पोखरेलको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘चिबेनकटो’

Read Time = 30 mins

✍️ प्रा.डा.खेम दाहाल

लेखनाथ पोखरेल (२००४, खोटाङ, खार्पा, नेपाल) निबन्धकारका रूपमा आउँदा ‘चिबेनकटो’ (२०७८) लिएर आएका स्रष्टाका ‘फकलीको गाउँ’ (नियात्रा-सङ्ग्रह) र ‘मार्बल-हाउसकी शालिनी’ (कथासङ्ग्रह) अगाडि प्रकाशनमा आएका कृति रहेका छन् ।

पोखरेलको ‘चिबे-नकटो’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहको पुस्तकमा उनान्तीस निबन्धहरू उपलब्ध छन् । यसभित्रको एउटा निबन्ध ‘चिबे-नकटो’ पनि हो, जसमा आफ्नो बिर्सन नसकेको बाल्यकाल, गाउँको अक्षराम्भको पाठशाला, साथीहरू, गुरु र स्कुलले दिन सकेको पर्यावरणभित्र एक मित्र ‘घोडे’ बैकुण्ठ भेटिएका छन् । आफ्नो पुरानो साथी धेरै समयको अन्तरालको भेटका कारणले एक रमाइलो अनुभूति दोहोरिएको छ । फर्किएर हेर्दाको स्वाद पाइन्छ ।

क्रम मिलाएर राखिएका ससाना हास्यव्यङ्ग्य निबन्ध शीर्षकका रचनामा एक निबन्ध ‘हस् हाकिमसाब’ हो । यस शीर्षकमा जागिरे जीवन परिचयमा आउँछः अन्ठाउन्न वर्षमा अवकास पाएपछि लेखेको उक्त निबन्धले जागिरमा कष्ट भएको निवेदन जाहेर गर्छ । स्वतन्त्र भएर पछिल्लो चरणमा लिएको आनन्द र पाएको पारिश्रमिकबारे सान्दर्भिक टिप्पणी गरिएको छ । कतै पनि गुलामी नगरी नहुने नेपाली भूमि र नेपाल सरकारको जागिरमा जे भेटिन्छ, त्यही विषय प्रकाशनमा आएको छ ।

निबन्धकारको सेवाक्षेत्र निर्माणका काम सडक, भवन र पुलहरूको जीवनसँग आबद्ध भएका कारणले काठमाडौं, सङ्खुवासभा, गुल्मी, लमजुङ मनाङसम्म तन्किएको अनुभूति प्रकटमा आएको छ ! जीवन भव्यसेवाबाट गुज्रिएको सक्रिय पाठशाला रहेको बुझिन्छ ।

अर्को प्रसङ्ग सक्रिय जीवनलाई अर्कै कार्यपीठिका दिने क्रमले समात्यो ! लेखन प्रकाशनसित आबद्ध विषयमा पछिल्लो चरणले स्थान लिएपछि यी सिर्जनाहरूतिर आकृष्ट भएका भन्ने कुरामा एक उपशाखा पलाएको छ । सन्दर्भमा खत्री-पुत्र एक उपमा छन्, जसकोे कार्य सरकारी जागिर हो र प्रशस्त सम्मान पाउने नागरिक बनाउन बाले खर्च गरेर छोरो पढाएको इतिहास पूर्वदीप्तिमा उदाएको चरण हो । सबै स्रोत जुटाई एक प्रकारले सन्त बनेर छोरो पढाउने पिता जनकलाई शहरमा छोराले अपमान हुने गरी परिचय गराएको एक क्षण अहिलेको युगलाई चिनाउने एउटा उदाहरण हो ।

आमा-बाबु वृद्धआश्रममा, छोरो अमेरिका वा काठमाडौंको महलमा, बुहारी संसारकै ठूली महामाया भई घरकी स्वामिनी र बाको आँसु घरर झर्ने समयको उपहार खत्रीको छोरो वा हाकिम कर्मचारी एक हो ! यसमा श्यामव्यङ्ग्य पठनमा रमाउने पाठकको कमी छैन । आफ्नो यथार्थ जीवनलाई छोपेर पण्डा बनेका खत्री लेखकलाई धन्यवादले हिर्काउने निबन्ध समसामयिक छ ।

