वर्तमानविरुद्ध विद्रोहको सशक्त आवाज दाहालको नवीन उपन्यास ‘कालपात्र’

विनोद दाहाल वत्स
Read Time = 28 mins

प्रा.पुरुषोत्तम दाहालकृत औपन्यासिक कृति हो ‘कालपात्र’ । पुस्तकभित्र पस्नुभन्दा पहिले प्रा.पुरुषोत्तम दाहालको लेखकीय प्रवृत्ति तथा यस कृतिको सिर्जनाको अन्तर्य बारे केही भन्नु समिचीन होला । राजनीति शास्त्रका प्राध्यापक दाहालको राजनीतिक भाषा अत्यन्त माझिएको हुन्छ । त्यो भाषिक स्तरीयता पत्रपत्रिकाहरूमा, मौखिक अभिव्यक्तिहरूमा, स्थूल कृतिहरूमा प्रस्तुत हुँदै आएको छ । उहाँ गद्य र पद्य कवितामा, समसामयिक विचारप्रधान निबन्धहरूमा, कथाहरूमा, पेशागत लेखनमा तथा उपन्यासहरूमा सबैतिर अभिव्यक्ति दिँदै आउनुभएको छ ।

एक व्यक्तिको साहित्यिक सिद्धहस्तता कुनै एक विधामा हुन्छ । महाकवि देवकोटाका कविता र निबन्ध जति प्रसिद्धि अन्य विधाले पाउन सकेनन् । यसको कारण हो भिन्न-भिन्न विधा प्रस्तुत गर्न भिन्न-भिन्न भाषा तथा शैली प्रयोग हुनुपर्छ । कवितामा र आत्मापरक निबन्धमा सहज रूपमा पोखिने देवकोटालाई अन्य विधामा पोखिन सहज नभएको हुनसक्छ । यहाँ प्राध्यापक दाहाललाई देवकोटासँग दाँज्न खोजिएको जस्तो देखिनसक्ला तर यस दृष्टान्तबाट दाहालको विविध विधाको प्रविष्टि र तिनमा सफलता देखाउन खोजिएको मात्र हो । तथापि दाहाल एघार एघार वटा कृति नेपाली साहित्यलाई प्रदान गरिसकेर पनि अनौपचारिक तथा औपचारिक मञ्चहरूबाट समेत आफू साहित्यकार नभएको धारणा राख्दै ‘म साहित्यकार होइन’ भन्न छोड्नुहुन्न ।

दुई-चारवटा हाइकु, मुक्तक वा दुई-चार अनुच्छेद कोरेर आफूलाई नेपालको ठूलो साहित्यकार दाबी गर्नेहरूप्रतिको व्यंग्यार्थ हो कि यो जस्तो ठानेर उहाँले ‘म साहित्यकार होइन’ भनिरहँदा श्रोता र दर्शक दीर्घामा बस्नेहरू मुखामुख गरेर मुस्कुराउँछन् वा घोसेमुन्टो लाउन बाध्य हुन्छन् । एक दर्जन जति साहित्यिक र गैरसाहित्यिक कृतिसमेत लेखेर नेपाली साहित्यलाई दिने दाहालले कतिवटा कृति लेखिसकेपछि आफूलाई साहित्यकार भन्नुहोला अथवा पाठकले नै त्यसो भनिदिनुपर्ने हो ? उहाँले आफू साहित्यकार होइन भने पनि पाठकहरूले उहाँलाई साहित्यकार भनिरहेकै छन् तथापि उहाँका साहित्यकार सँगसँगै अरू पनि व्यक्तित्वहरू छन् ।

ती अन्य व्यक्तित्वभन्दा साहित्यिक व्यक्तित्व कम वजनदार छ भन्ने उहाँको अभिप्राय हो भने त्यस बखत कुनै बौद्धिक पाठकले त्यसको तुलनात्मक अध्ययन गर्न बाध्य बन्नुपर्छ कि ? त्यो फरक कुरा हो । उहाँको प्राध्यापक वा पत्रकार, मानव अधिकारकर्मी वा लेखक वा साहित्यकार कुन व्यक्तित्व माथि छ ? त्यसको खोजी गर्न कसैले चाहेको छैन र विनातर्क उहाँलाई पाठकहरूले साहित्यकार स्वीकारेका छन् ।

