स्थानीय तहको आगामी बजेट : शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा

Read Time = 7 mins

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेका छन् । आइतबार अधिकांश महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाहरूले बजेट प्रस्तुत गरेका हुन् । अधिकांश स्थानीय तहले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएका छन् । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि छ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले बजेट प्रस्तुत गर्दै पुँजीगततर्फ चार अर्ब २१ लाख ४६ हजार र चालुतर्फ दुर्ई अर्ब ४९ करोड ८४ लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपांगमैत्री फुटपाथलगायत प्राथमिकतामा राखेको छ ।

त्यसैगरी बुटवल उपमहानगरपालिकाले पनि आर्थिक वर्ष २०८०/०८१ का लागि दुर्ई अर्ब ३६ करोड ५४ लाख बराबरको बजेट ल्याएको छ । आइतबार नगरसभा बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गर्नुभएको बजेटमा शिक्षा र स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, उद्योगलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो । बजेटमा उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरका रूपमा विकास गर्नेलगायतका कार्यक्रम समावेश छन् ।

त्यस्तै, रूपन्देहीको तिलोत्तमा नगरपालिकाले दुर्ई अर्ब ७३ करोड ८४ लाख ३९ हजार पाँच सय २९ रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख जागेश्वरदेवी चौधरीले नगरसभाको बैठकमा चालु खर्च एक अर्ब छ करोड २४ लाख ५० हजार र पुँजीगत खर्च एक अर्ब ६७ करोड ५९ लाख ८९ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाले ८२ करोड ९९ लाख ५० हजार बजेट ल्याएको छ । जसमा संघको समानीकरण अनुदानतर्फ १७ करोड ३१ लाख, सशर्त अनुदानतर्फ ३४ करोड ३२ लाख राजस्व बाँडफाँटतर्फ १४ करोड ४१ लाख ९७ हजार र समपूरक अनुदानतर्फ एक करोड ३० लाखको अनुमान गरिएको छ । प्रदेश सरकार समानीकरण अनुदानतर्फ एक करोड ३१ लाख ६७ हजार, सशर्त अनुदान एक करोड ११ लाख ५० हजार, राजस्व बाँडफाँटतर्फ ७८ लाख ३४ हजार रहेको छ । आन्तरिक स्रोत तीन करोड ४६ लाख ३७ हजार, प्रदेश सरकारबाट समपूरक अनुदान एक करोड ५० लाख रहेको छ ।

धनगढी उपमहानगरपालिकाले एक अर्ब ९३ करोड आठ लाख २४ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगरसभा बैठकमा उपप्रमुख कन्दकला रानाले बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजीगत खर्चतर्फ ७८ करोड ६५ लाख २७ हजार विनियोजन गरिएको जानकारी दिनुभएको हो ।
बाँकेको नरैनापुर गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सामाजिक विकास र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । नरैनापुर ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले नीति तथा कार्यक्रमलाई साकार पार्न आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि कुल ४८ करोड ६२ लाख दुई हजार आठ सय ७३ रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि पाँच करोड ७० लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि तीन करोड ३० लाख, पूर्वाधार विकास क्षेत्रका लागि १० करोड, सामाजिक विकास क्षेत्रका लागि २० करोड, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि पाँच करोड र संघ र प्रदेशबाट प्राप्त विभिन्न योजनाअन्तर्गत समपूरक कोषका लागि दुई करोड विनियोजन गरिएको छ ।

दाङका १० वटै स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेका छन् । घोराही र तुलसीपुर दुर्ई उपमहानगरपालिकासहित सबै स्थानीय तहले आइतबार बजेट प्रस्तुत गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाले एक अर्ब ७९ करोडको बजेट ल्याएको छ । गत वर्ष ३० करोड १२ लाख आन्तरिक स्रोतको लक्ष्य राखेको तुलसीपुर उपमहानगरपालिकाले यसपटक २१ करोडमात्रै लक्ष्य राखेको छ । तुलसीपुरले कृषि, पशु र पर्यटन विकासका लागि सरकारी निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धि र वित्तीय क्षेत्रको सुधार गर्दै रोजगारीलाई प्राथमिकतामा राखेको छ ।

घोराही उपमहानगरपालिकाले सामाजिक विकास, कृषि र रोजगारलाई प्राथमिकतामा राख्दै दुई अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ । कुल बजेटमध्ये चालुतर्फ एक अर्ब २८ करोड तीन लाख, पुँजीगततर्फ ८७ करोड ५१ लख ८३ हजार रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?