सीमा नाका कडाइले व्यवसायी उत्साहित

Read Time = 6 mins

नवलपरासी । पश्चिम नवलपरासीमा रहेको महेशपुर भन्सार कार्यालयमा कडाइ गरेसँगै सर्वसाधारणको आवतजावतमा कमी आएको छ । असार ५ गतेदेखि भारतीय बजारबाट भिœयाउने एक सय रुपैयाँको सामानमा समेत भन्सार उठाउन सुरु गरेपछि सीमा नाकामा सर्वसाधारणको आवतजावत घटेको महेशपुर भन्सार कार्यालयका प्रमुख बुद्धिबहादुर चुडालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज पाँच दिन भयो, हामीले सीमा नाकामा कडाइ गरेको, कडाइपछि दैनिक आवतजावत गर्ने सर्वसाधारणको संख्यामा ७० प्रतिशतले कमी आएको छ ।’

नेपाल-भारतको सिमाना भारतीय बजारबाट नेपाल आउने हरेक सामानमा भन्सार कडाइ गरिएको छ । भन्सार कार्यालयले सूचना नै निकालेर नेपाली एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा पनि भन्सार उठाइएको चुँडालले बताउनुभयो । नयाँ व्यवस्थाले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार निरुत्साहित हुने उहाँको भनाइ थियो । सीमा नाकामा रहेको भारतीय बजारमा सस्तो सामान पाइने भन्दै नेपाली उपभोक्ता सीमा नाका जाने गरेको उद्योग वाणिज्य संघका केन्द्रीय सल्लाहकार गुणनिधि तिवारीले बताउनुभयो । तिवारीका अनुसार नेपाल भारतको सीमा नाकाको बजारमा भारतबाट दैनिक उपभोग्य सामान नेपाल आउँदा नेपाली बजार सुकेको छ ।

चेम्बर अफ कमर्स नवलपरासीका अध्यक्ष चन्द्रज्योति बस्यालले भन्सार कार्यालयले लिएको अहिलेको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भन्सार कार्यालयले अहिले गरेको निर्णय एकदमै स्वागतयोग्य र सकारात्मक छ । जसले गर्दा नेपाली व्यवसायीको व्यापारमा राम्रो हुन्छ ।’ हाल सीमावर्ती क्षेत्रमा रहेको भारतीय बजारमा नेपाली उपभोक्ताले साइकल, मोटरसाइकल, इ–रिक्सा, अटोलगायत सवारीसाधन लिएर जाने क्रम रोकिएको उहाँले बताउनुभएको छ ।

रामग्रामको बजेट एक अर्ब १७ करोड
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम तथा बजेट पारित गरेको छ । नगरपालिकाले १२औँ नगरसभाबाट आर्थिक वर्ष २०८०/०८१ का लागि नीति कार्यक्रम तथा बजेट पारित गरेको हो ।

नगरपालिका प्रमुख धनपत यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चारवटा विद्यालयलाई नमुना विद्यालयका रूपमा अघि बढाइने बताउनुभयो । सामुदायिक विद्यालयको खकँस्दो गुणस्तर सुधार गर्न उक्त योजना अघि बढाउन लागिएको उहाँले जानकारी गराउनुभयो । विद्यार्थीको दैनिक उपस्थिति बढाउन गत वर्ष सुरु गरिएको कार्यक्रमलाई यस वर्ष निरन्तता दिइएको यादवले बताउनुभयो । उहाँले नगरपालिकाले आफैं पनि सोलारबाट एक मेगावाट विद्युत् उत्पादन गर्ने योजना अघि सारेको र सोलारबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्ने योजना रहेको जानकारी दिनुभयो ।

नगरपालिकाको ५० प्रतिशत तथा बाँकी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोग रहने गरी प्लान्ट निर्माण गर्न आठ करोड बजेट छुट्याइएको छ । रामग्राम स्तुपलाई कसैले ध्यान नदिएको भन्दै नगरपालिकाले रामग्राम विकास कोष ऐन निर्माण गरी नगरसभाबाट पारित रामग्राम स्तुपाको विकासको पहल गरिने पनि यादवले बताउनुभयो । रामग्राम नगरपालिकाकी नगर उप्रमुख सम्झना चौधरीले आर्थिक वर्ष २०८०÷०८१ का लागि कुल एक अर्ब १७ करोड १८ लाख ८८ हजारको बजेट सार्वजनिक गर्नुभयो ।

चालुतर्फ ४३ करोड ३५ लाख ६२ हजार तथा पुँजीगततर्फ ७३ करोड ८३ लाख २६ हजार बजेट विनियोजन गरिएको छ । संघीय सरकारबाट ६७ करोड ५९ लाख, लुम्बिनी प्रदेशबाट तीन करोड ६२ लाख अनुदान, आन्तरिक राजस्व र चालु आर्थिक वर्षबाट बचत हुन सक्ने अनुमानित रकम ४५ करोड १७ लाख ११ हजार रुपैयाँ आय हुने गरी कुल एक अर्ब १७ करोड १८ लाख ८८ हजार अनुमान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?