अझ जिम्मेवार भएर अगाडि बढ्न आवश्यक छ: मुख्यमन्त्री शाह

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीयताप्रति जनताको भरोसा जगाउन प्रदेश र स्थानीय सरकारले अझ बढी जिम्मेवार भएर काम गर्न आवश्यक रहेको बताउनु भएको छ ।

धनगढी उपमहानगरपालिकाले कार्यालय परिसरमा निर्माण गरेको सेवाग्राही प्रतिक्षालयको मङ्गलबार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहले यस्तो बताउनु भएको हो । शाहले सङ्घीयता प्रति जनताको विश्वास बढाउन आवश्यक रहेको औंल्याउनु भयो ।

हरेक विकासको कार्यमा प्रदेश र स्थानीय सरकारसँगै अगाडि बढ्ने वातावरण निर्माण गर्ने कार्य प्रदेश सरकारले गरिरहेको मुख्यमन्त्रीको भनाइ थियो । “त्यसैले, हामी प्रदेश सरकार र स्थानीय सरकारको भूमिकाप्रति पनि सचेत छौं,” उहाँले भन्नु भयो ।

जनताको पहिलो पहुँचको सरकार स्थानीय तह रहेकाले स्थानीय तह जिम्मेवार हुनैपर्ने मुख्यमन्त्री शाहले जोड दिनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारी सहयात्री रहेको उल्लेख गर्नुहुँदै पारदर्शी, नैतिकवान, जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी सबै जना मिलेर जनतालाई विश्वास दिलाउन सक्छौं भने सङ्घीयता बलियो हुन्छ र यसप्रति जनताको भरोसा बढ्छ ।”

प्रविधिमैत्री सेवाग्राही प्रतिक्षालय निर्माण गरेर धनगढी उपमहानगरपालिकाले प्रशंसनीय कार्य गरेको भन्दै मुख्यमन्त्रीले खुशी व्यक्त गर्नुभयो । उहाँले धनगढी उपमहानगरपालिकाले सूचनाको हक सहज रुपमा प्रदान गरिरहेको बताउनु भयो ।

धनगढी उपमहानगरपालिकाका लागि सेवाग्राही सर्वोपरि रहेकाले उनीहरुको सम्मानका लागि सेवाग्राही प्रतिक्षालय निर्माण गरेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनु भयो । यसको निर्माणले सेवाग्राहीलाई आत्मसम्मान मिल्ने उहाँको भनाइ थियो । “हिजोको दिन सेवाग्राहीहरु रुखमुनि बस्दथे ।,” उहाँले भन्नुभयो, “तर उनीहरु नै सर्वोपरि रहेकाले सम्मानका लागि धनगढी उपमहानगरपालिकाले आफ्नै खर्चमा सेवाग्राही प्रतिक्षालय स्थापना गरेको हो ।”

विभिन्न सुविधासहितको सेवाग्राही प्रतिक्षा निर्माणले अब सेवाग्राहीहरुलाई सहज हुनेछ । विभिन्न समस्या लिएर आएका सेवाग्राहीहरुलाई अब प्रमुख, उपप्रमुख वा प्रमुख प्रशासकीय अधिकृतले त्यहि गएर भेट्ने र उनीहरुको गुनासो सम्बोधन गर्ने प्रमुख हमालले बताउनु भयो । “अब गुनासो लिएर आएकाहरु प्रमुख, उपपमुखको कार्यकक्षमै पुग्नु पर्दैन ।,” उहाँले भन्नुभयो, “सेवाग्राही बसेको प्रतिक्षालयमा स्वयम् प्रमुख, उपप्रमुख वा प्रमुख प्रशासकीय अधिकृत उनीहरु सामू पुग्नेछौं ।”

नगरप्रमुख हमालले धनगढी उपमहानगरपालिकालाई अरुले हेर्न आउने गरी बनाउन खोजिरहेको भन्दै त्यसमा प्रदेश सरकारको साथ र सहयोग चाहेको बताउनु भयो । उहाँले साझेदारीमा काम गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो ।

धनगढी उपमहानगरपालिकाले २८ लाख ९१ हजार रुपियाँ लगानीमा सेवाग्राही प्रतिक्षालय निर्माण गरेको हो । जुन घर भूकम्प प्रतिरोधी र अपाङ्गतामैत्री रहेको उपप्रमुख कन्दकला कुमारी रानाले जानकारी दिनुभयो । प्रतिक्षालय निर्माणले सेवाग्रहीलाई सहज हुने उहाँको भनाइ थियो । सो प्रतिक्षालयमा फ्रि वाईफाई, टेलिभिजन, चिसो खानेपानी लगायतको व्यवस्था गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?