निबन्धकारको सेवाक्षेत्र निर्माणका काम सडक, भवन र पुलहरूको जीवनसँग आबद्ध भएका कारणले काठमाडौं, सङ्खुवासभा, गुल्मी, लमजुङ मनाङसम्म तन्किएको अनुभूति प्रकटमा आएको छ ! जीवन भव्यसेवाबाट गुज्रिएको सक्रिय पाठशाला रहेको बुझिन्छ ।

कर्मचारी तन्त्र यसरी प्रकटमा आउँछ ! हाकिम रिझाउनुपर्ने, ठूला हाकिम जिल्लामा पुग्दा सेवाको तयारी डराएर गर्नुपर्ने, राम्रो सेवा नपुगे सरूवाको लौरो खानुपर्ने र दुर्गम जिल्लाको विकट उकालो हिँड्नुपर्ने सत्यतथ्यको यस्तो चित्र कोरिन्छ ! मानौं लैनसिंह बाङ्गदेल यहाँ प्रादुर्भाव भएका छन् । कतै सदरमुकाम छ, केन्द्रबाट मन्त्री र उनका आसेपासे दुई दर्जन जति मान्यजन आउने सूचना र खानपिन मिलाउने उर्दीमा परेको जिल्ला हाकिममा आएको आपत्विपत् आर्थिक भूकम्पले यहाँ एक झड्का दिने कुरा यस निबन्धको मार्मिक विषय हो ।
एक मेरो नाता पर्ने कर्मचारीले पनि नेता, मन्त्री र उनका पिछलग्गुको समूहलाई खुवाउँदा र सुताउँदा लागेको खर्चले डाँडो काटेपछि भ्रष्टाचार नगरी नहुने र कालोधन आर्जन गर्नै पर्ने दुःखको कथा सुनाएको घटना यहाँ पनि मिल्न आउँछ । खत्री महाशयले लेखेको पुस्तकबारेमा गरिएको टिप्पणीले देखाउँछ-खत्री लेखक सत्य कुरा लुकाएर झुटो कुरामात्र लेख्छन् ।

‘प्रेत लेखक’ (Ghost Writer) अर्को निबन्धमा एक पूर्वस्मृतिको चेतनप्रवाह बहेको पाइन्छ । यसमा पूर्वस्मृतिबाटै एकपात्र बिर्खेको उपस्थिति जनाइन्छ जसको बाल्यकाल सम्झनामा आयो भने टिठाउनु पर्छ । अहिले शहरमा भेट हुँदा सहरका रक्सी खान पाइने ठाउँहरू, भट्टीहरू सबै चाहार्ने र स्थानीय एला-लोकल रक्सीमा सन्तोष गर्ने बिर्खेजस्ता पात्रले निबन्धकारलाई झुक्याउने त्रास छ ! भट्टीमा लगेर बिल तिराउन सक्छ, अर्काले लेखेका किताबको भाषा मिलाएर उच्च लेखक भएको अभिनय गर्न सक्छ ।

यो काठमडौंमा पसेपछि ठाउँठाउँमा धेरै भट्टी छन्, ती भट्टीमा महँगोदेखि सस्तो रुपैयाँले धोको पुग्ने गरी मात्न पाइने ठाउँहरू निबन्धकारले विचरण गरेको विषयले गतिलो छाप छोडेको छ । चलचित्र र अभिनेताहरू चिनाइएका अनुच्छेदहरू छन् । यहाँ उल्लेख भएका भट्टी र तिनमा पसेर नमातेसम्म यसरी भट्टीका नाम लेख्न सकिँदैन ! प्रजाति जस्तो बुँदाबाट पठन गर्न सकिने पाठ एउटा यहाँ प्रस्तुत भएको पाइन्छ ।

