बयासी वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात

रासस
Read Time = 4 mins

बेनी । मङ्गला गाउँपालिका-१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आउनुभएको छ । उमेरले वृद्धावस्थामा पुर्‍याएपनि पनि उहाँको दैनिकी भने सक्रिय छ । बुनाईसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आउनुभएकी उहाँले बुन्नुभएको गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने गरेको छ ।

परम्परागत तानमा कपडा बुन्ने सीपलाई व्यावसायिक बनाउनुभएकी पुनले हरेक दिन गलैँचा, झोला, गलबन्दी, स्वीटरलगायतका कपडा बुन्ने गर्नुहुन्छ । आफूले उत्पादन गरेका गलैँचा अमेरिकामा समेत निर्यात हुने गरेको उहाँले जानकारी दिनुभयो । “अमेरिकाबाट गलैँचा बुनिदिन धेरैले फोनमा खबर गर्नुहुन्छ, स्वदेश आएको समयमा यहाँ आएर उपहारका रूपमा गलैँचा लैजाने गर्छन्”, उहाँले भन्नुभयो ।

एउटा गलैँचा बुन्न १५ दिनसम्म लाग्ने र त्यसलाई रु सात हजारसम्ममा बिक्री हुने गरेको वृद्धा पुनले बताउनुभयो । फुर्सदको समयलाई बुनाइमा लगाउँदै आउनुभएकी उहाँले आफ्नो यसै पेसाबाट जीविकोपार्जन गर्दै आउनुभएको छ । गलैँचा बिक्री गरेरै एक तोला सुन खरिद गरेर गरगहना बनाएको पुनले बताउनुभयो । “मेरो अरु स्रोत छैन, आफ्नै मेहनतले दैनिकी चलाएको छु, आफूलाई आवश्यक पर्ने सबै खर्च आफ्नै पौरखबाट जुटाउने गरेको छु”, उहाँले थप्नुभयो ।

झाेला, गलबन्दी, स्वीटरलगायतका सामान घरगाउँमै बिक्री हुने गरेको छ । गलैँचा भने गाउँमा भन्दा बाहिर धेरै बिक्री हुने वृद्धा पुनको भनाइ छ । तानमा धागो बुनेर परम्परागत सीप र प्रविधिमार्फत बनाइने गलैँचा बाक्लो र आकर्षक हुने भएकाले विदेशसम्म निर्यात हुने गरेको हो ।

उहाँले आफ्नो सीपको व्यावसायीकरणसँगै स्थानीय आमा समूहको समेत नेतृत्व गर्दै आउनुभएको छ । समाजमा ज्येष्ठ नागरिकले पनि सामाजिक सङ्घसंस्थाको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण वृद्धा पुन बन्नुभएको छ । विसं २०५२ मा स्थापना भएको स्थानीय गोदावारी आमा समूहलाई उहाँले विगत २८ वर्षदेखि नेतृत्व गर्दै आउनुभएको छ ।

गाउँमै भए पनि आमा समूहको पक्की भवन निर्माण गर्ने, समूहकै तरकारी खेती गर्ने, पुर्ख्याैली संरक्षणमा अगुवाइ गर्ने उहाँको हिम्मत अनुशरणयोग्य छ । गोदावारी आमा समूहले आफ्नै पक्की भवनसमेत निर्माण गरिरहेको छ । पुन सोही भवनमा एकलरूपमा बसोबास गर्दै आउनुभएको छ । गोदावारी आमा समूहले भर्जुलामा वृक्षरोपण, गाउँ सरसफाइलगायतका गतिविधिसमेत गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?