बिहे नगरी ‘बिए पास’ गर्ने किशोरीलाई एक लाख

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 9 mins

सिन्धुली । ‘बिहेवारी बीस वर्ष पारि’ । बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा कानुनले बाल विवाह भन्छ । बाल विवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाले करोडौँ खर्च गरिरहेका छन् । यसले केही मात्रामा न्यूनीकरण भए पनि पूर्णरूपमा हुन सकेको छैन । यसको पूर्ण कार्यान्वयनको लागि मरिण गाउँपालिका सिन्धुलीले विवाहअघि स्नातक तह उत्र्तीण गर्ने छात्रालाई प्रोत्साहनस्वरूप एक लाख प्रदान गर्न थालेको छ । मरिणका स्थानीय विद्यार्थी, जसले स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छन्, उनीहरू यसका लाभग्राही हुन् ।

विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै स्थानीय विद्यालयलाई ‘प्रमोट’ गर्ने उद्देश्य यस कार्यक्रमको रहेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ बताउनुहुन्छ । उहाँका अनुसार गाउँपालिकाकोे शिक्षा सुधार कार्यक्रमअन्तर्गत सुरु गरिएको यस कार्यक्रमले बाल विवाह न्यूनीकरण हुनेछ । स्थानीय विद्यालयमा विद्यार्थीको संख्या बढाउन र किशोरी, महिलालाई उच्च शिक्षा पढ्नको लागि प्रोत्साहन हुनेछ । सोही कार्यक्रमअन्र्तगत शनिबार गाउँपालिकाले स्नातक तह उत्र्तीण गरेका पाँचजना किशोरीलाई जनही एक/एक लाख रुपैयाँ हस्तान्तरण ग¥यो । मरिण-७ का चारजना र वडा नम्बर ६ की एकजना किशोरीलाई प्रदान गरेको हो ।

अघिल्लो वर्ष स्नातक तह उत्र्तीण गरेर शनिबार मरिण सरकारबाट एक लाख बुझ्नुभएकी मरिण गाउँपालिका-७ जयमंगलकी सुकृता घिसिङले प्रोत्साहनस्वरूप पाएको रकमले खुसी बनाएको बताउनुभयो । उक्त रकमले स्नातकोत्तर पढ्न सहयोग पुग्ने बताउने उहाँ आर्थिक अभावका कारण थप पढाइ खर्च जुटाउन रोजगारीको खोजीमा हुनुहुन्थ्यो ।

‘गाउँपालिकाको यस कार्यक्रमले बीचैमा पढाइ छाड्नेलाई फेरि पढ्न हौसला मिलेको छ । मैले परिवारको सहयोगमा ब्याचलर पास गरँे, अब आफैँ कमाएर पढ्नुपर्ने, ‘जब’ जागिर पाएकै छैन,’ उहाँले भन्नुभयो ।

मरिण महेश्वरताकी मनमाया कँडेल अहिले त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तेस्रो सेमिष्टार पढ्दै हुनुहुन्छ । २०७६ मा स्नातक तहको पढाइ मरिण बुहुमुखी क्याम्पसबाट पूरा गर्नुभएकी उहाँ र बहिनी चित्रकुमारी कँडेलले एकैसाथ गाउँपालिकाबाट एक/एक लाख प्रोत्साहन रकम पाउनुभयो ।

चित्रकुमारीका अनुसार दाइ मित्रबहादुर कँडेलले १२ कक्षा मात्रै पास गर्नुभएको छ । भाइले १० कक्षा उत्र्तीण गरेर पढाइ छाडेका छन् । बहिनी चित्रकुमारीको साथमै रहनुभएकी मनमायाले भन्नुभयो, ‘दाजुभाइले बीचैमा पढाइ छाडेपनि हामीले परिवारको सहयोगमा पढिरहेका छौँ । गाउँपालिकाले पैसास्वरूप दिएको यो सम्मानले थप पढ्न हौसला बढेको छ,’ पैसाभन्दा पनि गाउँपालिकाभित्रै रोजगार पाएको भए पढेर बेरोजार बस्नुपर्ने थिएन । यो उमेरमा आएर पनि बुबाआमासँग खर्च माग्नुपर्ने बाध्यता हट्ने थियो ।’