मन्त्रीले न्यायपालिकाका न्यायमूर्तिहरू, प्रहरी प्रशासन, जिल्ला प्रशासन सबैजसोलाई विभिन्न प्रलोभनमा आफ्नो पोल्टामा पार्दै जान्छ । महिलाहरूको चरम यौनशोषण गर्छ, आफ्ना पक्षका मानिसलाई निजी विद्यालय खोल्न लगाएर सामुदायिक विद्यालयहरूलाई ध्वस्त पार्छ । जिल्लामा विकासका लागि ठूलो बजेट पार्छ तर विकासहरू कागजी मात्र हुन्छन् ।

‘कालपात्र’ पहिले उहाँका धेरै पुस्तकहरू आइसकेकै छन् तिनको उल्लेख पछि सन्दर्भ अनुसार गर्नु उचित होला । अहिले म यहाँबाट यसको चर्चा सुरु गर्छु कि मेरा हातमा अहिले उहाँको हालै प्रकाशित उपन्यास ‘कालपात्र’ छ । पुस्तक आकार वा आयामका हिसाबले ठिक्कको छ, धेरै ठूलो पनि होइन र धेरै सानो पनि होइन । डिएमआई साइजमा छ यो पुस्तक । यो कृति उपन्यास विधाको हो र यसलाई कोष्ठभित्र ‘वर्तमानको जीवन्त चित्र’ भनिएको छ । यसको समर्पणमै ‘सुकर्मका लागि कुकर्मविरुद्ध सतत् संघर्षशील सम्पूर्ण असल मानिसहरूमा’ भनिएको छ । यसैबाट यस पुस्तकको विषयको अन्तर्य आँकलन गर्न सकिन्छ । पुस्तक इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.(हिमालय टाइम्स राष्ट्रिय दैनिक) रहेको छ ।

पुस्तकको सर्वाधिकार लेखकमै छ भने प्रमुख वितरक शब्दार्थ प्रकाशन, चावहिल, काठमाडौं रहेको छ । पहिलो संस्करणका रूपमा २०८० सालमा प्रकाशित यो पुस्तक २१०० प्रति प्रकाशित भएको छ । विनोद दाहाल वत्सको भाषा सम्पादन, नवराज दाहाल, खड्ग खनाल र नेत्र तिमिल्सिनाको टंकण तथा प्रसिद्ध कलाकार रमेश पौडेलको आवरण कला भएको यो पुस्तक एलाइन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रा.लि. सरस्वतीनगर काठमाडौंमा मुद्रण भएको छ । भूमिका खण्डमा १२, पाठ्य खण्डमा २०० र कभरसहित समग्र पृष्ठ २२८ रहेका छन् । पुस्तकको मूल्य ५२५ रुपैयाँ छ । पुस्तकको छपाइ स्तरीय छ र पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग भएको छ । अशुद्धिहरू खासै पाइँदैनन् ।

आवरणमा कलाकार पौडेलले अमूर्त चित्रको प्रयोग गर्नुभएको छ । पहेंलो र कालो पृष्ठभूमिमा माथि हलुका पहेंलो रङका ठूला अक्षरमा पुस्तकको शीर्षक ‘कालपात्र’ भनिएको छ र त्यसैमुनि उपन्यासकार दाहालको नाम अलिक साना काला अक्षरमा ‘पुरुषोत्तम दाहाल’ भनिएको छ । बीचमा पुस्तकको शीर्षकसँग सामन्जस्य राख्ने खालको अमूर्त चित्र छ, आर्यघाटमा चितामाथि जल्दै गरेको । कुकर्ममान नामको पात्र छ पुस्तकको कथानकको प्रारम्भमा । त्यसैसँग मेल खाने गरी मानिसको खप्पर त्यसमाथि मावनाकृति र त्यसको शिरमा सूर्य वा बलिरहेको आगो जस्तो लाग्ने चित्रांकन भएको छ ।

