गाउँपालिका अध्यक्षले गरेका अराजक गतिविधि बारे बोल्दा बैठकमै कुटिए कार्यपालिका सदस्य

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

कालीकोट । गाउँ कार्यपालिकाको बैठक चलिरहेको बेला गाउँपालिकाले गरेको अनियमितताको कुरा उठाउँदा वडा अध्यक्ष लगाएत ६ जनाले कार्यपालीका सदस्य माथि कुटपिट गरेको घटना बाहीरिएको छ ।

असार ७ गतेयता चलिरहेको कार्यपालिकाको बैठकमा गाउँपालिकाले गरेको कर्मचारी नियुक्तीमा, अनियमितता र वडाकार्यलयबाट हुने सेवा सुविधाको विषयमा कुरा उठाउँदा कार्यपालिका सदस्यमाथि कुटपिट भएको घटना बाहीरिएको हो ।

कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका-१ का वडा सदस्य भरत बिकले गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी (महेश) र निमित्त प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर बिष्ट र पालिकाका सेटिङवाला कर्मचारीहरुको मिलोमत्तोमा चुनाव भएको १ वर्षसम्म एकलौटी मनोमानी तरिकाले स्थानीय सरकार चलाएको र पालिका अध्यक्षले आफ्ना आफन्तलाई बिना बिज्ञापन भर्ती गरेको कुरा उठाएपछि कार्यपालिका सदस्य तथा वडा नम्बर-१ का वडा सदस्य भरत बिक माथि कुटपिट भएको हो ।

गाउँपालिकाले गरेका अनियमितता र आफन्तलाई गाउँपालिकामा भर्ती गरेको विषयमा आफूले कुरा उठाउँदा वडा नम्बर-१ अध्यक्ष बैकुण्ठराज गिरी, वडानम्बर-२ का वडा अध्यक्ष बशन्त बुढा, लेखापाल परेक बुढा, शिक्षा शाखा प्रमुख मोहनबीर धामी, प्रशासन शाखा प्रमुख धिरेन्द्र धामीलगाएतले सदस्य बिकलाई कुटपिट गरेका हुन् ।

गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी (महेश) को निर्देशनमा अन्य वडा अध्यक्ष र पालिकाका कर्मचारीले आफूमाथि कुटपिट गरेको पीडित बिकले बताउनुभएको छ । गाउँ कार्यपालिकाको बैठक बसिरहेको समयमा फेसबुकमा धेरै गाउँपालिकाको विषयमा लेख्ने, अराजक गतिविधि गरेको भन्दै आफूमाथि कुटपिट भएको उहाँले हिमालय टाइम्ससँग बताउनुभएको हो ।

गाउँपालिका अध्यक्षले आफ्नो बुहारीलाई नियुक्ती गर्ने, पार्टीका कार्यकर्ताको भर्ती केन्द्र जस्तो बनाएको विषयमा कुरा उठाउँदा आफूलाई सबै लागेर कुटपिट गरेको बिकले जानकारी दिनुभयो ।

वडा नम्बर-१ अध्यक्षका बैकुण्ठराज गिरी, वडा नम्बर-२ का अध्यक्ष बशन्त बुढाले अगाडि पछाडि आएर कुटपिट गर्दा मुखमा चोट लाग्नुका साथै कपडा च्याती घाइते बनाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अहिले पनि शरिरमा धेरै चोटपटक लागेको छ, मलाई दलित भनेर तथानाम गाली बेइज्जतीका शब्दहरु प्रयोग गर्दै कुटपिट गरेका छन्’

गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी (महेश) ले गाउँपालिका र वडाको समिक्षामा वडा नम्बर-१ का अध्यक्षबीच हात हालाहाल भएको र अरु सबैले शान्त बनाएको प्रतिक्रिया दिनुभएको छ । गाउँपालिकाको विषयमा नराम्रो नलेख अराजक नबन भन्ने विषयमा कुरा उठाउदा यस्तो समस्या आएको उहाँको भनाइ छ । उहाँले सबै वडा अध्यक्षहरुले गाउँपालिकाको विषयमा बोल्ने गरेको कुरा गाउँकार्यपालिकामा समिक्षा गर्न खोज्दा हात हालाहाल भएको र वडा अध्यक्षहरुले कुटपिट गरेको प्रतिक्रिया दिनुभएको हो ।

तर पीडित बिकले आफू दलित भएकै कारण आफूलाई गाउँपालिकाका जनप्रतिनिधिहरुले होच्याउँदै आइरहेको बताउनुभएको छ । मैले गाउँपालिका अध्यक्षले गरेका अनियमितताका कुरा उठाउँदा सबै मै माथि खनिए त्यो ठाउँमा अन्य ब्यक्ति हुन्थ्यो भने कुरा मिलाउनतीर लाग्थे तर मैले अराजक गतिविधिका बारेमा बोल्दा र सामाजिक सञ्जालमा लेखेको भन्दै कुटपिट गर्न लगाएको उहाँको आरोप छ ।

यसैबीच गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले गरेको अराजक गतिविधिलाई सच्याउन माग गर्दै गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सहित ५ जना वडा अध्यक्ष र ५ जना कार्यपालिका सदस्यहरुले २०८० बैशाख २८ गते बिज्ञप्ति निकालेका थिए । तर पटकपटकको अनुरोधले गाउँपालिका अध्यक्ष केसी नसच्चिएपछि अध्यक्ष केसीको आलोचना हुँदै आइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?