आममाफी पाएपछि रेशम चौधरी जेलमुक्त

चौधरी भन्नुहुन्छ- टीकापुर घटना पुनः छानबिन हुनुपर्छ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहनुभएका रेशमलाल चौधरी आज जेलमुक्त हुनुभएको छ। गणतन्त्र दिवसको अवसरमा चौधरी आज कारागारबाट रिहा हुनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले आम माफी दिएसँगै उहाँ ६ वर्षपछि रिहा हुनुभएको हो ।

उहाँको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमलगायत नेता कार्यकर्ता, शुभेच्छुक बाजागाजा र फुलमालासहित कारागार पुगेका थिए ।

रिहा भएलगत्तै संक्षिप्त कुराकानी गर्दै रेशम चौधरीले टीकापुर घटनाको विस्तृत छानबिन हुनुपर्ने बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीले रिहा भए लगत्तै चौधरीलाई सिधै घर लगेको छ ।

टीकापुर घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका चौधरीसहित विभिन्न मुद्दाका १९ जना बन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार आम माफी दिनुभएको थियो ।

राष्ट्रपतिले थप ४८२ जना कैदी बन्दीको सजाय पनि मिनाहा गर्नुभएको छ । टीकापुर घटनामा भने रेशमलाई मात्रै माफी दिइएको छ ।

थरुहट आन्दोलन चर्किंदा कैलालीमा भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिदिएको थियो । सो घटनामा एक बालकको पनि ज्यान गएको थियो । उच्च अदालतले यसअघि फैसला सुनाउने क्रममा ‘टीकापुर घटना क्रूर, निर्मम र मानवताविरोधी’ भएको ठहर गरेको थियो । घटनामा संलग्न भएको अभियोगमा दुई दर्जनभन्दा बढी व्यक्तिविरुद्ध कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग लगायतका मुद्दा चलाइएको थियो ।

थरुहट आन्दोलन चर्किंदा रेशम चौधरी कैलालीमा एउटा एफएम स्टेसन र रिसोर्ट चलाउनुहुन्थ्यो। टीकापुर काण्डमा नाम मुछिएपछि उहाँ केही समय भूमिगत हुनुभयो । सो घटनामा मुख्य योजनाकार भएको अभियोग खेप्नुभएका चौधरीलाई पछि पक्राउ गरेर पुर्पक्षका लागि कारागारमा राखियो । अघिल्लो संसदीय निर्वाचनमा उहाँ राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बन्न्। सांसद निर्वाचित भएपछि उहाँले कारागारबाटै गएर शपथग्रहण गर्नुभएको थियो ।

गत मंसिरमा भएको निर्वाचनमा उहाँ नवगठित नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया-२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नुभएको थियो । फौजदारी कसुरमा जेल परेको हुनाले चौधरीको उम्मेदवारी बदर भयो । तर, सोही निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिनुभएका उहाँका बुवालाई पार्टीले आफ्नो उम्मेदवारका रूपमा प्रस्तुत गर्यो र उहाँविजयी हुनुभयो । जेलमा हुँदा नै चौधरीले नागरिक उन्मुक्ति पार्टी स्थापना गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?