पृष्ठ आवरणमा फोटोसहित उपन्यासकारको चिनारी दिइएको छ । जसका आधारमा टुककुमारी र पं.रत्नप्रसाद दाहालका सुपुत्रका रूपमा सन् १९५८ नोभेम्बर २८ मा ओखलढुंगाको बिगुटारमा उहाँ जन्मिनुभएको हो भन्ने थाहा हुन्छ । हाल उहाँ बूढानीलकण्ठ नगरपालिका-१० कपन नारायणचोकमा बस्तै आउनुभएको छ । हाल उहाँ हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रधान सम्पादक हुनुहुन्छ । यसपूर्व उहाँका साँध (कवितासंग्रह-२०५९), प्रक्षेपण (विचार निबन्धसंग्रह-२०६१), शान्ता (उपन्यास-२०७०), अन्धकारको यात्री (कवितासंग्रह-२०७३), शिखरवृत्त (कथासंग्रह-२०७४), मेरो पत्रकारिता (चार दशकको पत्रकारिता अनुभव-२०७३/०७५), शान्ता (उपन्यास अंग्रेजी अनुवाद-२०७५), काला बादलमा उज्याला पाइला (कवितासंग्रह-२०७९) प्रकाशित भइसकेका छन् ।

यसैगरी उहाँका मानवअधिकार : लोकतन्त्र शान्ति र अहिंसाको आधार (सहलेखन-२०६५) र केही कवि केही कविता (संयुक्त कवितासंग्रह-२०४३) पनि प्रकाशित भइसकेका थिए । यही पृष्ठमा उहाँको यति जानकारीका साथै उहाँले भ्रमण गर्नुभएका स्वदेशका जिल्ला र विदेशी राष्ट्रबारे पनि जानकारी गराइएको छ जसअनुसार उहाँले नेपालका ७५ वटा जिल्ला र विदेशमा संयुक्त राज्य अमेरिकका, डेनमार्क, भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, जापान स्विडेन, हङकङ् र युएईको भ्रमण गर्नुभएको उल्लेख छ । यस पृष्ठको तल वितरक संस्था शब्दार्थ प्रकाशनको नाम लोगोसहित उल्लेख भएको छ ।

भूमिका खण्डमा समर्पणपछि इम्प्रेसन पब्लिकेसन प्रा.लि.का कार्यकारी निर्देशक उज्ज्वल शर्माको ‘प्रकाशकीय’ रहेको छ भने त्यसपछि प्रा.डा.कुलप्रसाद कोइरालाको ‘कालपात्रमा अभिचित्रित युगीन चरित्र’, कृष्ण धरावासीको ‘खोजौं आआफ्ना अनुहार’, कलानिधि दाहालको ‘कालपात्रभित्र एकछिन्’ तथा उपन्यासकार दाहालको ‘कालपात्रबारे’ शीर्षकमा विचार समेटिएका छन् । त्यसपछि यस उपन्यासको कथानक अगाडि बढ्छ । २६ खण्ड वा अध्यायमा यो उपन्यास रचना भएको छ तर उपन्यासकारले यिनलाई अध्याय वा खण्ड केही भन्नुभएको छैन, अंक दिनुभएको मात्र छ । आजकाल उपन्यासका अध्यायलाई कथा जसरी छुट्टाछुट्टै शीर्षक दिने प्रचलन पनि बढेको छ तर यस उपन्यासमा त्यसो गरिएको छैन । यस उपन्यासलाई यसका तत्वहरूका आधारमा यसरी चित्रण गर्नु उपयुक्त हुन्छ :

१. कथानक :
आर्यघाटको चितामा एउटा कुनै उच्चपदस्त व्यक्तिको दाहसंस्कार भएको छ । उसलाई सम्झिएर रुनेहरू रोइरहेका छन् । यो उपन्यासको थालनी हो तर यस उपन्यासको कथानकलाई एउटा चक्र बनाएर वा सेलरोटी जस्तो बनाएर हेर्दा यो घटना उपन्यासको समाप्ति पनि हो । सज्जन लोक पार्टी खोलेर त्यसलाई जिल्ला हुँदै केन्द्रसम्म विस्तार गर्न सफल भएको कुकर्ममानपछि मन्त्री बन्नसमेत सफल हुन्छ । त्यसपछि आफ्नो जिल्लामा पार्टी विस्तार गर्छ र चाहेका आफन्तहरूलाई जिल्ला समितिमा राख्छ । आफ्ना छोरा, श्रीमतीलगायत कोही आफन्त बेरोजगार बस्नुपर्दैन । सेटिङबाट काम गर्नथाल्छ ।

