हरेक मानसिक समस्या पागलपन होइन, यसको समाधान छ : वासु आचार्य, मनोविश्लेषक

कृष्ण भुसाल
Read Time = 30 mins

पछिल्लो समय मानसिक समस्याका बिरामीको संख्या बढ्दै गइरहेको छ । आफ्ना समस्याबारे खुलेर भन्न हिच्किचाउने, परिवारमा खुलेर कुरा गर्न डराउने, मानसिक रोगहरू को सही उपचारभन्दा अन्य कारणबाट ठीक गर्न खोज्ने प्रवृतिका कारण समस्या झनै जटिल हुँदै गइरहेका छन् । कूल जनसंख्याको २० देखि २५ प्रतिशत मानसिक समस्याका रोगी छन् । जटिल मानसिक समस्या भएका चाहिँ सात-आठ प्रतिशत छन् । तर, यो तथ्यांक दिनदिनै बढ्दैछ । अहिले हरेक चारजनामध्ये एकजना मानसिक समस्याको शिकार छन् भने सन् २०३० पछि हरेक तीनमा एउटालाई मानसिक समस्या हुने तथ्यांक छ । व्यक्तिको आफ्नै जीवन र वरिपरिको समाजमा घटिरहने विभिन्न खाले घटनाले व्यक्तिको सोचाइ र जीवनमा फरक पार्दछ भन्नुहुन्छ मनोविश्लेषक वासु आचार्य । मानसिक समस्याहरू समाधान हुन्छन्, हरेक मानसिक समस्या पागलपन होइन भन्नुहुने मनोविश्लेषक वासु आचार्यसँग हिमालय टाइम्सका लागि कृष्ष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-

मनोपरामर्श भनेको के हो ?
मनोवैज्ञानिक पद्धतिबाट कुनै पनि समस्या बोकेर आएका सेवाग्राहीलाई उनीहरूकै भावना बुझेर त्यो विषयले उसलाई कस्तो ‘ट्रिगर’ दिन्छ त्यो बुझेर उसलाई उसैको विवेक अनुसार, ढंग अनुसार, चेतना अनुसारको चेतना गराइदिने सूत्र, सिद्धान्त र आइडियालाई मनोपरामर्श भनिन्छ । मनो भन्ने वित्तिकै मानसिक भयो । संज्ञान र व्यवहारको तालमेल मिलाइदिने वैज्ञानिक टेकनिक हो ।

मनोविमर्श भनेको ?
व्यक्तिको आफ्नै जीवन र वरिपरिको समाजमा घटिरहने विभिन्न खाले घटनाले व्यक्तिको सोचाइ र जीवनमा फरक पार्दछ । व्यक्तिको व्यवहार समाजले चाहेनुरूपको हुँदा ऊ समाजमा राम्ररी बस्न सक्छ । तर, समाजले चाहे अनुसारको व्यवहार नभएमा ऊ समाजमा राम्ररी घुलमिल हुन नसकी मनोसामाजिक समस्या देखिन सक्छ । जसले व्यक्तिको मन र समाजबीच तालमेल नमिलेर शारीरिक, मानसिक, भावनात्मक रूपमा व्यक्तिलाई प्रभाव पार्दछ । यसले गर्दा विभिन्न मनोसामाजिक समस्या जस्तै तनाव हुनु, निन्द्रा नलाग्नु, रिस उठ्ने जस्ता विभिन्न समस्या देखिन्छ । यस्तो बेलामा व्यक्तिको मनोसामाजिक समस्याको समाधान गर्न व्यक्ति र मनोविमर्शकर्ताबीच हुने योजनाबद्ध कुराकानी र छलफल नै मनोविमर्श हो । सामाजिक परिवेशमा विभिन्न कारणबाट उत्पन्न हुने असहज परिस्थिति जस्तै विपद्को प्रभाव, मानव सृजित घटना, सशस्त्र द्वन्द्व, लैंगिक हिंसा, बेरोजगारी, आर्थिक समस्या वा अन्य कुनै कारणले असुरक्षित महसुस गरेका व्यक्तिहरूको मनोसामाजिक समस्या समाधान गर्न मनोविमर्श सेवा प्रभावकारी हुन्छ ।

