‘एकमात्र’ सिग्देलको गद्य कवितासङ्ग्रह

सुशीला घिमिरे
Read Time = 8 mins

हरिभक्त सिग्देल ‘महेश’ नेपाली साहित्यमा चिनाइरहनुपर्ने नाम होइन । उहाँका विभिन्न विधामा गरी चारदर्जन जति पुस्तक प्रकाशित छन् । केही समयपहिले उहाँको निकै मोटो आकारको ‘एकमात्र’ शीर्षकको पुस्तक प्रकाशित भएको थियो । त्यो गद्य विधामा लेखिएको थियो र संसारका सबै धर्मका भगवान् एकमात्र छन् । त्यहाँसम्म पुग्ने मार्ग फरक भए पनि भगवान् एकमात्र छन् भन्ने सन्देश दिने चाहना त्यस पुस्तकको थियो । उहाँको हालै प्रकाशित पुस्तक चाहिँ गद्य कविताहरूको सङ्ग्रह हो । पूर्वप्रकाशित पुस्तकसँग शीर्षक मिलेको हुँदा यस पुस्तकको आसय पनि पहिलेकै झैँ सबैको एकाकार स्वरूपलाई देखाउने हुनसक्छ भन्न सकिन्छ । हरिभक्त सिग्देल ‘महेश’को गद्य कवितासङ्ग्रह ‘एकमात्र’ डिएमआई साइजमा प्रकाशित छ ।

हेर्दै आकर्षक लाग्ने यो पुस्तक मुक्तिनाथ दर्शन साहित्य समाज नेपालले प्रकाशित गरेको छ भने सर्वाधिकार कवि सिग्देलमै रहेको छ । २०८० साल वैशाख १ गते नव वर्षको सन्दर्भ पारेर प्रकाशित गरिएको यो पुस्तक १००१ प्रति प्रकाशित भएको छ । पुस्तकको यो पहिलो संस्करण हो । भूमिका खण्डका ३२ पृष्ठसहित यो पुस्तक १३६ पृष्ठको छ र यसको मूल्य ३९९ रुपैयाँ छ । पहेंलो हलुका कागज प्रयोग भएको यस पुस्तकको छपाइ स्तरीय छ, केही अशुद्धि भने भेटिन्छन् । पुस्तक सूर्योदय छापाखाना हाँडीगाउँ काठमाडौंमा मुद्रण भएको छ । यस पुस्तकको लेआउट दीपेन्द्र बस्नेतको छ ।

कवि सिग्देलको यस पुस्तकमा समेटिएका कविताहरू भावका दृष्टिकोणबाट एकै प्रकारका छैनन् । समग्र मानव जीवन, प्रकृति चित्रण, कर्तव्याकर्तव्य, राष्ट्रियता, राजनीतिक विकृतिप्रतिको आक्रोश, आहृवान, आग्रह वा अनुरोध, आशावादिता र कतै-कतै निराशावादी चिन्तन पनि देखा पर्दछ ।

पुस्तकको आवरण आकर्षक छ । आवरणमा कवि सिग्देलको पूर्णपृष्ठको फोटो राखिएको छ । माथि नीलो रङमा आकाश र बादल लागेको जस्तो देखिन्छ । माथि ठूला अक्षरमा पुस्तकको शीर्षक ‘एकमात्र’ भनिएको छ र यससँगै साना अक्षरमा कोष्ठभित्र गद्य कवितासंग्रह भनिएको छ । यसै गरी तल सेता साना अक्षरमा कवि सिग्देलको नाम दिइएको छ ‘हरिभक्त सिग्देल ‘महेश’ भनेर ।

पृष्ठ आवरणमा फोटोसहित कविको परिचय दिइएको छ । यहाँ उहाँको समग्र परिचय दिनुका साथै उहाँका प्रकाशित पुस्तकहरूमध्ये केहीको नाम उल्लेख गरिएको छ । यसैगरी यहाँ उहाँका केही प्रकाशोन्मुख पुस्तकहरूको शीर्षक पनि दिइएको छ । महाकाव्य, मुक्तकसङ्ग्रह र गजलसङ्ग्रह ती सबै पुस्तक ‘एकमात्र’ शीर्षकमा प्रकाशित हुनेछन् भनिएको छ ।