न्यायपालिकाका न्यायमूर्तिहरू, प्रहरी प्रशासन, जिल्ला प्रशासन सबैजसोलाई विभिन्न प्रलोभनमा आफ्नो पोल्टामा पार्दै जान्छ । महिलाहरूको चरम यौनशोषण गर्छ, आफ्ना पक्षका मानिसलाई निजी विद्यालय खोल्न लगाएर सामुदायिक विद्यालयहरूलाई ध्वस्त पार्छ । जिल्लामा विकासका लागि ठूलो बजेट पार्छ तर विकासहरू कागजीमात्र हुन्छन् । अरू पार्टीका नेता कार्यकर्तालाई पनि विभिन्न प्रलोभन दिएर आफ्नो पार्टीमा भित्र्याउँछ । पद, पैसा र शक्तिका अगाडि सबै चुप लाग्छन् । विरोधी पार्टीकाहरू पनि खान पाएपछि केही बोल्दैनन् । भोजभतेर, खानपान र रक्सीमै विकासको पैसासमेत उडाउँछन् । देश विदेशको भ्रमणमा राष्ट्रको पैसा खर्च गर्छन् ।

प्रजातन्त्र पुनप्राप्तिपछिको राजनीतिक विकृतिलाई नै यस उपन्यासले चित्रण गरेको छ । नयाँ ‘सज्जनलोक पार्टी’ को स्थापना र त्यसको बढोत्तरीबाट सुरु भएको उपन्यासको कथानक अन्त्यमा मन्त्री कुकर्ममानले आत्महत्या गरेपछि समाप्त भएको छ । कथानकमा देश, काल र परिस्थितिको अन्विति राम्ररी मिलेको पाइन्छ ।

मन्त्रीको आफ्नै जिल्लाको भ्रमण पञ्चायत कालमा राजाको विकास क्षेत्रको भ्रमणसँग दाँज्न सकिने खालको हुन्छ । अफ्नो परिचयपत्र बनाउन नसकिरहेको एकजना बेसहारा केटो ‘पात्र’ पछि लावन्ती दिदी र कुकर्ममानको सहयोगले केन्द्रीय नेतृत्वसम्म पुग्छ । लावन्ती पनि सज्जन लोक पार्टीको केन्द्रीय नेतृत्वसम्म पुग्छे र मन्त्री कुकर्ममानको पृयपात्र बन्न सफल बन्छे । पार्टीभित्र पार्टीका कार्यकर्ताहरूको रजाइँ, जनताका दुःख जस्ताको तस्तै रहेको अवस्था, विद्यार्थी संगठन तथा अन्य भ्रातृ संगठनका मानिसहरूको चकचकी, महिलाहरूलाई माध्यम बनाएर राजनीतिक अभिष्ठ पूरा गर्ने गरेका अनगिन्ति घटना देखेर पात्र दिक्क बनिरहेको हुन्छ ।
यही बेला पार्टीकी प्रभावशाली नेतृ लावन्तीलाई झुण्डिएको अवस्थामा पाइयो । यो हत्या हो वा आत्महत्या कसैले केही भन्न सकेनन् । हत्याको आशंका भए पनि आत्महत्या हो भन्ने प्रमाणित गरियो । त्यसको केही दिनपछि मन्त्री कुकर्ममानले पनि त्यसैगरी झुण्डिएर आत्महत्या गरेको पाइयो । आर्यघाटको त्यो चिता उही मन्त्री कुकर्ममानको हो । यति भएर पनि उक्त पार्टीको मियो भएर काम गरेको कार्यकर्ता ‘पात्र’ भने बाँचेकै अवस्थामा रहृयो । पार्टीका विकृतिका विषयमा खुलेर विरोध गरेका कारण ऊ पनि मारिने हो कि भन्ने आशंका पाठकलाई हुँदाहुँदै पनि ऊ मर्दैन, बाँच्छ । यो नेपालको राजनीतिमा जति विकृति भए तापनि अझै केही सम्भावना र सम्भावना बोकेका मानिसहरू छन् है भन्ने सन्देश उपन्यासकारले छोडेको हुनसक्छ ।