मानसिक समस्याहरू समाधान हुन्छन् ।
हरेक मानसिक समस्या पागलपन होइन ।
औषधि, मानसिक सहायता, पारिवारिक प्रेम, वातावरण र रोगीको बुद्धि, यी पाँच चिजहरूको तालमेल मिल्यो भने मानसिक रोग निवारण गर्न सकिन्छ ।
केही अध्ययनले अधिकांश आत्महत्याको प्रमुख कारणमा जटिल किसिमको मानसिक तनाव र अत्याधिक मद्यपानलाई औल्याएका छन् ।
आत्महत्या विश्वव्यापी घटना भए तापनि ७८ प्रतिशत आत्महत्याका घटना विकासोन्मुख देशहरूमा हुने गरेको तथ्यांक छ ।

यहाँकोमा कस्ता खालका समस्या लिएर बढी मानिस आउँछन् ?
हामीकहाँ धेरैभन्दा धेरै आउने भनेको ‘एन्जिआइटी’को समस्या भएका हुन्छन् । एन्जिआइटी भनेको डराउने, आतित्ने, घवराहड हुने, सक्दिन कि जस्तो हुनेजस्ता समस्या हुन्छन् । यसमा मल्टिपल विषयमा चिन्ता हुने गर्दछ । यसलाई नेपालीमा दुषचिन्त विकार पनि भनिन्छ । पीर रोग पनि भनिन्छ । यो धेरै प्रकारका हुन्छन् । अर्को भनेको ओसिडी भन्ने हुन्छ । बारम्बार गरिरहने समस्या हुन्छ । डर बढी लाग्ने हुन्छ । दुई नम्बरमा डिप्रेशनको समस्या लिएर आउछन् । डिप्रेशनका पनि विभिन्न प्रकार हुन्छन् ।

मनोविमर्श किन आवश्यक छ ?
हामीहरू विभिन्न खाले समस्याबाट निरन्तर गुर्जिरहेका हुन्छौ । प्राकृतिक प्रकोप जस्तै भुइँचालो, बाढी, पहिरो, कोभिड १९ जस्तो महामारीले सृजित समस्या, सशस्त्र द्वन्द्वजस्ता परिस्थितिसँग हामीले भोगेका छौं । विभिन्न सामाजिक प्रथा, लैंगिक भेदभाव, जातीय भेदभाव र यी भेदभावका कारणले निम्त्याइएको हिंसा, भनेजस्तो रोजगार तथा अवसर नपाउनुले पनि व्यक्तिको मनोसामाजिक अवस्थामा गहिरो प्रभाव परेको छ । त्यस्तै गरेर हाम्रो सामाजिक संरचनाको कारण, महिलामाथि हुने भेदभाव, बलात्कार र अन्य यौनजन्य घटना, आफ्नै श्रीमान् र परिवारबाट हुने हिंसाका कारण महिलाहरूले विभिन्न मनोसामाजिक समस्या भोग्नु परिरहेको छ । महिलाले परिवारमा आफूलाई परेको मनोसामाजिक समस्या भन्ने अवस्था छैन । भने पनि परिवारको सदस्यले त्यसको गोपनीयता राख्छ र समाधान गर्न सहयोग गर्छ भनेर महिलाहरूले विश्वास गरिहाल्न सक्दैनन् । यदि कसैले यसको बारेमा थाहा पाए त्यस्तो व्यक्तिलाई फरक नजरबाट हेरिन्छ । महिलाहरूलाई मनोसामाजिक समस्या भएमा कहाँ गएर उपचार लिने भन्ने बारे जानकारी नहुन सक्छ । त्यसैले मनोविमर्श आवश्यक छ ।