प्रजाति, मुहूर्त र पर्यावरणका सूत्रले कारणकार्य भेट्नेछन् । अब आफैं लेखक भएकै क्षणमा प्राप्त अल्पज्ञान र त्यससँग जोडिएको इन्टरनेट सेवाका दोषमाथि अनुबन्ध प्रयोगकर्ताको मत-मतान्तरबारेमा ‘भाउतो आइलाग्यो’ निबन्ध प्रस्तुत हुन्छ । संस्मरणप्रधान निबन्ध लेखनको एक ढाँचामा प्रवेश गर्दा जति प्रगति र अनुभूति भएको छ, त्यो लामो सूची यसैमा पठन-मनन् गरिएको छ । शहरतिर भेट हुने, ससानो छँदा चप्पल लगाउन नसक्ने साथीहरूलाई स्मरणमा लिँदा देखिने परिवर्तन सबै एक-एक, गन्ती-गन्ती, पाई-पाई गनेर तिर्दाको अवस्था अनुभव गरिन्छ । सयम चेतका दृष्टिले निबन्ध राम्रा छन् ।

‘कुराउनीको कोसेली’ जस्तो निबन्ध निबन्धकारको आत्मपरक निबन्ध लेखनका तहमा उदाउँछ ! बालकमा गाई-भैँसी-बाख्राको दूध खाएर हुर्किएको त्यो बालक जवान र प्रौढ हुँदासम्म पनि दूध-घ्यू र कुराउनीको स्वादबाट जिब्रो रसाउनेसम्मको स्थिति तानिन्छ । यहाँ बाख्रो पनि धाईआमा हो, त्यसका पाठाको भाग चोर्दै-खाँदै गर्ने मानव रूपी पाठो हो, हर्पेको घ्यू पनि त्यसरी नै चोरेर सकिदिने एक भित्री चोरले ढुकुटीको धान चोर्ने मुसाको काम गरेको सम्झना ताजै छ ।

पहिले परिवार नियोजन नभएका समयमा यसरी जन्मिने बालकहरू एक पछि अर्को जन्मिने क्रम वर्ष वर्षमा हुँदा आमाको दूधमा तृप्त नभएको बालक सधैं नै खाँ-खाँ गर्छ ! उसको अतृप्ति जीवनभरि भइरहन्छ । बालक कालमा घ्यू, दही, दूध घरभित्रको पात्रले चोरेर खाने चलनका सामान्य विषय, मौकामा कुटाइ पनि पाउने रीतिहरू, पछि देखिएका कोलोस्ट्रोलजस्ता रोग र बहिनीले कोसेली भनी ल्याएको कुराउनी यहाँ उपस्थित प्रसङ्ग छन् ।

घरमा भएको भान्सामा आफैं खानाका परिकार बनाउन सकिने युगमा पुगिन्छ-समोसा, रसभरी, दहीबारादेखि कति कुरा बनाउने युगको प्रतीकात्मक अर्थ स्मरणको पाटो बनिन्छ । सञ्चारमा आएको प्रगति, नेट र टिभीका कार्यक्रम, त्यस्तै पाकशास्त्रको ज्ञानका स्रोतबारेको निबन्धले नवीन युगमा प्रवेश गराएको छ । भारतीय सिनेमातिर अलिकति विषय मोडिँदा भान्से बन्ने रहर देखाइन्छ । यो निबन्धले युग चिनाउँछ ! इन्टरनेट र सिरियलको धर्मसम्म पुर्‍याउँछ । हामी बाँचेको युगमा विकास भएका प्रविधि र जीवनशैली यहाँ चर्चित विषय हुन् ।
‘झिँगटी घरको रेडियो’ एउटा सुन्दर निबन्ध यस सङ्ग्रहमा आएको छ, भव्य रूपले सजिएको पोखरेलको झिँगटी घरबाट खार्पा गाउँ पनि देखिने, लामिडाँडा, दूधकोशीदेखि पारिका गाउँ, ऐँसेलुखर्क प्रभृति स्थानहरूको एक दृश्य अवलोकन गर्न मिल्ने जुन डाँडो छ, त्यही डाँडामा एक भव्य महल पोखरेलहरूको, रानो मान्छेको घर हो भनी चिन्न सकिने घर काइँलाबाको घर हो ।