२. पात्र वा चरित्र :
यस उपन्यासका पात्रहरू सबैजसो तृतीय पुरुष पात्रका रूपमा रहेका छन् कुनै पनि पात्र प्रथम पुरुषमा छैनन् । उपन्यासकारले कतै पनि आपूmलाई पात्र बनाउनुभएको छैन । पात्रहरू सबै प्रत्यक्ष पात्रका रूपमा देखा पर्छन् । अप्रत्यक्ष पात्रहरूको सन्दर्भ त्यति आएको छैन । धेरैजसो पात्रहरू उपन्यासमा खलपात्रका रूपमा आएको पाइन्छ । ढाँट्ने, छल्ने, अरूको शोषण र दमन गर्ने, भ्रष्टाचार गर्ने र आफू कसरी माथि पुगेर धन कमाउने भन्ने सबैको ध्याउन्न छ । राम्रा वा नायकीय पात्र भने कम छन् ।

उपन्यास पात्र बहुल छ । हुन त उपन्यास भनेकै पात्र बहुल विधा हो । त्यसकारण यस छोटो आलेखमा सबै पात्रलाई छुट्टाछुट्टै चिनाउन सम्भव छैन । त्यसैले समग्रता भनिएको हो । मूल पात्रका रूपमा लावन्ती, पात्र, कुकर्ममान अपकर्ममानहरू नै पर्छन् जसको भूमिका सुरुदेखि उपन्यासको अन्त्यसम्मै रहेको छ । मुख्य पात्रका रूपमा ‘पात्र’ नामको पात्र रहेको छ । सहायक पात्रहरू भने धेरै छन् र केही पात्रहरू नायकीय वा सकारात्मक भूमिकामा पनि छन् तर ती बोल्न नसक्ने खालका छन् ।

३. वातावरण वा परिवेश :
राजधानी वा कुनै अमूक जिल्लालाई कार्यपीठिका बनाएर यस उपन्यासको कथानक अगाडि बढेको छ । यस कारण कथाको स्थानका बारेमा अलमलमा पर्नुपर्दैन । समयका आधारमा पनि यस उपन्यासको कथानकले ओगटेको समय कुन कालखण्डको हो भनेर सोचिरहनु पर्दैन । समकालीन राजनीतिलाई नै यसले चित्रण गरेको छ । यस उपन्यासले समेटेको राजनीतिको समयको फासला वा दूरी धेरै फराकिलो छैन । प्रजातन्त्र पुनप्र्राप्तिपछिको राजनीतिक विकृतिलाई नै यसले चित्रण गरेको छ । नयाँ ‘सज्जनलोक पार्टी’को स्थापना र त्यसको बढोत्तरीबाट सुरु भएको उपन्यासको कथानक अन्त्यमा मन्त्री कुकर्ममानले आत्महत्या गरेपछि समाप्त भएको छ । त्यसकारण उपन्यासले सिर्जना गरेको कथानकमा देश, काल र परिस्थितिको अन्विति राम्ररी मिलेको पाइन्छ ।

४. भाषा/शैली :
उपन्यासको भाषाशैली सरल छ । सहज र बोधगम्य भाषा यस उपन्यासमा प्रयोग भएको छ । बरू कतै-कतै भावगाम्भीर्य हुन सक्छ तर प्रयोग भएका शब्दका कारण आशय नबुझेर घोत्लिनुपर्ने खालको भाषा उपन्यासमा प्रयोग भएको छैन । सरल शब्दको चयन भएको छ भने वाक्यहरू पनि छोटाछोटा भएका कारणले समेत उपन्यास भावसंप्रेषणमा सफल बन्न पुगेको छ । यो राजनीतिक विषयमा लेखिएको उपन्यास हो । राजनीति भन्नु पनि हाम्रो सामाजिकता नै हो । वर्तमान नेपाली समाज कतै न कतै राजनीतिसँग जोडिएकै हुन्छ । त्यही यथार्थलाई दृष्टिगत गरी उपन्यासमा राजनीतिक भाषाको प्रविष्टि हुनु स्वाभाविक हो ।

