‘कालजयी सिर्जनाले नै पछिसम्म श्रोता/दर्शकको ढुकढुकीमा बास गर्दछ’

गीता अधिकारी
Read Time = 10 mins

विगत दुई दशकदेखि निरन्तर गीतसंगीतमा आफ्ना क्रियशनमार्फत श्रोता/दर्शकको मन जित्न सफल नाम हो अनुप रेग्मी । हालै उहाँको स्वरमा रहेको गीत ‘एक कदम’ श्रोता/दर्शकमाझ आएको छ । यो गीतले यतिबेला नेपाली सांगीतिक क्षेत्रमा राम्रै चर्चा पाइरहेको छ । एक सयभन्दा बढी सिर्जना श्रोता/दर्शकमाझ ल्याउनुभएका रेग्मीका ‘चन्द्र मोहनी’, ‘न खोज टुटेको सम्बन्ध’ ‘सपनामा उसलाई देख्दा’, ‘ए चरी’, ‘यो मनदंग भो’ जस्ता गीत लोकप्रिय छन् । त्यसो त उहाँका सबै गीतले श्रोता/दर्शकको माया पाउन सफल भएका छन् । मिहिनेत गरेर गीतसंगीतसम्बन्धी सम्पूर्ण अवयवहरूको ज्ञान हासिल गरेर, साधना गरेर आउनेका लागि यो क्षेत्र एकदम राम्रो रहेको धारणा राख्नुहुने रेग्मी ‘छिनमै ‘भइरल’ मात्र हुन्छु भनेर आउनेका लागि त त्यस्तै हो’ भन्नुहुन्छ । कालजयी सिर्जनाले नै पछिसम्म श्रोता/दर्शकको ढुकढुकीमा बास गर्दछ भन्नुहुने गायक/संगीतकार अनुप रेग्मीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अशंः-

यतिबेला के गर्दै हुनुहुन्छ ?
म गीतसंगीतमै व्यस्त छु । अझै केही गीतहरूमा संगीत भर्ने र स्वर दिने काम भइरहेको छ । गायक संगीतकार भएको नाताले गीतसंगीतकै कर्महरूमा आफूलाई तल्लिन राख्दै आएको छु ।

यहाँको हालै ‘एक कदम’ गीत र भिडियो श्रोता/दर्शकमाझ आएको छ, कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
यहाँले भने जस्तै हालै मेरो र मिलन नेवारको स्वरमा रहेको गीत ‘एक कदम’ श्रोता/दर्शकमाझ आएको छ । यसमा कमला न्यौपानेको शब्द र येदिन गजमेरको संगीत छ । ‘एक कदम’मा स्मारिका ढकाल र प्राञ्जल न्यौपानेको अभिनय देख्न सकिन्छ । भिडिओलाई केशवराज भट्टले निर्देशन गर्नुभएको हो । रूपम सिंह गुरुङको एरेञ्ज रहेको गीतको छायांकन मानकृष्ण मर्हजनले गर्नुभएको हो भने भिडियोको सम्पादन बान्दे प्रसादले गर्नुभएको हो । भिडिओको कलरिङ राजेन्द्र मोक्तानले गर्नुभएको हो भने गीतको रेकडिङ गुञ्जन रेकडिङ स्टुडियो अनामनगरमा भएको हो । यो गीतको प्रतिक्रिया मैले सोचेभन्दा राम्रो पाएको छु । जातिले गीत सुन्नु भाको छ, हेर्नुभाको छ एकदम राम्रो प्रतिक्रिया दिनुभएको छ । श्रोता/दर्शकको प्रतिक्रियाले हामीलाई अझै झन् पुलकित बनाएको छ ।

गीतसंगीतको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो, अहिले फर्किएर हेर्दा कस्तो पाउनुहुन्छ ?
म सानैदेखि नै गीतसंगीत भनेपछि हुरुक्कै हुन्थे । गीत सुन्योकी गाई हाल्ने बानि थियो मेरो । यसै पनि गुनगुनाइ रहेन्थे । आफ्ना हरेक क्रियाकलापमा मैले गीतसंगीतलाई जोडने गर्थे । म बढ्दै जाँदा यो क्षेत्रमा हेलिँदै गए । पछि कहिल्यै छुटन नसक्ने नाता यसमा जोडियो ।  अहिले फर्केर हेर्दा मलाई के लाग्छ भने सायद म गीतसंगीतकै लागि जन्मिएको हुँ । त्यसैले त म सानो अवोध छदा नै यसतर्फ मेरो विशेष लगाव थियो । अहिले फर्केर हेर्दा आफैंले आफैंलाई दंग पाउछु । यो क्षेत्रको मेरो लगाव, श्रोता/दर्शकको मायाले मन त्यसै फुरुङ हुन्छ ।

लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ, कस्तो छ यो क्षेत्र ?
म दुई दशकदेखि निरन्तर यो क्षेत्रमा छु । यो बीचमा मैले अनेक आरोह र अवरोह देखेको, बुझेको र भोगेको छु । मलाई के लाग्छ भने यो क्षेत्र राम्रो गर्नेका लागि एकदम राम्रो छ । मिहिनेत गरेर गीतसंगीतसम्बन्धी सम्पूर्ण अवयवहरूको ज्ञान हासिल गरेर, साधना गरेर आउनेका लागि एकदम राम्रो छ । छिनमै ‘भइरल’ मात्र हुन्छु भनेर आउनेका लागि त त्यस्तै हो । कालजयी सिर्जनाले नै पछिसम्म श्रोता/दर्शकको ढुकढुकीमा बास गर्दछ भन्ने मान्यता राख्दछु ।