त्यस घरको भित्तामा सजाइएका देवीदेवताका फोटाले धर्मका प्रतीक गणेश, शिव, पार्वती, विष्णु, लक्ष्मी, सरस्वती, दुर्गाजस्ता देवदेवीमाथि आस्था जगाउने गरी सजाइएका फोटाहरूमाथि बालककालको निरीक्षणले पछि पनि सम्झनामा पछ्याइरहन्छ । यस प्रसङ्गमा देवीदेवताका वाहन सम्बन्धी टिपोटले कुतुहतला भरिन्छ ! शिवजीसँग पैसा नभएर बुढो गोरू किनेछन् भन्ने अक्कल लगाइन्छ । ठूलो भुँडीवाला गणेशले त्यति सानो मुसामा सवार भएर गरेको यात्रा पनि टिप्पणीमा पर्दा हास्य-व्यङ्ग्यले धर्ममाथि प्रहार गर्छ ।

कलकत्ता नामी ठाउँ हो, भारतको कलकत्ता पुगेर आएपछि मानिस परिवर्तनमा जान्छ र रूपरङ्ग फेर्छ । त्यहाँ गाउँमा कलकत्ता गएर आएका मानिसको सम्झना गरिँदै छ, किनकि कलकत्ता जानेहरूले सुकिला लुगा लगाउन अरूलाई सिकाउने गर्छन् । यो निबन्धका कलकत्ते साइलो भने अलिक बालक नै छ । त्यसमा पनि वीरेन्द्रकेशरी पोखरेल (चिफ-इन्जिनियर) को नाम जोडिनु भनेको कति सान्दर्भिक छ भने धन र बुद्धिमा यिनलाई माथिल्लो दर्जाका मानिस भनेर देशले चिनेको छ ।

गाउँमा रेडियो आयो ! धुरीमा लगेर त्यसको एन्टिना-एरियल जोडेर चल्ने-बोल्ने बनाइयो ! त्यसको स्वर सुन्न र रमाइलो गर्न भएभरका मानिस भेला हुन थाले । डि.पुण्यप्रसाद ढुङ्गाना मुखियाका घरमा भएको पानासोनिक ठूलो रेडियो पनि नाग्दह, तेह्रथुममा त्यसरी नै मान पाउने वस्तु थियो । सुरुमा रेडियो सिलोन सुन्न सकिन्थ्यो भनी संस्मरण गरिन्छ ! हिन्दी नबुझे पनि सुन्नेमा केटाकेटी धेरै रूचि राखेर हाजिरी जनाउँथे भनिन्छ ।

रेडियो छोराहरूको कमाइ भएका कारणले जतनले नै सुचारु जीवन दिन भुराबाट जोगाउन कठिन थियो, त्यसैले काइँला बाले नभ्याएपछि बुङ्चे सार्कीले एउटा जागिर पाएको हास्य रमरम र समयचित्रण मिसिएको निबन्धमा रोचकताको कमी छैन । यसमा आफ्नो बालयकाल र प्रारम्भको पढाइ जोडिन्छ । शिक्षकको काम गर्ने काका पात्र थपिएका छन्, निजले काठमाडौंका बारेमा सुनाउने किस्सा-टुक्राभित्र किचकन्या र ख्याकका विषय रोचक छन् । जग बनाउन सफल, केटोकटीलाई आधारभूत रूपमा गणित र अंग्रेजी पढाउने गुरुजीको योगदानले आधारभूत ज्ञानआर्जन भएको संस्मरण भएकाले हास्य-व्यङ्ग्यभन्दा संस्मरणप्रधान निबन्ध लेखनको उपधार आकर्षित भएको निबन्ध ‘झिँगटीघरको रेडियो’ पनि हो ।