उपन्यासले पात्रका आधारमा तृतीय पुरुष पात्रशैली अपनाएको छ । सबै पात्र तृतीय पुरुषकै छन् जुन कुराको सन्दर्भ माथि पनि आइसकेको छ । प्रस्तुतिका आधारमा उपन्यासले चेतनप्रवाह तथा पूर्वदिप्ति दुवै शैली अपनाएको छ । कतै-कतै कुनै-कुनै पात्रको संस्मरण आएको छ । पछिको घटनालाई पहिले र पहिलेको घटनालाई पछि प्रस्तुत गरेर उपन्यासकारले यसलाई पूर्वदिप्ति पनि बनाउनुभएको छ । कथानक कतै रैखिक ढाचामा र कतै पूर्वदिप्तिमा अगाडि बढेर निश्चित बिन्दुमा पुगेर टुंगिएको छ ।

५. उद्देश्य वा सन्देश :
आख्यानमा लेखकले जुन विचार संप्रेषण गर्न चाहेको हुन्छ त्यो नै उद्देश्य हो । लेखकको उद्देश्य पाठकका लागि चाहिँ सन्देश बन्न जान्छ । ‘कालपात्र’ मा उपन्यासकार दाहालले नेपालको वर्तमान समयको राजनीतिक विकृति र विसंगति देखाउन चाहनुभएको छ । संसार प्रकृति हो । यहाँको हावा, पानी, घाम, जून, जीव, वनस्पति सबै प्रकृति हुन् । प्रकृतिबाट छनोट भएर आएका मानिस अरू प्राणीभन्दा सचेत भएका कारण प्रकृतिबाट केही परिमार्जित हुँदै वा सुसंस्कृत हुँदै संस्कृति निर्माण गरेका छन् । तर, संस्कृतिलाई समेत स्वार्थकेन्द्रित गरी त्यसलाई मानिसले विकृतितर्फ उन्मुख गराएको छ ।

समकालीन नेपाली राजनीतिको जुन विद्रुप चरित्र छ त्यसैको चित्रण हो यो उपन्यास । यसले यस्तो विसंगत राजनीतिको स्पष्ट चित्र उतारिदिएको छ । कुनै अमूक पार्टीको अमूक नेताप्रतिको कटाक्ष होइन यो । यो त समग्र राजनीति र नेताहरूप्रतिको लाक्षणिक प्रहार हो ।

ती विभिन्न क्षेत्रमध्ये राजनीति पनि एक हो र नेपालको पछिल्लो चरणको राजनीतिमा यस्ता अनगिन्ति विकृति थपिँदै गएका छन् । यस उपन्यासमा समाविष्ट कथानकले यही यथार्थलाई देखाउन चाहेको छ । उपन्यासकारको यही चाहना वा उद्देश्य हामी पाठकका लागि सन्देश बनेर आएको छ । अर्थात् राजनीतिक विसंगतिको चित्रण नै ‘कालपात्र’ उपन्यासको उद्देश्य हो र यस्तो राजनीतिक अवस्थाबाट मुक्त हुनुपर्छ भन्ने आसय उपन्यासले पाठकलाई दिन चाहेको सन्देश हो ।

शीर्षक :
यस उपन्यासको शीर्षक ‘कालपात्र’ राखिएको भए पनि वास्तवमा उपन्यासभित्र कुनै पनि कालपात्र नामको पात्र छैन । यो शीर्षकले पात्रको कर्मपद्धतिप्रति सांकेतिक रूपमा जनाउ दिएको छ । त्यस कारण उपन्यास पात्रप्रधान जस्तो देखिए तापनि पात्रप्रधान होइन । यो विषयप्रधान वा प्रवृत्तिप्रधान छ । यस शीर्षकले यस पुस्तकभित्रका केही पात्रहरू आफ्नै कारणले वा अर्काका कारणले पनि हुनसक्छ कालकवलित बन्न पुगेका छन् ।

