७४ वर्षकाे उमेरमा पनि पाएनन् नेपाली नागरिकता

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 5 mins

धादिङ । धादिङको धुनीबेसी-७ स्थित चिसापानीका ७४ वर्षीय मोटे तामाङ नेपाली नागरिकताको पखाईमा रहनु भएको छ । नागरिकताकै पखाईमा बाटो कुरेर बसेका तामाङ ७४ वर्ष भैसक्दा समेत अझै नेपाली नागरिकता पाउन सक्नुभएकाे छैन् । सानो उमेर मै आमा बुबा गुमाएपछि तामाङले नेपाली नागरिकता नै पाउनबाट बञ्चित हुनुभएको हो ।

नागरिकता कै कारण अहिले तामाङले नेपाल सरकारले दिने बृद्धा भत्ता समेत पाउनुभएकाे छैन् । तामाङ भन्नु हुन्छ “उमेर बढ्दै गएको छ । पिण्ड खाने बेला भैसक्यो नागरिकता छैन् । म एक्लै छु मेरो कोही छैन् । बुढेसकालमा साहारा दिने कोही छैन् । म त घरको न घाटको भए । म अनागरिक भए । साहारा कसको लिने । म डाँडामाथिको घाम हुँ कहिले संसारबाट विदा हुन्छु थाहा छैन् । जतिञ्जेल यस धर्तीमा रहन्छु त्यतिन्जे सम्म नेपाली नागरिकताको आशामा नै रहन्छु"- गहभरी आँसु पार्दै तामाङले गुनासो व्यक्त गर्नुभयाे ।

सतिले सरापेको देशमा गरिबको पीडा सुन्न को आउँछन्, निर्वाचनको समयमा भएको भए भोटको लागि नेताहरु आउने थियो होला अहिले मेरो पीडा कसले सुन्छ उहाँको भनाई छ ।”बुढेसकाल लागेपछि तामाङले विगत ८ वर्षदेखि आँखा समेत देख्न छाेड्नुभयाे । घरमा को आयो के गर्‍यो त्यो समेत थाहा पाउन सक्नुहुन्न । त्यति मात्र होइन एक गाँस खान छिमेकी समक्ष माग्न जान समेत नसक्ने तामाङले कमाउने कुरा त सपना मात्र हो । कागलाई बेल पाक्यो हर्ष र विश्मात भने झै, तामाङलाई पनि त्यस्तै भएको छ । तामाङको यस्तो समस्या देखेर धुनीबेसी नगरपालिकाले केही खाद्यान्न सहयोग गर्दै आएको छ ।

बाल्यकालमै आमा बुबा गुमाएका तामाङले विवाह समेत गर्नुभएकाे छैन । परिवारमा कोही छैन् आफ्नो दिदी बहिनी समेत वितिसकेको तामाङले बताउनुभयो । अब मेरो अन्तिम चाहाना भनेको नै नेपाली नागरिकता बनाउने र देशको नागरिक बन्ने हो अनि आफुलाई बाँच्ने आधार मिल्ने उहाँको भनाई छ । जिल्ला प्रशासन कार्यालय धादिङले विगतका वर्षहरुमा गाउँ गाउँमा पुगि नेपाली नागरिकता बनाउने अभियान नै सञ्चालन गरेको थियो । तर यो अभियान दीर्घकालिन रुपमा हुन सकेन् । जसले गर्दा बृद्धा, अपाङ्गता भएका व्यक्तिहरुले नागरिकता पाउनबाट बञ्चित भएका छन् । प्रशासन देखावटी रुपमा मात्र यो अभियान सुरु गरेको स्थानीयहरुको भनाई छ ।

तामाङको घरमा न प्रशासन कार्यालय पुग्यो न त अन्य निकायहरु नै । अरूकै जग्गामा अस्थायी टहरा र अरूकै भरमा बाँचेका तामाङसँग समस्या माथिको समस्या नै छन् । यस विषयमा धुनीबेसी नगरपालिकाका नगरप्रमुख समक्ष बुज्दा तामाङको नेपाली नागरिकता बनाउने प्रयास भैरहेकाे जानकारी दिनुभयाे । अब केही समयमै नागरिकता बन्न सक्ने उहाँले बताउनुभयो । तर उहाँले नागरिकता कहिले बन्छ भन्ने मिति नै तोकेर चाँहि भन्न सक्नु भएन । “उहाँको नागरिकता पहिले बनेको छ कि छैन त्यो छलफल भइरहेको छ,’ उहाँले भन्नुभयाे, ‘उहाँले कहिले एउटा नाम भन्नुहुन्छ कहिले अर्को । नाम यही हो भन्ने पक्का नहुँदा यसभन्दा पहिले नागरिकता बनेको हेर्न पनि गाह्रो भएको छ ।'

प्रशासनमा उहाँको नागरिकता बनाइदिने एक चरण सल्लाह भइसकेको नगरप्रमुखकाे भनाइ छ । त्यस्तै, वृद्धवृद्धा तथा अपांगता भएकाहरूका लागि गाउँमै पुगेर नागरिकता दिन सकिने धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?