इलामको चुलाचुलीमा ड्रागन फलको रहरलाग्दो खेती

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । केही वर्षअघि नेपाल भित्रिएकाे ड्रागन फल अहिले धेरै नेपालीको बारीबारीमा पुगेको छ । सेतो र रातो जातको यो फलबारे शुरु-शुरुमा विदेश यात्रामा जाने ‘भिआईपी’ नेपालीलाई मात्रै थाहा हुने गरेपनि अहिले इलामका किसानले पनि आफ्नो व्यवसाय बनाएका छन् ।

सामाजिक सञ्जाल र सञ्चार माध्यमका कारण सहजै किसानले जानकारी पाएपछि इलाममा पनि ड्रागन फलको व्यावसायिक खेती शुरु भएको छ । ड्रागन फलका लागि उष्ण र उपष्ण क्षेत्र उत्तम मानिन्छ ।

समुद्री सतह देखी १५ सय मिटर उचाइसम्म खेती हुने ड्रागन फल दक्षिणि इलामको चुलाचुली गाउँपालिकामा व्यवसायीक रुपमा खेती शुरु भएको हो । धान मकै मात्रै हुने ४ कट्टा जग्गामा ड्रागन फ्रुट रोपण गरेको चुलाचुली २ का आइतमाया लिम्बुले अहिले राम्रो आम्दानी श्रोत बनाउनुभएको छ । उहाँ चुलाचुली गाउँपालिका-२ का वडासदस्य हुनुहुन्छ ।

उत्पादनको पहिलो वर्षमा १ लाख २० हजारसम्मको ड्रागन फल बिक्रिबाट लिम्बुले आम्दानी गर्नुभएको छ । २ वटा बोटबाट खेती शुरु गर्नुभएको लिम्बुको बारीमा ४ सय बोट ड्रागन फलका बिरुवाले उत्पादन दिइरहेका छन् । सेतो र रातो गरि २ प्रजाती हुने यो फल लिम्बुका बारीमा २ प्रजातीबाटै उत्पादन हुँदै आएको छ । झापाको दमक बजारबाट नजिकै रहेको चुलाचुलीमा गाउँपालिकामा उत्पादित ड्रागन फलको बिक्रि समस्या नभएको स्थानीय ओम नारायण खनालले बताउनुभयो ।

ड्रागनको फल, फूल लागेको ३० देखि ५० दिनमा तयार हुने गर्दछ । ५ डिग्री सेल्सियस, तापक्रम र ९०% सापेक्षिक आद्रताको अवस्थामा ४० दिन सम्म राख्न सकिने भएकाले ड्रागनको फलमा किसानको आकर्षण बढ्दै गएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो । पहिलो वर्षमा प्रति पोल ८-१० वटा फल लाग्ने ड्रागन फ्रुटको मुख्य सिजनको रुपमा असोज-फाल्गुन मानिन्छ । ड्रागन फलको उत्पादन प्रति रोपनी २५०-३०० के.जी सम्म हुने गर्दछ । चुलाचुली गाउँपालिकाले ड्रागन फललाई फलफुल उत्पादनको दोस्रो प्राथमिकतामा राखेर लगानीको योजना समेत बनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?