‘झाँक्रीबा’ निबन्धमा आफ्नै गाउँ, आफ्नै ठाउँ पहिलेको संस्मरणबाट आउँछ, काले–गोरे विश्वकर्माहरू पोखरले बाहुनका हातहतियार चोख्याउने वा आरनमा पिल्स्याएर उजिल्याएर चोरबा बनाउने, छुवाछूतका तहमा अछुतमा दरिएकाहरूलाई सम्मान गर्दै सीमान्तकृतको एक उदाहरण प्रस्तुत भएको छ । यी श्रमिकहरू अछूत थिए, देवताका मूर्ति भाँचिए भने राँग लगाएर आगामा तताउँदै जोड्थे, आफू अछूत हुने तर राँगले भगवान्का मूर्ति जोडेर सद्दे बनाउनेहरूलाई मूल विषयमा स्थान दिने रचनाले हाम्रो संस्कारका दोष इंगित गरेको छ ।

रावाँखोलामा करवीर मसानमा किंवदन्ती, त्यसले पाहुनालाई भोजन गराउने, खोलामा बाढी आएमा डिहीमा वास बसिने जनश्रुति छन् । यी किंवदन्ती भए पनि रावाँखोला भने पक्कापक्की सही यथार्थ हो ! यसको सम्मान गर्दै लैनसिंह बाङ्गदेलले ‘मुलुक-बाहिर’ (२००४) उपन्यासमा रावाँखोले रनेको उपस्थिति देखाएका छन् । रावाँखोले रने उपन्यासको आधा भागसम्म प्रमुख पात्र रहन्छ । मसानसम्बन्धी सोच र धारणा, बोक्सी विद्यासम्बन्धी गतिलो आख्यान कमल रिजालले ‘दृष्टिभ्रम’ (२०७४) शीर्षक दिएर लेखेको पाइएको छ ।

नेपाली निबन्ध विधालाई शम्भुप्रसाद ढुङ्ग्याल, बालकृष्ण समपछि उचाइ दिने कार्य निबन्धकार लक्ष्मीप्रसाद देवकोटाले सम्पन्न गरेको इतिहासमा यसका प्रमुख उपधारहरूमा नियात्राको धार, हास्य-व्यङ्ग्यको धार, उच्च बौद्धिकताको धार, प्रगतिवादी लेखनको धार, संस्मरण शैलीको धार, कवितामय शैलीको धारमा विभाजन गरिदिने चिन्तकहरू छन् ।

माइकल डे मोतेँ एक चिन्तक र निबन्धकारले यस विधाको एउटा नवीन सूत्रपात गरेका थिए । नेपाली निबन्धमा देवकोटाको कवितामय शैलीको धारमा वानीरा गिरी, कृष्णप्रसाद ज्ञवाली अग्रणी मानिएका छन् । त्यस्तै संस्मरणात्मक लेखनको उपधारमा पारसमणि प्रधान, श्यामप्रसाद शर्माप्रभृति निबन्धकारको अग्रता रहेको छ । नियात्रामा लैनसिंह बाङ्गदेल यादव खरले, तारानाथ शर्मा, प्रगतिचेतमा हृदयचन्द्रसिंह, कृष्णचन्द्र सिंह प्रधान, उच्च बौद्धिक धारमा बालकृष्ण सम, कुमारबहादुर जोशी, बालकृष्ण पोखरेल, माधव पोखरेल, हास्य-व्यङ्ग्यका उपधारमा केशवराज पिँडाली, भैरव अर्याल, श्याम गोतमामे, रामकुमार पाँडेको अग्रता रहन्छ ।