मानसिक अवस्था बिग्रँदै गएको भनेर कसरी थाहा पाउने ?
आफ्नो मानसिक अवस्था बिग्रँदै गएको छ भनेर थाहा पाउनका लागि उसको मुड अथवा मनोवस्थाका बारेमा बुझ्नुपर्ने हुन्छ । ऊ विस्तारै कम खुशी हुँदै जान्छ, उसमा रमाइलो गुणहरू हराउँदै जान्छ । उत्सुकताहरू विस्तारै कम हुँदै जान्छ, पहिले रमाइलो लाग्ने ठाउँमा अब रमाइलो लाग्न छोड्छ, पहिले जान मन लाग्ने ठाउँमा जान मन नलाग्ने हुन्छ, पहिले भेटेका साथीहरूसँग भेट्न, घुम्न, रमाउन मन नलाग्ने हुन्छ, खान मन नलाग्ने, निन्द्रा कम लाग्ने, चिटचिहाट हुने, आफू एकदमै नराम्रो लाग्न थाल्ने, मेरा लागि कोही छैन, मेरा लागि साथ दिने सहयोग गर्ने कोही छैन, म पनि कसैका लागि केही गर्नै सक्दिनँ भन्ने कुरा मनमा खेल्न थाल्यो भने यो मानसिक पीडित हुन थाल्यो, यसलाई केही न केही समस्या आउन थाले, अब उसका लागि साथ-सहयोग र सपोर्टको आवश्यकता छ भनेर बुझ्न जरुरी हुन्छ । होइन भने उसलाई हेर्दाहेर्दै डिप्रेसन भएर आत्महत्याको विचारसमेत आउन सक्छ ।

आत्महत्या एक अपराध नै हो । आत्महत्या कसैको रहर र इच्छाका कारणले हुँदैन ।
हाम्रो समाजमा मानसिक समस्यालाई पारिवारिक र सामाजिक प्रतिष्ठासँग जोडिन्छ र सकेसम्म घरभित्रै लुकाएर राख्ने गरिन्छ ।
खुशी हुने सबैभन्दा महत्वपूर्ण सूत्र भनेको विचार र व्यवहारको तालमेल हो ।
बालबालिकासम्बन्धी जति पनि समस्या हुन्छन् ती सबैको एउटैमात्र कारण हुन् : अभिभावक ।

एक्लोपनले पनि धेरै नकारात्मक सोच आउने हो ?
एक्लोपन हुँदा सोचले प्रभाव पार्ने हुन्छ  । धेरै नकारात्मक सोचहरू आउँछ  । असफलतामात्रै देख्छ । कहिले गाली खाइरहेको हुन्छ, कहिले भनेको व्यक्तिले फोन उठाएको हुँदैन  । आफूले भनेको जस्तो भइराखेको हुँदैन  । परिस्थिति फेस गर्न र अरूको अगाडि जान सक्दैन  । कसैको अगाडि जान नसकेपछि एक्लोपनमा पर्छ  । त्यतिबेला नकारात्मक सोच हाबी हुन्छ  । दिक्क लाग्ने, नमिठो लाग्ने, हतोत्साही हुने, एकदमै चिन्तित हुने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिन्छन्  । चिरचिडाहट हुने, पछुतो मान्ने, विचलित हुने, उदास हुने, ईष्र्या, जलन हुने, रुने, खान छोड्ने, दुब्लाउने, विक्षिप्त भएर अन्तिममा भाग्नेलगायत लक्षण देखिन्छन्  ।

एक्लोपनको उपचार के हुन सक्छ ?
एक्लोपनका कारण पहिचान गर्ने, एनालाइसिस गर्ने, रमाइलोकेन्द्रित हुने, रिल्याक्स हुने । एक्लोपनको सिकारमा परेको छ भने चिकित्सकसँग सम्पर्क राख्ने  । एक्लोपन हटाउने औषधिको प्रयोग गर्ने  । परिवारले राम्रो व्यवहार गर्ने  । उसले चाहेका, भनेका कुरा पूरा गर्ने, हरेक कुरा स्वीकार गर्ने र हरेक कुरामा आश्वस्त पार्ने  । एक्लोपनको महसुस गरेका व्यक्ति छन् भने आफ्नो परिवारलाई भन्ने  । परिवारले बुझ्दैनन् भने साथीलाई भन्ने, मनोविद्लाई भन्ने, सपोर्टमा जाने  । एक्लोपनको सिकारमा रहेकालाई सपोर्ट गर्ने, जनचेतना फैलाउने  ।

