भीमेश्वरले पनि चार्जिङ स्टेसन बनाउने

Read Time = 3 mins

नवराज शिवाकोटी/हिटा
दोखला । भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ मा विद्युतीय चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । नगरले विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहित गर्न नगरभित्र चार्जिङ स्टेसन स्थापना गर्ने भएको हो । बिहीबार भीमेश्वर नगरपालिकाको तेस्रो नगरसभामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भीमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेतले निजी क्षेत्रसँगको साझेदारीमा विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहित गर्न चार्जिङ स्टेसन निर्माण गर्न लागिएको बताउनुभएको हो । त्यसैगरी केन्द्र सरकारका विभिन्न निकायको समन्वयमा नगरमा सौर्य पार्क निर्माण गर्ने तथा तामाकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण कार्यमा नगरले समन्वयात्मक भूमिका खेल्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरभित्र निर्माणाधीन कभर्डहल, भीमेश्वर रंगशाला, थामी संग्रहालयजस्ता ठूला आयोजना पनि आव २०८०-०८१ मा सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिने उपप्रमुख बस्नेतले बताउनुभयो । ३० वर्ष अवधिका लागि कृषि फर्म सञ्चालन गर्ने युवालाई लागतको २५ प्रतिशतसम्म अनुदान दिने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । काठमाडौं महानगरको सिको गर्दै नीति तथा कार्यक्रममा आइतबारदेखि बिहीबार पढ्नै पर्छ तर शुक्रबार एक दिनलाई कक्षाकोठा पर भन्ने नाराका साथ शुक्रबारलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन बारका रूपमा व्यवस्थित गर्ने उल्लेख छ ।

एक घर, एक धारा कार्यक्रमलाई निरन्तरता दिँदै कछुवा गतिमा रहेको चरिकोट बजारमा निर्माणाधीन ढल व्यवस्थापन कार्यलाई आर्थिक वर्ष २०८०/०८१ मा पूर्णता प्रदान गरिने उपप्रमुख बस्नेतले बताउनुभयो । साथै भीमेश्वर नगरपालिका वडा नम्बर १ को राङराङथली क्षेत्रलाई सुनाखरी संरक्षण क्षेत्र घोषित गरी सुनाखरी संरक्षण गरिने, नगरको आम्दानी वृद्धि गर्न करका दरमा वृद्धि गरिने बताइएको छ । नगरसभाको बैठक भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरको अध्यक्षतामा बसेको थियो । असार १० गते बस्ने नगरसभाको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय–व्ययको विवरण(बजेट) पेश गरिने कार्यसूची रहेको नगरपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?