भ्रष्टाचारका थपिँदा शृंखला

हिमालय टाइम्स
Read Time = 7 mins

नेपालका हरेक क्षेत्र भ्रष्टाचारको जालोले लपेटिएका छन् । कुन क्षेत्रमा चाहिँ भ्रष्टाचार भएको छैन भनेर हेर्ने हो भने यस्तो ठाउँ पाउन सकिने अवस्था छैन । पञ्चायत कालमा राजाको डर थियो र प्रणाली पनि निरंकुश खालको थियो । त्यसकारण भ्रष्टाचार हुँदैनथ्यो भन्दाभन्दै पनि अनेक प्रकारका भ्रष्टाचारजन्य काण्डहरू त्यसबेला पनि भएका थिए । प्रजातन्त्र आएपछि भने यस्ता काण्डको निर्वाध रूपमा सुरुवात भयो र हालसम्म पनि यसले निरन्तरता पाइरहेको छ । यस्ता गतिविधि गर्नेहरू निरुत्साहित हुँदै जानुपर्नेमा झन्झन् ठूला भ्रष्टाचारजन्य प्रकरणहरू एकपछि अर्को गर्दै आइरहेका छन् ।

यसको कारण कानुन कमजोर भएर हुनसक्छ । तर, कानुन कमजोर भएरमात्र यसो भएको पक्कै पनि होइन । भएका कानुनको कार्यान्वयनमा कडाइ हुन नसकेका कारण भ्रष्टाचारजन्य अपराधले प्रश्रय पाइरहेका छन् । २०४६ सालको प्रजातन्त्रको पुनर्बाहालीपछिका यस्ता प्रकरणहरू हेर्दै जाने हो भने त्यसको निकै लामो फेहरिस्त बन्न सक्छ । हाल चर्चामा छ नक्कली भुटानी शरणार्थी प्रकरण । यसको निष्पक्ष रूपमा छानविन गर्ने हो भने विभिन्न पार्टीका माथिल्ला स्तरका नेताहरू समेत लपेटिने निश्चित छ । यस्ता केही नेताहरू पक्राउ परेका छन् र तिनको बयान लिने काम भइरहेको छ । नेपालको परम्परा हेर्दा त्यसरी विभिन्न आरोप लागेर पक्राउ परेकाहरू कोहीले पनि लामो समयसम्म जेल सजाय भोग्नुपरेको छैन ।

नेपाली कांग्रेसका केही नेताहरूले केही वर्ष जेल सजाय पाएकोलाई भने अपवाद मान्नुपर्छ । तिनले गरेको भ्रष्टाचारभन्दा धेरै ठूलठूला भ्रष्टाचारका संलग्न भएर पनि ठूला नेताहरू जोगिँदै आएका छन् । यसबाट कि सजाय गर्नुपर्ने निकायहरू ती नेताहरूलाई दण्डित गर्न डराउँछन् भन्ने बुझ्नुपर्ने हुन्छ कि तिनलाई ती निकायका नजरसम्म पु¥याउँनै सकिएको छैन भनेर बुझ्नुपर्छ । यसैगरी हालैमात्र अर्को प्रकरण सतहमा आएको छ आराध्यदेव पशुपतिनाथको जलहरी प्रकरणका रूपमा । तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथको दर्शन तथा पूजाआराधनाका लागि पशुपतिनाथ परिसरमा पुग्नुभएको थियो । त्यसबेला पशुपतिनाथको गर्भगृहको शिवलिंगमा चाँदीको जलहरी रहेकोमा उहाँले उक्त चाँदीको जलहरीको सट्टा सुनको जलहरी लगाउन ९६ किलो सुन उपलब्ध गराउने आश्वासन दिनुभएको थियो ।

उक्त समयमा राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्थ्यो । त्यसैले प्रधानमन्त्रीको आश्वासनमा राष्ट्रपति भण्डारीको समेत मत मिल्यो । त्यसकारण पशुपतिनाथको गर्भगृहमा रहेको शिवलिंगमा सुनको जलहरी राखिने भयो । पशुपतिनाथ नेपालका राष्ट्रदेवता मानिन्छन् । आराध्यदेव पशुपतिनाथ नेपालका मात्र नभएर विश्वकै समस्त हिन्दुहरूका महान् देवता हुन् । त्यसैले पशुपतिनाथ मन्दिर तथा पाशुपत क्षेत्र नै विश्वसम्पदा सूचीमा सूचीकृत भएको छ । त्यसकारणले यहाँ भएका कुनै पनि वस्तु र विषयमा हेरफेर र त्यसमा केही थपघट गर्नु हुँदैन भन्ने प्रश्न त्यस बेला पनि उठेको थियो । यो विषय सर्वोच्च अदालतसम्म पनि पुगेको थियो र अदालतले पशुपतिनाथको गर्भगृहमा रहेको शिवलिंगमा सुनको जलहरी राख्ने कुरालाई निषेध गरेको थियो ।

तर, हाल यस विषयमा पुनः प्रश्न उठेको छ र तत्कालीन केपी शर्मा ओलीको सरकारले त्यहाँको चाँदीको जलहारीका सट्टा सुनको जलहरी राखेको तर त्यो जलहरी सुनको नभएर पित्तलको हो भन्ने आक्षेप लगाइएको छ । नेपालमा भ्रष्टाचारका अनेक रूप हुने गरेका छन् भन्ने कुरा त नक्कली भुटानी शरणार्थी प्रकरणबाट पनि देखिएकै छ । भ्रष्टाचारका अनेकौं छिद्रहरू हुने गर्छन् र भ्रष्टाचार गर्ने नियत राख्नेहरूले यस्ता छिद्र खोजिरहेका हुन्छन् । आफ्ना देशका नागरिकलाई अनागरिक बनाएर शरणार्थीका रूपमा विदेश पठाउन चाहनेहरूबाट कुनै प्रकारको मर्मतसंभार र जीर्णोद्धार गर्दा वा कुनै सामग्री क्रयविक्रयको कार्य गर्दा त्यहाँ नक्कली काम नहोला भन्न सकिँदैन ।

त्यसैगरी कानुनी सिद्धान्त आरोप लगाउनेले नै प्रमाण पुर्‍याउनुपर्छ भन्ने छ । त्यस कारण जलहरी सन्दर्भमा पहिलो कुरो त उक्त कार्य भएको हो कि होइन भन्ने हो । अर्को भएको भए त्यसमा प्रयोग भएको धातु के कस्तो छ त्यसको जाँच गर्न सकिन्छ । जाँच गर्दा नक्कली काम भएको रहेछ भने त्यसमा संलग्न मानिसहरू को को थिए भनेर खोज्ने, तिनलाई कानुनको दायरामा ल्याउने र कानुनले तोकेको दण्डसजाय गर्ने गर्न सकिन्छ । यसको छानविन गर्न असम्भव कार्य होइन । त्यसकारण सदनमा प्रसंग उठाएर चर्चा गरिसकेपछि अब निप्टाराका लागि त्यसको यथाशीघ्र छानविन हुनु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?