आत्महत्याका कारण के हुन सक्छ ?
केही अध्ययनले अधिकांश आत्महत्याको प्रमुख कारणमा जटिल किसिमको मानसिक तनाव र अत्याधिक मद्यपानलाई औल्याएका छन् । महिला तथा बालबालिका सेवा निर्देशनालयले मानसिक समस्या, झगडा, आर्थिक, प्रेम वा अध्ययनमा असफलतालाई नै आत्महत्याका प्रमुख कारण भनेको छ । त्यस्तै आत्महत्याको कोसिस गर्ने तथा आत्महत्या गर्ने ९५ प्रतिशत मानिस कुनै न कुनै मानसिक समस्याबाट पीडित भएका हुन्छन् । १५ देखि २० प्रतिशत जटिल किसिमको डिप्रेसन पीडितले आत्महत्याको प्रयास गर्छन्, मानिसले डिप्रेसनका साथै चिन्ता, व्यक्तित्व विकार तथा मानसिक समस्याको कारणले पनि आत्महत्या गर्छन् । आत्महत्याको सोच बनाएका ९५ प्रतिशत व्यक्तिले योजनबद्ध रूपमा आत्महत्या गर्छन् भने पाँच प्रतिशत व्यक्तिले मात्र आत्महत्या गर्ने धम्की दिइरहेका हुन्छन् । मानिसलाई डिप्रेसनमा पु¥याउने सामाजिक तथा मनोवैज्ञानिक कारणले पनि मानिसले आत्महत्या गर्न सक्छन् । गम्भीर तथा पीडादायक शारीरिक रोग लाग्नु, परीक्षामा असफलता, प्रेममा विछोड तथा असफलता, कष्टदायक वैवाहिक जीवन, अवैध गर्भधारण, व्यापार–व्यवसयामा घाटा तथा क्षति, ऋण, सामाजिक अपमान तथा बहिष्कार आदि आत्महत्याका कारक हुन सक्छन् ।

आत्महत्या गर्ने व्यक्तिले कस्तो संकेत दिन्छ ?
आत्महत्या विश्वव्यापी घटना भए तापनि ७८ प्रतिशत आत्महत्याका घटना विकासोन्मुख देशहरूमा हुने गरेको तथ्यांक छ । उनीहरूको भावनामा विनाकारण उतार चढाव आउने गर्छ । सोचेको जस्तो भएन भने व्यक्ति एकदमै रिसाउने, झर्किने, छिटो हतोत्साहित हुने, अस्वभाविक रूपमा दुःखी तथा खुशी हुनेलगायत लक्षण देखिन्छ । कुनै पनि कुरामा प्रतिक्रिया नदिने, आफ्नो सरसफाइमा वास्ता नगर्ने, कुनै कुरामा पनि रुचि नदेखाउने जस्ता नैराश्यता झल्काउने लक्षण उनीहरूमा देखिने गर्दछन् ।

आफूलाई योग्यहीन महसुस गर्ने, आफूले आफैंलाई हानी नोक्सानी तथा शारीरिक असर पार्ने व्यवहार गर्ने र आफू मर्नेबारे कुरा गरिहन्छन् । त्यही अनुसार मर्नका लागि गोप्य रूपमा तयारीसमेत गरेका हुन्छन् । मेरो कोही छैन, मलाई कसैले हेर्दैनन्, म केको लागि बाँच्ने भन्ने शब्दहरू व्यक्त गरिरहेको पाइन्छ । त्यस्तै गम्भीर तनाव र डिप्रेशनबीच पनि कुनै व्यक्ति अचानक शान्त हुन थाल्यो भने त्यो व्यक्ति कुनै गलत निर्णयमा पुगिसकेको छ भन्ने स्पष्ट हुन्छ ।

