बर्दघाटले ल्यायो स्थानीय आर्थिक सर्वेक्षण

Read Time = 5 mins

नवलपरासी । नेपालमा रहेका सात सय ५३ स्थानीय तहमध्ये बर्दघाट नगरपालिकाले स्थानीय आर्थिक सर्वेक्षण २०७९/०८० प्रकाशन गरेको छ । यसरी स्थानीय आर्थिक सर्वेक्षण प्रकाशित गर्ने स्थानीय तहमा बर्दघाट नगरपालिका पहिलो रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले दाबी गर्नुभएको छ । नगरभित्रका आर्थिक, सामाजिक र स्थानीय गतिविधि समेटेर नेपालमै पहिलोपटक स्थानीय आर्थिक सर्वेक्षण प्रकाशन गरिएको उहाँले बताउनुभयो । सापकोटाका अनुसार बर्दघाट नगरले गत फागुन १७ गते स्थानीय आर्थिक विकास मूल्यांकन कार्यविधि २०७९ तयार गरी काम गरेको छ ।

आर्थिक सर्वेक्षणले नीतिगत कार्यक्रम, आवधिक योजना तयारी, मध्यकालीन खर्च संरचना निर्माणलगायतमा टेवा पुग्ने उहाँले बताउनुभयो । स्थानीय आर्थिक सर्वेक्षणमार्फत् नगरपालिकाभित्रको आर्थिक गतिविधि सर्वेक्षण गरिएको बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय सर्वेक्षणमार्फत् नगरको समग्र आर्थिकस्थिति, स्थानीय वित्त, आर्थिक विकास, औद्योगिक ग्राम, सीप विकास, श्रम तथा रोजगार, कृषि उत्पादनलगायतका विषय समेटिएको छ ।’

नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नगरले प्रकाशन गरेको स्थानीय आर्थिक सर्वेक्षण बजेट निर्माणको आधारशीला भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय सर्वेक्षणअनुसार हामीले हाम्रो नगरका सम्भावना र चुनौतीलाई राम्रोसँग केलाएका छौँ । जसले गर्दा बजेट तर्जुमाका लागि आधारशीला मानेर आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट तर्जुमा गरेका छौँ ।’ नगरपालिकाले स्थानीय आर्थिक सर्वेक्षण निर्माणका लागि पशुपति गैरेको संयोजकत्वका कृष्णहरि पौडेल, भरत लम्साल, गोविन्द शर्मा, शान्ति गुरुङ, गोपाल चौधरी, पदम केसी सदस्य रहने गरी सात सदस्यीय मस्यौदा समिति तयार गरेको हो ।

प्रतापपुरको बजेट ७७ करोड
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले २०८०/०८१ का लागि ७७ करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । बिहीबार प्रतापपुर गाउँपालिकाको १४औँ गाउँसभामा उपाध्यक्ष मानकुमारी चौधरीले ७७ करोड आठ लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । जसअन्तर्गत कृषि र पशुपालनमा दुई करोड, आर्थिक विकासमा चार करोड, शिक्षा क्षेत्रमा तीन करोड ५० लाख, स्वास्थ्यमा दुई करोड, सामाजिक विकासमा छ करोड ७२ लाख पाँच हजार, विपद् व्यवस्थापनमा ३५ लाख, सुशासन तथा संस्थागत विकासमा चार करोड सात लाख सात हजार, कार्यालय व्यवस्थापनमा ११ करोड विनियोजन गरेको छ ।

हामी सबैको सार्थक प्रयास, प्रतापपुरको समग्र विकास भन्ने मूल नारालाई आत्मसात गर्दै नीति तथा कार्यक्रम र बजेट ल्याइएको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सीमित स्रोत र साधनको बाँडफाँट गर्दै अधिकतम् लाभ लिने गरी काम गर्न सकिने गरी नीति कार्यक्रम र बजेट ल्याएका छौँ ।’ बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, समपूरक अनुदान, विशेष अनुदान, राजस्व बाँडफाँट र सशर्त अनुदानसमेत समावेश भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?