‘मृत्यु मार्ग’ बने खोला-नदी, पाल्पामा २४ जनाको गयो अकालमै ज्यान

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । प्राकृतिक स्रोतका रुपमा रहेका खोला–नदी यति बेला मृत्यु मार्गका रुपमा चिनिन थालेका छन् । मानवीय लापरवाही र त्रुटिका कारण खोला–नदी मृत्यु मार्ग बन्दै गएका हुन् । यी स्रोतहरुबाट लाभसँगै जोखिम उत्तिकै रहे पनि मानिसको हेलचक्या्रइँका कारण अकालमै ज्यान गुमाउनु परेको छ । पाल्पामा रहेका खोला–नदीबाट धेरैले अकालमै ज्यान गुमाएका छन् ।

यहाँ दैनिक जसो खोलामा डुवेर मानिसले ज्यान गुमाउनु परेको छ । प्रहरीको तथ्याङ्कलाई हेर्ने हो भने पनि डुवेर धेरैले ज्यान गुमाएका छन् । अन्य घटनाहरुको तुनामा खोलामा डुवेर ज्यान गुमाउनेहरुको संख्या बढी नै छ ।

खोला र नदीबाट अकालमै ज्यान गुमाउनेको संख्या जिल्लामा बढ्दो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जाकारी दिनुभयो । यहाँका नदी र खोलाबाट एक वर्षमा २४ जनाले अकालमै ज्याज गुमाउनु परेको छ । जसमा १२ पुरुष, २ महिला, ५ बालक र ५ बालिका रहेका छन् । आर्थिक वर्ष २०७९/८० को असार २ गतेसम्मको जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्याङ्कमा २१ जना रहेको उल्लेख गरिए पनि असार ४ गते सोमबारसम्म थप ३ जनाको ज्यान गएको छ । योसँगै नदी –खोलाबाट एक वर्षमा २४ जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा अधिकांस घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक रहेका छन् ।

तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोला ड्याम साइड र भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले धेरैको ज्यान लिएको छ । भूतखोलामा रहेको पानी पोखरी अवलोकन गर्न पुग्नेहरु फोटो खिच्ने र पौडी खेल्न क्रममा अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । स्थानीय सरकार र प्रदेश सरकारले अध्ययन नै नगरी पर्यटक तान्न संरचना बनाएका कारण यस्तो समस्या आएको हो । हरेक वर्ष गर्मी मौसममा पौडी खेल्न जाने र खोलाको सिन लिएर तस्बिर खिच्चेहरु लडेर ज्यान गुमाउने गरेका छन् । भूतखोला पर्यटकका लागि आकर्षण स्थल भए पनि त्यसको उचित सुरक्षा प्रवन्ध नहुँदा धेरैले ज्यान गुमाउनु परेको छ । उक्त खोलामा आन्तरिक तथा बाह्य पर्यटकहरु बढी जाने र उनीहरुले नै अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले सो स्थानमा सुरक्षाका उपायहरु अपनाउन जिल्ला पहरी कार्यालयले स्थानीय सरकारलाई आग्रह समेत गरेको छ । पछिल्ला केही दिन यता भारत, रुपन्देही लगायत तराईका जिल्लाहरुबाट गर्मी छल्न तिनाउ खोलामा पोडी खेल्न पुग्नेहरुको संख्या बढ्दै जाँदा डुवेर मृत्यु हुनेको संख्या समेत बढेको प्रहरीले जनाएको छ । भूतखोलामा रहेको सानो झरना र नीलो रङको पोखरीका कारण मानिस आकर्षित हुने गरेका छन् । यहाँको भूतखोला, ड्याम र तिनाउ खोलामा मात्र एक वर्षको अवधिमा १० जनाले ज्यान गुमाएका छन् । जसमा १ महिला, ७ पुुरुष र २ बालबालिका रहेका छन् । भूतखोला र तिनाउ खोलामा मात्र होइन रामपुर र बगनासकालीस्थित कालीगण्डकी नदीमा समेत धेरैले ज्यान गुमाउनु परेको छ । डुवेर मृत्यु हुनेहरुको संख्या बढ्दै गएकाले घुम्न आउने पर्यटकहरुलाई सचेत गराउन सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जिल्ला प्रहरी कार्यालयले जोड दिदै आए पनि सम्बन्धित निकायले भने चासो देखाएका छैनन् ।

सोमबार मात्रै दुई जनाको मृत्यु

सोमबार मात्र पाल्पाको रैनादेवी छहरा र तिनाउमा दुई जनाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । यहाँको रैनादेवी छहरा गाउँपालिका–८, जलुके झर्नामा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गएको छ । साथीहरुसँगै पौडी खेल्न गएका रुपन्देहीको शुद्धोधन गाउँपालिका २, रजाडका २२ वर्षीय सञ्जय चौधरी झर्नामा अचानक डुब्न पुगेका थिए । उनलाई साथीहरूले उद्धार गरी तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा पठाए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यस्तै तिनाउ गाउँपालिका ३, सिद्धबाबा नजिकै तिनाउ खोलामा पौडी खेल्ने क्रममा अर्का एक जनाको ज्यान गएको छ । भारतको गोरखपुरस्थित फत्तेपुरका ३४ वर्षीय विपिन धुसियाको खोलामा डुवेर ज्यान गएको हो । उनी पनि साथीहरूसँग पौडी खेल्ने तिनाउ खोलामा आएका थिए ।

पौडी खेल्ने क्रममा डुबेरका उनलाई साथीहरूले तत्काल उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुवै घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

तस्वीर ः पाल्पाको तिनाउ गाउँपालिका –३ ड्यामस्थित तिनाउ खोलामा पौडी खेल्नेहरुको भीड ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?