आत्महत्या नियन्त्रणमा परिवार र समाजको भूमिका कस्तो हुनुपर्छ ?
हाम्रो समाजमा मानसिक समस्यालाई पारिवारिक र सामाजिक प्रतिष्ठासँग जोडिन्छ र सकेसम्म घरभित्रै लुकाएर राख्ने गरिन्छ । कतिले गरिबीको कारणबाट सही उपचारसम्म पाउन सकेका हुँदैनन् । त्यसैगरी मानसिक रोग पहिचान भएको खण्डमा परिवार वा समाजबाट अपहेलित हुने डरले पनि मानिस आत्महत्या र मानसिक स्वास्थ्यबारे खुलेर बोल्न चाहँदैनन् । आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै समयमा आफूलाई आत्महत्या गर्न मन लागेको कुरा व्यक्त गरेका हुनसक्छ, उनीहरूलाई समस्याबारे खुलेर कुरा गर्ने वातावरण सिर्जना गर्नुपर्छ । जसका कारण उनीहरू आफूलाई हलुका भएको महसुस गर्छन् र आत्महत्याको विचार परित्याग गर्न सक्छन् ।

आत्महत्याको निदान के हुनसक्छ ?
आत्महत्या मुख्यतया डिप्रेशनकै कारण हुने भएकाले धेरै कुरा नसोच्ने, मनमा कुराहरू नखेलाउने, अनावश्यक तर्क या विचार नगर्ने, अरूको देखासिखीबाट टाढै रहने, तनाव नलिने, नकारात्मक व्यक्तिहरूबाट टाढै रहने, योग, व्यायाम तथा मेडिटेसन गर्नुपर्छ । अध्ययन गर्ने, नयाँ-नयाँ कुराहरू खोज्ने बानीको विकास गर्ने, समाजका विभिन्न कार्यमा सहभागी हुनेलगायत क्रियाकलापले आत्महत्या गर्ने विचारमनबाट हट्छ ।

आत्महत्या एक अपराधनै हो । आत्महत्या कसैको रहर र इच्छाका कारणले हुँदैन । सामान्यतः कसैले दिएको मानसिक यातना वा पीडा नै आत्महत्याको कारक तत्व हो । मूलभूतरूपमा हाम्रो समाजका बेथिति, महिला हिंसा, बेरोजगारी जस्ता समस्या हटाएर सामाजिक सुरक्षा बढाउन सकेमा आत्महत्याका घटनामा केही कमी ल्याउन सकिन्छ । मानिसलाई आन्तरिक र बाहृय परिस्थितिले आत्महत्या गर्न बाध्य गराएको हुन्छ । यसैले यो समस्या समाधान गर्नका लागि व्यक्ति स्वयं, परिवार, समाज र सिंगो राष्ट्र नै लाग्नुपर्ने अवस्था आइसकेको छ । मुख्य कुरा कारण खोजेर त्यसको समाधान खोज्नुपर्छ ।

सरकारी तथ्यांक अनुसार हरेक वर्ष आत्महत्या गर्नेहरूको संख्या बढिरहेको छ, यस्तो किन भएको होला ?
मान्छे जति बाँच्न चाहन्छ त्यति नै मर्न पनि चाहन्छ । जति बाँच्ने रहर छ त्यति नै रफतारमा मर्न चाहन्छ । उसलाई अन्य पक्षले त्यति छँुदैन जति भावनाले छुन्छ । भावना झुटो पनि हो तर त्यति नै सत्य पनि हो । भनेको यो अस्थायी हो । तर, यसैले हामीलाई डिल गर्छ ।

यो किन र कसरी आउँछ ?
सबैभन्दा महत्वपूर्ण हो डिप्रेसन । जब म बेकामे, निराशा, अशाहय, शक्तिहिन, इच्छाहीन, उद्देश्यहीन छु भन्ने फिल गर्छ मान्छे यो अवस्थामा पुग्छ । यसमा अल्कोहल पक्ष पनि त्यतिकै छ ।

हामीले भेटेका अधिकांश मान्छेमा निराशा देखिन्छ, किन बढ्दै गएको छ निराशा । मान्छेमा यति धेरै वेखुशी किन पैदा भएको होला ?
केही आधार छन् । मुख्य आधार वायोसाइको सोशियल भन्छ । नेपालीमा दहिक मनोसमाजिक भनिन्छ यसलाई । यसमा वंसानुगत हुन्छ । अर्को मस्तिष्कको न्युरोकेमिकल जसमा सेरोटोनिनको कम या बढी भएर । तेस्रोमा हर्मोनको डिसब्यालेन्स, अर्को न्युट्रिसनले पनि हुन्छ । त्यस्तै यौनिक पक्ष पनि हुन्छ । साइकोलोजिकल, वातवरणीय र सामाजिक फ्याक्टर यसमा मुख्य जिम्मेबार छ । सोच, भावना र व्यवहार विग्रँदा हामी दुःखी हुन्छौ । खुशी हुने तरिका नै बिर्सिसको छ मान्छेले । विशेषतः शहरी क्षेत्रका बासिन्दाले र ग्रामीण क्षेत्रका पनि उच्च र मध्य वर्गीयहरूले ।