यस ‘चिबे-नकटो’मा भने संस्मरणात्मकता बढी पाइन्छ र हास्य-व्यङ्ग्य थोरथोरै खटन गरेर पस्किने भान्सेको तहको देखिएको छ । विगत जति नै दुःखबाट गुज्रिएको भए तापनि अहिले फर्किएर हेरेमा एक प्रकारको स्वाद वा एक प्रकारको रमरमको मिठासभित्र जीवनमा केही गरिएछ, केही उकालो हिँडिएछ, केही तेर्सो वा सरल मार्ग पनि भेटिएछ, कठिन यात्रासमेत अवलम्बन गरिएछ भन्ने प्रकारका मीठा परिकारमा हात र जिभ्रो रमाएका लाग्ने क्षण आउँछन् ! यहाँ त्यसको कमी छैन ।

यी रचनालाई भूमिकाकार कवि खेमनाथ दाहालले जागिर सन्दर्भ, बाल्यकाल, सामाजिकको सन्दर्भ र विविध विषयमा वर्गीकरण गर्नु हुन्छ । निबन्धकारले कति उखान र टुक्काबाट सुशोभित निबन्धहरू सिर्जना गरेका छन् । यसबाट पठनको रुचिमा मलजल पुगेको, जागिरे भएर ताप्लेजुङ पुग्दाको अनुभूति र महिला-महिलाका बीचको वाकयुद्ध सुन्दा-बुझ्दा यी कुरा राम्रा कुरा होइनन्, तर त्यो संस्कृति-विकृति सासू र बुहारीमा झाँगिएको ‘बाफरे बाफ’मा पढिन्छ । यी सासू र बुहारी मिलेको समाज छैन कि झैँ भएर आउँछ, सासूलाई तह लगाउने बरालपुत्रीहरू अहिले आउँदा आउँदै छन्, समय भनेको चक्र हो ! गोरुगाडाको चक्र फन्फनी घुमिरहन्छ । कसैको भाषा कसैको गाली हुन्छ ! कसैले अश्लील ठान्ने शब्दको सूची ‘बाफरे बाफ’ भेटिन्छ ।

सम्झनामा आउने पोखरेलका निबन्धका चल्ती पात्रहरू धेरै छन् : भोलादाइ, भाइचा, चटके, माइला नानी (आफैँ हुनुहुन्छ), माइलाका दाजु, भाउजू (माइत जाने कुरामा हठवाला), मामा (मुनामदन लिएर सहरबाट आउने पात्र), ठूले दर्जी, उसको भाइ साने, भिरघरे काइँली (काइँलीको अपहरण राम्रो चोलो लगाएकी सुन्दरी ! सो चोलो सिउने दर्जीले दोष पाएर झण्डै खुकुरी खाएको), ठूले र सन्नदकपुर डाँडो, दार्जिलिङ, ठूलेको असमयको निधन, आफ्नै सगोत्री औषधि बनाउन जान्ने बुढा मानिस, मनमा कुण्ठा भएर बसेको अतृप्ति मनोमा आउने बताउने पुरेत, सगोत्रीले देख्नुभएको दोषी सपना, आफ्नी प्यारी आमा, बिँडी तान्ने दाजु, ठुल्दिदी मिठु, हाकुचा र उसको पसल, बङ्गाली सुगन्धित खैनीका सोखिनहरू, साथीका बा (खैनी मोलेर दिने), अमिलो मोही दिएर बच्चालाई खैनीको असरबाट मुक्त गर्ने आमा (साथीको आमा), प्रशिक्षक कायस्थ, सुर्ती (सुरती) को इतिहास, मोहन भट्टराई (मेला हेर्ने साथी), फारबिसगञ्जको मेला र रेल यात्रा, मारवाडी समाजमा पाठपूजा गर्ने पण्डित, वैशाखनन्दनको क्षेपक (वैशाखमा सन्तुष्ट गधा), गधा र खच्चडका समानता, एउटा मानिसका दुईवटा गुण, आधुनिक खानपान र मारवाडी पण्डित, रम्भाफल (केरा-कोला), मट्याङ्ग्री कान्छी, मगर्नी साइँली, बेल्सीसाडी, कन्याम र ‘बाजे’ भन्ने सम्बोधन गर्ने महिला (इलामे नेप्ची), चुप्राबेँसीको पुल र ठेकेदार बद्री सिग्देल, रानीमत्ताको चेकपोष्टको मेजर (सैनिक कर्मचारी), सुर्खेतबाट बाइकमा धम्बोझी (नेपालगञ्ज) पुग्ने भगुवाहरू (माओवादीको चर्को अवस्था, बेतोडमा दगुर्ने, मोटरबाइक हिम्मतले आफैँले हाँकेको सेतो ल्पेटको गाडी र माओवादी प्रतिबन्धित क्षेत्र ! चियापसले (सानी बिहे गर्ने बुढो मानिस), ‘वृद्धायः तरुणी विषम्’का सिकार भएका पात्रहरूको लर्को लगाएर संस्मरणात्मक निबन्धका पाठ सिर्जना भएका छन् ।