२०७८ मा स्नातक उत्र्तीण गर्नुभएकी मरिण-६ छापकी विमला तामाङ अहिले त्रिभुवन विश्व विद्यालयमा मास्टर पहिलो सेमिस्टारमा पढ्दै हुनुहुन्छ । उहाँलाई मरिणको प्रोत्साहन कार्यक्रम राम्रो लाग्यो । जागिर नपाएर लोकसेवा पढ्न थालेको बताउने उहाँले गाउँपालिकाबाट पाएको रकम पढाइमै खर्च गर्ने सुनाउनुभयो । एक लाख प्राप्त गर्नुभएकी रजनी मैनाली शैक्षिक सुधारका लागि मरिण सरकारले थप नयाँ र दिगो हुने खालको कार्यक्रम ल्याउन आवश्यकता देख्नुहुन्छ । संघीय सांसद लेखनाथ दाहालका अनुसार मरिण सरकारले ल्याएको सामाजिक उद्देश्यसहितको यो कार्यक्रम मौलिक र सिर्जनशील छ । यस्तो कार्यक्रमले सामाजिक जागरण ल्याउने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो कार्यक्रमको ठूलो महत्व छ, अरू पालिकाले पनि सिक्छन् ।’

यता, अभिभावक रमेश नेपालीको तर्क भने फरक छ । स्नातक तह उत्र्तीण गरेका विद्यार्थीलाई एक लाख दिनुभन्दा पहिला घरायसी तथा पारिवारिक समस्याका कारण बीचैमा पढाइ छोड्न बाध्य भएका/हुने विद्यार्थीका लागि सहयोग पुग्ने कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको धारणा छ । उहाँ भन्नुहुन्छ, ‘सन्तानलाई पढ्ने र अभिभावकलाई पढाउने रहर हुँदाहुँदै पनि आर्थिक समस्याले बीचैमा पढाइ छोडाएर कमाउन सहर पठाउनु पर्ने हाम्रो बाध्यता छ, सहरमा पनि रोजगारी नपाएपछि विदेश पठाउनु परेको छ । स्थानीय सरकारले गाउँमा कमाउँदै गाउँकै स्कुलमा पढ्ने वातावरण बनाउनुपर्छ ।’

मरिणका विद्यालय तथा क्याम्पसको तथ्यांकलाई आधार मान्दा जतिजति कक्षा बढ्दै जान्छ, विभिन्न समस्याका कारण उतिउति पढाई छोड्ने विद्यार्थीको संख्या बढ्दो छ । मरिण बहुमुखी क्याम्पस प्रमुख खेमहरी बराल भन्नुहुन्छ, ‘स्नातक तहको पहिलो बर्ष ६० जना विद्यार्थी भर्ना भएका थिए, चौथो वर्षको जाँच ११ जनाले मात्रै दिएका छन् ।’

गाउँमै रोजगारी भएका विद्यार्थी स्थानीय क्याम्पसमा पढ्ने र बेरोजगार भएकाहरू बीचैमा पढाइ छोडेर कमाउन सहर जाने गरेका उहाँको भनाइ छ । उहाँका अनुसार स्थानीय क्याम्पसबाट स्नातक तह उत्र्तीण गर्ने विद्यार्थिलाई प्रोत्साहन स्वरुप एक लाख दिने मरिण सरकारको कार्यक्रम स्वागत योग्य छ । यस कार्यक्रमको प्रभावले अन्यत्र विद्यालय, क्याम्पसमा पढिरहेका विद्यार्थी आफ्नै गाउँ, ठाउँको विद्यालय पढ्न फर्कनेछन् । अविवाहितलाई मात्रै प्रदान गरिने भएकाले बाल विवाह न्यूनीकरण हुनेछ । बीचैमा पढाइ छाडेकाले पढ्न सुरु गर्नेछन् । ‘यो सबैथोक हो तर पूर्ण होइन । पूर्ण बनाउन यस कार्यक्रमको प्रचारप्रसारसहित अभिभावक शिक्षा दिन पनि आवश्यक छ । अन्य कार्यक्रमलाई पनि सँगैसँगै लैजानुपर्छ,’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?