खडक वारियर्स र रूपनी राइडर्स विजयी

हिमालय टाइम्स
Read Time = 4 mins

सप्तरी । सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगमा बजाज खडक वारियर्स र रूपनी राइडर्स विजयी भएका छन् । बजाज खडक वारियर्सले राजविराज द किङलाई ७ विकेटले पराजित गर्‍यो । राजविराजले दिएको ८८ रनको लक्ष्य खडक वारियर्सले ६.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । खडक वारियर्सको यो लगातार दोस्रो जित हो ।

बजाज खडक वारियर्सको ब्याटिङमा कप्तान विवेक यादवले विस्फोटक पारी खेल्नुभयो । उहाँले १९ बलमा २ चौका र ५ छक्का मद्दतले अविजित ४५ रन बनाउनुभयो । साहिल पटेलले १२ तथा राज्वार्मा र सन्दिप रजालीले समान ११ रन बनाउनुभयो । राजविराजका बलर विक्रम सोबले २ तथा सकिम आलमले १ विकेट लिनुभयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको राजविराज द किङले १८ ओभरमा ८७ रन बनाउँदा सबै विकेट गुमायो । उसका लागि शंकर रानाले सर्वाधिक २६ तथा तृतराज दासले १७ रन बनाउनुभयो । खडक वारियर्सका देब्रे हाते स्पिनर अनिल खरेल एक्लैले ४ विकेट लिनुभयो । यस्तै, अनिल यादवले ३, विवेक यादवले २ तथा दिनेश अधिकारीले १ विकेट लिनुभयो ।

दिनको दोस्रो खेलमा रूपनी राइडर्सले लिगमा दोस्रो जित दर्ता गर्ने क्रममा कञ्चनरूप राइनोजलाई ७ विकेटले पराजित गर्‍यो । कञ्चनरूपले दिएको १३८ रनको लक्ष्य रूपनी राइडर्सले १३.४ ओभरमै पूरा गर्‍यो । रूपनी राइडर्सको ब्याटिङमा रोहन विकले सर्वाधिक ५५ रन बनाउनुभयो ।

अविजित रहँदै उहाँले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गर्नुभयो । रोहन प्लेयर अफ द म्याचसमेत चुनिनुभयो । यस्तै, भोला शाहले ३७ बलमा ७ चौका र १ छक्का मद्दतले ४५ रन बनाउनुभयो । कञ्चनरूपका बलर राशिद खानले ३ विकेट लिनुभयो ।

यसअघि टस हारेर ब्याटिङ गरेको कञ्चनरूप राइनोजले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो । उसका लागि नारायण जोशीले मात्र १५ बलमा ४२ रन बनाउनुभयो । उहाँले २ चौका र ५ छक्का प्रहार गर्नुभयो । अमित यादवले ३० तथा दिलिप नाथले २२ रन बनाउनुभयो । रूपनी राइडर्सका जितेन्द्र मुखिया, अशोक मेहता र फिर्दोश अन्सारीले २/२ तथा मुकुन्द यादवले १ विकेट लिनुभयो ।

जितपछि बजाज खडक वारियर्स चार अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमा दुई जित र एक हार बेहोरेको रूपनी राइडर्स समान चार अंक रहे तापनि नेट रनरेटमा पछि रहँदै दोस्रो स्थानमा छ । कञ्चनरूप राइनोज, छिन्नमस्ता लायन र बलानबिहुल सुपर किंग्स समान दुई अंक रहे तापनि नेट रनरेटका आधारमा क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छ । तीनवटै खेलमा पराजित राजविराज द किङ छैटौँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?