पोखरेलका हास्य-व्यङ्ग्य निबन्धमा रोचकता पनि छ, दोहोरिने सीमा पनि छ । साधना पनि छ, अनुभवका प्रमाण पनि छन्, त्यसैले विषयलाई पुनरावृत्त नगरेका खण्डमा उचाइ बढ्ने कुरामा आशावादी बन्न सकिन्छ । पोखरेलको निबन्धमा समयचेत प्रबल छ ।

पोखरेलका निबन्धमा आउने पात्र र प्रसङ्गहरूमा साथी मित्रमण्डली नै प्रमुख स्रोत हुन्छन् । त्यस्तै मित्रमण्डलीमा चिलिमचट्ट पनि एक छन् जसमा एक मांसहारीभित्र र उनकी वैष्णव पत्नीको क्रम जोडिन्छ ! अरूहरूमा जनकपुरतिरको जागिर सरुवा, माओवादीले गर्ने चर्को सजाय वा आफ्नै आँगनमा आफन्तकै अगाडि काटेर-कुटेर मार्नेहरूको पराक्रम, जिल्लाका बहालवाला नेता र गफाडीहरू, सुबिदार साहेब र कुखुराको झोल, (मासुमा मरिहत्ते हाल्ने रक्सीप्रेमी), भैँसीको हमला र जोगिने संयोग, भैँसीको सिङ बजाउने जोगीदेखि भाग्ने भैँसी, झोली तुम्बा नभएको आफू, मोमोः खाने पात्रलाई सगोत्रीको ज्यान लिने ठानेर मानिसलाई लखेट्ने भैँसी (हास्य-व्यङ्ग्य), काठमाडौं र भैँसी (राँगा) को मासु पोको पारेका डल्लाको सन्दर्भमा निकै पृष्ठ खर्च भएका छन् ।

पोखरेलको एक प्रसंगले रोशीखोलाको लुटपाटलाई सम्झनामा राखेको छ । ‘खैरिनी घाट’ उपन्यासमा शङ्कर कोइराला खैरिनी घाटको गाँठ हुनेमाथि हमला हुने र लुटेर सम्पत्ति लाने घटनामाथि आख्यान सिर्जना गरेझैँ यहाँ स्रोतकै रूपमा लुटेराको एक सूत्र उठान गरिएको छ ।
उहाँ सरकारी कर्मचारी : आफ्नै कारिन्दाको छोरो हाकिम भए पनि मोटो रकम नपाएसम्म बाको मान्यजनको काम नगरी अल्लार्ने एक उदाहरण नेपालका अड्डाको प्रतिनिधि घटना हो । मासु र रक्सी आएर मोटाएका कर्मचारी-माथि गरिने व्याजस्तुतिमा गम्भीर अर्थ छ ।