मूलरूपमा लावन्ती दिदी र मन्त्री कुकर्ममान यस खालका पात्र छन् र अन्य कही प्रत्यक्ष पात्र र अप्रत्यक्ष पात्रहरूमा समेत यस प्रकारको नियति पाइन्छ । जसले गर्दा यो शीर्षक सार्थक बन्न पुगेको छ र पुस्तकको कथानकलाई यस शीर्षकले उठाउन सकेको छ । शीर्षक छोटो एक शब्दको भएका कारण छरितो र अर्थप्रधान बन्न पुगेको छ ।

निष्कर्ष :
देश र जनताका पक्षमा विद्रोहको अग्निज्वाला बलोस् भन्ने स्पष्ट सन्देश छ यो उपन्यासमा । उपन्यासकार दाहालको यो दोस्रो औपन्यासिक कृतिले यसैकारण फरक जीवनमूल्य खोज्ने प्रयास गरेको छ । यसअघि उहाँको ‘शान्ता’ उपन्यास आइसकेको छ र त्यसको अंग्रेजी संस्करणसमेत आएको छ । यस अर्थमा साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएका दाहाल उपन्यासमा समेत सिद्धहस्त हुनुहुन्छ भन्न गाह्रो छैन । उपन्यासमा औपन्यासिकता हुनुपर्छ र यसका लागि यसमा समावेश तत्वहरूको आवश्यकता हुन्छ जसले आख्यानलाई औपन्यासिक बनाउन सहयोग पुर्‍याउँछन् । यस उपन्यासमा यस्ता तत्व स्वाभाविक रूपमा समावेश भएका छन् जसको चर्चा माथि गरियो ।

उहाँको ‘शान्ता’ यथार्थमा आधारित उपन्यास थियो । त्यसमा समावेश कथानक र पात्रहरू यथार्थ थिए र कुनै कुनै अर्धयथार्थ जस्ता लाग्ने खालका भए पनि ती को हुन् भनेर प्रष्ट चिनिन्थे । त्यस अर्थमा केही समालोचकहरूले त्यसलाई अर्धउपन्यास वा अनुभवन्यास पनि भनेका थिए । यस ‘कालपात्र’ उपन्यासमा भने यस्तो स्थिति छैन । ‘कालपात्र’ दाहालको आफ्नो कथा होइन यो सबैको कथा हो । यो हाम्रो देशको राजनीतिको यथार्थ चित्रण हो र सामाजिक जीवनपद्धतिसमेत हो । किनभने हाम्रो समाज राजनीतिबाटै डोहोरिँदै आएको छ र राजनीति निरपेक्ष रहन सकेको छैन ।

समकालीन नेपाली राजनीतिको जुन विद्रुप चरित्र छ त्यसैको चित्रण हो यो । यसले यस्तो विसंगत राजनीतिको स्पष्ट चित्र उतारिदिएको छ । कुनै अमूक पार्टीको अमूक नेताप्रतिको कटाक्ष होइन यो । यो त समग्र राजनीति र नेताहरूप्रतिको लाक्षणिक प्रहार हो । साहित्यले राजनीतिमा जस्तो विरोधका लागि विरोधमात्र गर्दैन सुधार्न खोज्छ, सल्लाह सुझाव पनि दिन्छ, आशाका उज्यालाहरू पनि छोड्छ । यस उपन्यामा ‘पात्र’ नामको पात्रका माध्यमबाट उपन्यासकारले त्यसै गर्न चाहनुभएको छ ।

उपन्यास सबल छ र सफल पनि छ । एउटा फरक खालको उपन्यास उपन्यासकार दाहालबाट नेपाली साहित्यले प्राप्त गरेको छ । यसको थप सफलता हेर्न बाँकी नै छ । उपन्यासकार दाहाललाई हार्दिक बधाई तथा उपन्यासको सफलताको कामना । बहुमुखी व्यक्तित्व तथा प्रखर साहित्यकार दाहालबाट नेपाली साहित्यले अरू कृतिहरूको अपेक्षा गर्ने हक पनि राख्छ नै, उहाँलाई अग्रीम शुभकामना । समाप्त ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?