणि पोखरेल, डिन प्राडा बिजुकुमार थपलिया, निर्देशक (एमफिल÷पिएचडी कार्यक्रम) डा. उत्तमकुमार रेग्मी, विषय समितिका अध्यक्ष प्राडा सदय हमाललगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?