यहाँ अरू धेरै पात्र छन् ! ओख्रेका ठुल्दाइ, सागसिस्नु खाएर हुर्किएकाले त्यही सागसिस्नु बिर्सिने प्रवृत्ति आलोचित छ । लेखाइमा सत्यसाँचो गान्धीवादी हुनुपर्छ । नभएको चिप्लो घस्ने होइन, यसलाई एक सूत्र मानेर अगाडि सरिरहने लेखक स्थापित हुन्छन् । अहिले समय गज्जबको छ ! बिहे भएको मानव र अविवाहित मानव चिन्नका लागि अनुहारको रूपरङ्ग पठन गर्नुपर्छ ।

होटेल, खानपिन, जागिर, अड्डा, व्यवहार, जीवनचर्यासँग जोडिने स्मरणहरू, गृहिणी-गृहलक्ष्मी र उनको दायित्व, गृहिणी भएपछि उनले कमाउने भुक्तभोग, कति ठाउँमा रसिक ठाउँमा उभिने रसिक कामवासनाप्रेमी पात्रका मञ्चहरू, विगतलाई स्मरणमा लिएर स्वाद लिने, आपूm पुगेको उमेरलाई चिन्ने, ननिकाल्ने दाँत निकालेको उमेर, रामदेव र उनको अनुलोम-विलोम, प्राणायाम, कमलपोखरीका सुब्बा साहेब, राजदरबारका जर्साबहरू सबैसँग कुराकानी र भेटाघाटा छ ।

यस निबन्धको सङ्ग्रहमा ग्वान्जाउको आकासी विचरण छ, मलेसिया, क्वालालम्पुर उल्लेख हुन्छन् । स्थानमा काठमाडौंका नाम दोहोरिन्छ, रावाखोला र खार्पासँगको नाता प्रगाढ छ । युग अहिले मोबाइल हेरेर मौसकको अनुमान लगाउने क्षणमा हिँड्दै छ । पाखुरामा लागेको घाउ चिकित्सकले निको पार्लान् तर मनमा लागेको चोट निको हुँदैन । कुलतमा फसेर आपूmभित्रको घाउ निको हुँदैन नि भन्ने एउटा मन्त्र पनि सुन्न सकिन्छ ।

सिनेमा र मन्दिरको रुचि, घुँडा टेकेको नेपालको अर्थनीति, कोरानाले फेस-माक्स लगाउने बनाउने भयावह स्थितिमा बाँच्ने हाम्रो अवस्थामाथि चिन्तन यस निबन्ध सङ्ग्रहको प्रमुख घार हो । कोरोनाको कहरका समयमा आकास पनि शान्त भयो, आफन्त चिन्ने मौका पनि मिल्दै आयो ! निबन्धको भाषा शैली सलल बगेका हुनाले साधनाले प्रशस्त उन्नति गरेको पाइयो ।

यसमा भट्टी, रक्सी र जागिरे जीवनका अनुभूति दोहोरिएर आएका छन् ! यो उक्त कृतिको सीमा हो । उखानमा धनी हाम्रो भाषा ! यसमा कुनै शङ्का नराख्ने पोखरेल र यो लेखाइमा खाने मुखले खान खोज्ने, मरेको बिरालो काखी च्याप्ने, उसै त बुहारी, भट्टमास खाएकी, सराद्धेको सालो, तिहारको ज्वाइँ, अगुल्टाले हानेको कुकुर बिजुली चम्कदाँ तर्सन्छ, भालुलाई बन्दुक पड्काउनेजस्ता रोचकता बढाउने उखान–टुक्का माहिला नानीले खेलाउन जानेको स्पष्टता घामझैँ छर्लङ्ग छ ।

अन्ततः पोखरेलका हास्य-व्यङ्ग्य निबन्धमा रोचकता पनि छ, दोहोरिने सीमा पनि छ । साधना पनि छ, अनुभवका प्रमाण पनि छन्, त्यसैले विषयलाई पुनरावृत्त नगरेका खण्डमा उचाइ बढ्ने कुरामा आशावादी बन्न सकिन्छ । पोखरेलको निबन्धमा समयचेत प्रबल छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?