यही पृष्ठको तल लोगोसहित प्रकाशक संस्थाको नाम छ । पुस्तकको भूमिका खण्डमा सबैभन्दा पहिले समर्पण छ । यहाँ ‘हत्या, हिंसा, अन्याय, भ्रष्टाचारबाट टाढा रहेर विश्वबन्धुत्व, मानवता, प्रजातन्त्र र मानवअधिकारको संरक्षण, सम्बद्र्धनकर्मी लेखक र यसलाई सम्मान गर्ने विश्व मानव समुदायप्रति’ भनिएको छ । यसपछि कवि कलानिधि दाहालको ‘एकमात्र भित्र एकछिन रहल्लिँदा’ साहित्यकार गोपी मैनालीको ‘प्रयोग र छुट्टै दृष्टिबिम्बमा एकमात्र’, डा.अर्जुनदेव भट्ट, युवराज मैनाली, विष्णुप्रसाद पन्त र विनोद दाहाल वत्सका शुभकामना छन् भने कवि सिग्देलको ‘मेरो भन्नु’ रहेको छ । त्यसपछि विषयक्रम भनेर विषय सूची दिइएको छ । पुस्तकमा जम्मा ५१ वटा कविता छन् ।

यस पुस्तकमा समेटिएका कविताका शीर्षकहरूलाई हेर्दा एक शब्दका ११, दुई शब्दका २५, तीन शब्दका आठ चार शब्दका पाँच र पाँच शब्दका दुईवटा कविता छन् । यसले गर्दा कवि सिग्देशको शीर्षक चयनशैली हेर्दा उहाँ छोटो शीर्षक राख्न चाहनुहुने रहेछ भन्ने थाहा हुन्छ । यसैगरी उहाँ मझौला आकारका कविता लेख्न चाहनुहुन्छ भन्ने यहाँ प्रकाशित कविताबाट थाहा हुन्छ । फैलावटका दृष्टिले एक पृष्ठका ७, दुई पृष्ठका ३८, तीन पृष्ठका ३, चार पृष्ठका ३ र पाँच पृष्ठको फैलावटका तीनवटा कविता छन् । यसरी हेर्दा उहाँका अधिकांश कविताहरू दुई पृष्ठको फैलावटमा रहेका पाइन्छन् ।

कवि सिग्देलको यस पुस्तकमा समेटिएका कविताहरू भावका दृष्टिकोणबाट एकै प्रकारका छैनन् । समग्र मानव जीवन, प्रकृति चित्रण, कर्तव्याकर्तव्य, राष्ट्रियता, राजनीतिक विकृतिप्रतिको आक्रोश, आहृवान, आग्रह वा अनुरोध, आशावादिता र कतै कतै निराशावादी चिन्तन पनि देखा पर्दछ । यसैगरी असन्तोष, तृष्णा, लालसा, इष्र्या, आरिस, कृण्ठा र प्रतिस्पर्धा पनि यहाँका कविताहरूले दोखाएका छन् । व्यङ्ग्य, विरोध, उत्तेजनालगायत यहाँ समेटिएका कवितामा पाइन्छ । कविताका माध्यमबाट कविले जाति, धर्म, वर्ग, आस्था, वर्ण लिङ्ग सबै समान हुन् भन्नुभएको छ । समग्रमा उहाँको यस कवितासङ्ग्रहले विभिन्न मानिसहरूले विभिन्न आस्था र विचार बोकेको भए पनि अन्ततः भगवान् भने एकमात्र हो भन्ने उहाँको सन्देश छ ।

‘आर्यघाट’ शीर्षकको उहाँको कविताको यो अंश यहाँ उदृत गर्नु सान्दर्भिक हुन्छ :
जीवन सत्यको अन्तिम सत्य,
आर्यघाट !
हल्ला छैन स्तब्ध छ
विभेद छैन समता छ
इष्र्या छैन सद्भाव छ
आँखाभरि आँसु नछल्किने
कोही छ भने सिर्फ
उही एक मात्र ईश्वर छ ।
कवि सिग्देललाई बधाई, तथा पुस्तकको सफलताको शुभकामना । उहाँबाट यस प्रकारका अन्य पुस्तकहरू पनि आऊन्, उहाँको लेखनीले निरन्तरता पाओस् । कवि सिग्देललाई अग्रीम शुभकामना ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
badriprasaddahal
badriprasaddahal
2023-06-24 4:35 pm

सटीक र सारात्मक टिप्पणी धन्य बहिनी ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?