सभामुख घिमिरे र ट्युनिसियाका राजदूत बिलेलबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सभामुख देवराज घिमिरे र नेपालका लागि ट्युनिसियाका गैरआवासीय राजदूत हयात तालबी ईपी बिलेलबीच भेटवार्ता भएकाे छ ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा शुक्रबार भएको भेटमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय व्यापार र पर्यटन प्रवर्द्धनलगायतका विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयाे ।

भेटमा सभामुख घिमिरेले दूरीका हिसाबले ट्युनिसिया धेरै टाढा भए पनि दुई देशबीच कुटनीतिक र सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनुभएकाे छ ।

‘नेपाल र ट्युनिसिया दुवै संयुक्त राष्ट्र संघ, असंलग्न राष्ट्र तथा जी-७७ का सदस्य छौं,’ सभामुख घिमिरेले भन्नुभयाे, ‘विद्यमान द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न तहमा भ्रमणको आदान प्रदान आवश्यक छ ।’ उहाँले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र ट्युनिसिया दुवै मुलुकले साझा मामिलाहरुमा सहकार्य गर्दै आइरहेको बताउनुभयाे । सभामुख घिमिरेले नेपाल र ट्युनिसियाबीच पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा वृहत्तर सहकार्य गर्न सकिने बताउनुभयाे ।

नेपालमा गएको वर्ष भएको तीनवटै तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरु आएको स्मरण गर्दै सभामुख घिमिरेले नेपालको संसदले ट्युनिसियालाई हेर्ने गरी संसदीय मैत्री समूह गठनको तयारी गरेको जानकारी दिनुभयाे ।

ट्युनिसियाका गैरआवासीय राजदूत बिलेलले नेपाल जस्तै आफ्नो मुलुक पनि लामो समय गृहयुद्धबाट बाहिर निस्किएको बताउँदै आगामी दिनमा गहिरो सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गर्नुभयाे ।

ट्युनिसियाका सभामुख पनि नेपालका लागि संसदीयमैत्री समूह गठनको तयारीमा रहेको बताउँदै उहाँले संसदीय कुटनीति विस्तारमा जोड दिनुभयाे । उहाँले सभामुख घिमिरेलाई आफ्नो मुलुक भ्रमणका लागि निमन्त्रणा समेत  गर्नुभयाे ।

आफ्नो पूर्वाधार निर्माण, इञ्जिनियरिङ, जहाज निर्माण, कृषि, स्वास्थ्यलगायतका विषयमा ट्युनिसियाले विशेष उपलब्धी हासिल गरेको बताउँदै राजदूत बिलेलले नेपालले पनि त्यसको फाइदा दिन सक्ने बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?