‘हज यात्रामा अपेक्षाभन्दा कम सहभागी’

Read Time = 3 mins

मक्का । यस वर्षको वार्षिक हज यात्रामा १८ लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्, साउदी अरबको तथ्यांक कार्यालयले मंगलबार जनाएको छ । विश्वका सबैभन्दा ठूलो धार्मिक जमघटमध्येको एक यस पर्वका अवसरमा यस वर्षको अनुष्ठानमा २५ लाखभन्दा बढी तीर्थयात्री आउने अनुमान साउदी अधिकारीहरूले गरेका थिए । तर, सरकारी अल एखबारिया टिभीले सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार सन् २०१९ मा सहभागी भएका २५ लाख उपासकको तुलनामा यो उपस्थिति अपेक्षा गरेभन्दा अझै निकै कम हो ।

‘यो हजको अवसरमा हजयात्रीहरूको कूल संख्या महिला पुरुष गरी १८ लाख ४५ हजार ४५ रहेका छन्’, तथ्यांक कार्यालयले जनाएको छ । कोभिड-१९ को महामारीपछि अघिल्लो वर्ष यो संख्या १० लाखमा सीमित भएको थियो । यस वर्षको सहभागिता अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि देखिए पनि साउदी अधिकारीले यस वर्ष सन् २०१९ को सहभागिताको हाराहारीमा हजयात्री साउदी अरब पुग्ने प्रक्षेपण गरेका थिए ।

सन् २०२० मा कोरोना भाइरसको महामारी उत्कर्षमा पुगेको बेला १० हजारलाई मात्र अनुमति दिइएको थियो भने सन् २०२१ मा यो संख्यालाई बढाएर ५९ हजार पुर्‍यायएको थियो । साउदी अरेबियाले प्रत्येक देशअनुसार हज कोटा तयार गर्दछ । इण्डोनेसियामा सबैभन्दा बढी कोटा छ । त्यसपछि पाकिस्तान, भारत, बंगलादेश, नाइजेरियाको नम्बर आउँछ । यसबाहेक इरान, टर्की, इजिप्ट, इथियोपियालगायत देशबाट हजयात्री आउने गर्दछन् ।

हज इस्लामको पाँच कर्तव्यमध्ये एक हो । बाँकी चार कर्तव्य कलमा, रोजा, नमाज र जकात हुन् । धार्मिक मान्यता अनुसार शारीरिक र आर्थिक रूपमा सक्षम प्रत्येक मुस्लिमले जीवनमा कम्तीमा एकपटक यो कर्तव्य पूरा गर्नुपर्ने दायित्व हुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?