खुशी हुने तरिका होला नि उसोभए ?
सबैभन्दा महत्वपूर्ण सूत्र भनेको विचार र व्यवहारको तालमेल हो । यो तालमेल राम्रो भयो भने मान्छे खुशी हुन्छ । आफूभित्र समस्या के छ, के कारण दुःखी छु त्यो पत्ता लगाउनुपर्छ आफैंले । मेरो समस्या के हो त्यो पत्ता लगाएर निराकरण गर्नुपर्छ । क्षमता अनुसार इच्छा राख्नुपर्छ । आफ्नो क्षमता के हो, कति हो त्यो बुझ्नुपर्छ । सोच्ने तरिकालाई पनि परिवर्तन गर्नुपर्छ ।

नेपालमा मानसिक रोगीको संख्या के छ ? अवस्था कस्तो छ ?
कूल जनसंख्याको २० देखि २५ प्रतिशत छन् । जटिल मानसिक समस्या भएका चाहिँ सात-आठ प्रतिशत छन् । ४० देखि ६० लाख छन् । तर, यो तथ्यांक दिनदिनै बढ्दैछ । अहिले हरेक चारजनामध्ये एकजना मानसिक समस्याको शिकार छन् भने सन् २०३० पछि हरेक तीनमा एउटालाई मानसिक समस्या हुनेछ ।

मान्छेमा विचार र व्यवहारको तादम्यता नमिलेको हो ?
दुई प्रकारका मान्छे हुन्छन् समाजमा । एउटा जमात, जो कोही साथी नबोली हिँड्यो भने ‘यो त ठूलो भएछ, पैसा कमाएर सन्कियो’ भनेर सोच्छन् । यी दुःखी हुने क्याटगोरीका मान्छे । अर्को, जो ‘अरू बेला त बोल्थ्यो, आज के समस्या परेछ यसलाई’ भन्ने सोच्छन् । यी हुन् खुशी हुने क्याटगोरी मान्छे ।

त्यसैले यस्ता दुःखी मान्छेहरू यस्तै सोच राखेर, सामान्य कुरालाई पनि जटिल रूप दिन्छन् अनि झनै दुःखी हुँदै जान्छन् । हामीसँग दुईवटा बाटो हुन्छ । दुःखतिर जाने या सुखतिर जाने । अहिले दुःखतिर जानेको संख्या बढेको छ ।

मान्छे वर्तमानमा बाँच्न सक्दैन, ऊ कहिल्यै सन्तुष्ट, खुशी हुन सक्दैन । शरीर एक ठाउँमा हुन्छ, मन अन्तै ।
हाम्रो समाजका बेथिति, हिंसा, बेरोजगारी जस्ता समस्या हटाएर सामाजिक सुरक्षा बढाउन सकेमा आत्महत्याका घटनामा केही कमी ल्याउन सकिन्छ ।
गलत अभ्यास गर्नेहरूका कारण समग्र मनोपरामर्श क्षेत्र नै बदनाम हुँदै गएको छ । एउटा मनोपरामर्शदाता सबैखाले मानसिक समस्याको विशिष्ट ज्ञाता नहुन सक्छ ।
खुशी हुने तरिका नै बिर्सिसको छ मान्छेले ।

