१५ मुर्रा राँगाबाट एक लाख भैैँसीको नश्ल सुधार हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतले नेपाललाई दिने भनिएका १५ मुर्रा जातका राँगाबाट वार्षिक डेढ लाख वीर्य उत्पादन हुने बताइएको छ । जसबाट कम्तीमा एक लाख भैँसीमा नश्ल सुधार हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले प्राप्त राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन् कार्यालय (पोखरा, नेपालगञ्ज र लहान)मा व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरिने जानकारी दिनुभएको छ ।

सञ्जेलका अनुसार भारतले दिने राँगा नेपाल सरकारलाई वस्तुगत सहायतास्वरूप निःशुल्क उपलब्ध गराइएको हो । यसअघि सन् २०१८ मा नेपालमा भएको नेपाल-भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकको निर्णयानुसार नेपाल सरकारबाट विभिन्न समयमा औपचारिक र अनौपचारिक तवरबाट भारत सरकारसँग ३० वटा उच्च प्रजनन्का मुर्रा जातका राँगा उपलब्ध गराउन मन्त्रालयले आग्रह गर्दै आएको थियो ।

नेपालस्थित भारतीय राजदूतावासले विज्ञप्ति जारी गर्दै नेपाललाई १५ वटा उच्च प्रजनन्नका मुर्रा जातका राँगा उपलब्ध गराइने जनाएको थियो । तर, अहिले सामाजिक सञ्जालमा भने भारतले दिने भनिएका राँगाहरूका विषयमा प्रधानमन्त्री दाहालप्रति नकारात्मक सन्देश प्रवाह भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?