स-साना नानीहरूमा पनि सानो सानो कुरालाई ठूलो बनाएर सोच्ने समस्या देखिन्छ नि, यस्तो किन भएको होला ?
बालबालिकासम्बन्धी जति पनि समस्या हुन्छन् ती सबैको एउटैमात्र कारण हुन्-अभिभावक । बालबालिकाले घरको वातावरण कस्तो देख्छ, आमाबुबालाई कस्तो अवस्थामा पाउँछ भन्ने कुराहरूले उसको मानसिकतामा असर पारिरहेको हुन्छ । त्यसैले बालबालिकाको विषयमा चाहिँ अभिभावकले नै आफ्ना क्रियाकलापले छोराछोरीमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने बुझ्न जरुरी छ । तर, अभिभावकमा अरूलाई दोष थुपार्ने परिपाटी बढेको छ । कहिले स्कुललाई, कहिले छोराछोरीलाई । तर, आफू कहाँ चुकिरहेको छु भनेर मूल्यांकन गर्ने बानी छैन । अभिभावकको हर्कतले नै बालबालिकामा यस्तो समस्या बढ्दै गएको हो । फेरि वातावरणले पनि यसलाई असर पु¥याउँछ । बच्चालाई चौघेरामा राखेर हुर्काउनु नै मुख्य समस्या पनि हो ।

हाम्रो मन किन वशमा हुँदैन ?
जो मान्छे वर्तमानमा बाँच्न सक्दैन, ऊ कहिल्यै सन्तुष्ट, खुशी हुन सक्दैन । शरीर एक ठाउँमा हुन्छ, मन अन्तै ।

फेरि पनि म अलिकति प्रष्ट हुन चाहे, मानसिक समस्या के हो ?
मानसिक समस्या पनि एक प्रकारको अपांगता हो । समाजको अवस्था र व्यवहार तथा वातावरणले व्यक्तिविशेषमा यस्तो अपांगताको अनुभूति बढ्छ । तसर्थ सबैले मानसिक स्वास्थ्यबारेको बुझाइमा एकरूपता कायम गर्न, उपचार तथा मनोविमर्श पद्धति अवलम्बन गर्न र जीवनमा प्राप्त उपलब्धिप्रति सन्तुष्ट हुँदै अगाडि बढ्ने स्वभाव विकास गर्नु जरुरी छ । व्यक्तिगत, पारिवारिक, सामाजिक र पेशागत तहमा तथा कार्यस्थलमा मानसिक स्वास्थ्य तथा यस्तो समस्या भएका व्यक्तिहरूको अधिकारको सवालमा सचेतना वृद्धिको खाँचो छ ।

मनोपरामर्शको नाममा आपराधिक धन्दा हुने गरेको यदाकदा सुनिन्छ नि ? ‘काउन्सिलङ’को नाममा ‘मालप्राटिक्स’ भइरहेको भन्ने गरेको पाइन्छ । यसमा यहाँको धारणा के छ ?
हो, यहाँले भने जस्तै मनोपरामर्शका नाममा निश्चित समयमा ठीक गर्दिन्छु भनेर अग्रिम पैसा लिनु ‘मालप्राक्टिस’ हो । यो नितान्त गलत हो । यस्ता कार्य रोक्नका लागि सम्बन्धित निकायले पहल गर्न जरुरी छ । यससम्बन्धी औपचारिक अध्ययन नगरेका, केही दिन-महिनाको तालिम लिएको या युट्युबमा भिडिओ हेरेकै भरमा आफूलाई मनोविश्लेषक दाबी गर्दै आएकाहरूले यस्तो गरेको पाइन्छ । गलत अभ्यास गर्नेहरूका कारण समग्र मनोपरामर्श क्षेत्र नै बदनाम हुँदै गएको छ ।

अन्त्यमा ?
मानसिक समस्याहरू समाधान हुन्छन् । र, हरेक मानसिक समस्या पागलपन होइन । औषधि, मानसिक सहायता, पारिवारिक प्रेम, वातावरण र रोगीको बुद्धि, यी पाँच चिजहरूको तालमेल मिल्यो भने मानसिक रोग निवारण गर्न सकिन्छ भनेर सबैले बुझ्न जरुरी छ । आफूमा केही समस्या भयो भने मनोपरामर्श लिन ढिलो गर्नु हुँदैन । समयमै यसको समाधानतर्फ लागियो भने जटिलता नजिक आउँदैन । आफू नै समयमा सचेत हुन जरुरी छ । फेरि घरका कुनै सदस्यमा यस्तो समस्या देखियो भने सबै मिलेर उसलाई सहयोग गर्न आवश्यक छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?