यहाँले धेरैले गीत गाउनुभयो र संगीत भर्नुभएको छ, कुन गीतले अनुप रेग्मी भनेर चिनायो भन्ने लाग्छ, यहाँको पहिलो औपचारिक सिर्जना कुन थियो होला ?
यो दुई दशकको अवधिमा धेरै गीतमा स्वर दिइयो र संगीत भर्ने काम भयो । मलाई के लाग्छ भने हरेक सर्जकलाई आफ्ना सबै सिर्जना उत्तिकै महत्वपूर्ण लाग्छन् । फेरि पनि जहिल्यै मनमा रहिरहने विषय भनेको के हो भने अझै राम्रो गर्न पाए हुन्थ्यो भन्ने हो । एउटा असल सर्जकले हरेक सिर्जनमा आफ्नो वेष्ट दिने प्रयास गरेको हुन्छ । मेरो पहिलो एल्बम ‘श्रेय’ थियो । २०६५ सालमा सार्वजनिक भएको यो एल्बमको ‘चन्द्र मोहनी’ भन्ने गीतले नै मलाई गीतसंगीत क्षेत्रमा चिनायो भन्ने लाग्छ ।

यहाँले गायन र संगीत दुवै क्षेत्रको सगरमाथा चुम्न सफल हुनुभएको छ, आफूलाई चिनाउनुपर्दा या रोज्नुपर्दा कुन भनेर चिनाउनु हुन्छ र रोज्नुहुन्छ ?
मेरा लागि यो एकदमै गाह्रो प्रश्न हो तपाईंको । कुनै एकलाई रोज्न भन्नुभयो भने त्यो मेरा लागि एकदमै गाह्रो काम हो । म दुवैलाई उतिकै प्राथमिकतामा राखेर आफ्ना सिर्जना श्रोता/दर्शकमाझ पस्किरहेको हुन्छु । फेरि पनि भन्नु पर्दा पहिला त म गायक नै हो । एक गायकले संगीत पनि गर्न जान्यो भने सुनमा सुगन्ध हुन्छ भन्ने मेरो मान्यता छ र आफूलाई त्यसै अनुसार अघि बढाइरहेको छु । त्यसैले गायक र संगीतकार दुवै ।

यहाँका हालसम्म श्रोता/दर्शकमाझ कति जति गीत आए होलान्, केहीको नाम लिनुपर्दा ?
गाउन त धेरै गाइयो । संख्या भन्नु पर्दा एक सयभन्दा माथि पुग्यो होला । ठ्याक्कै यत्ति भन्ने छैन । केहीको नाम लिनुपर्दा ‘चन्द्र मोहनी’, ‘न खोज टुटेको सम्बन्ध’ ‘सपनामा उसलाई देख्दा’, ‘ए चरी’, ‘यो मनदंग भो’लगायत थुप्रै छन् ।

गायक हुनलाई नभई नहुने कुरा के हो ?
मुख्य कुरा त स्वर राम्रो हुनुपर्‍यो । त्यसपछि लगनशील र धैर्यता भन्ने चिज नभई हुँदैन भन्ने लाग्छ ।

यो क्षेत्रमा लागेर के पाए के गुमाए जस्तो लाग्छ ?
पाउनु र गुमाउनुभन्दा पनि आत्म सन्तुष्टि भनेको सबैभन्दा ठूलो कुरा हो । मैले आफैंले रोजेको क्षेत्र हो । गुमाए भन्दानी गीतसंगीत क्षेत्रबाट धेरै कुरा पाएको छु मैले ।

यहाँको नयाँ सांगीतिक कोशेली केही आउँदै छ कि ?
सर्जक गीतकार संगीतकार येदिन गजमेरको शब्द संगीतमा तेस्रो एल्बमको तयारी भइरहेको छ यतिबेला । साथै, गीतकार साहित्यकार कमला न्यौपानेको शब्द संगीतमा अरू गीतको तयारी भइरहेको छ । यस सँगसँगै भिडियोको पनि तयारी भइरहेको छ । विभिन्न कलेक्सन एल्बममा संगीतकारको रूपमा पनि कार्य गरिरहेको छु । यी सबै एकपछि अर्को श्रोता/दर्शकमाझ आउँदैछन् ।

अन्त्यमा,
नेपाली गीतसंगीतलाई माया गर्ने र मलाई गायक संगीतकारको रुपमा चिन्ने सम्पूर्ण नेपाली गीत संगीत सुन्ने श्रोता/दर्शकलाई यहाँको यो लोकप्रिय सञ्चारमाध्यमबाट हार्दिक आभार व्यक्त गर्दछु । यहाँहरूको यो साथ, माया सधैं रहिरहोस् भन्ने अपेक्षा गर्दछु । यो बसाई र सम्वादका लागि तपाईं र हिमालय टाइम्सलाई विशेष धन्यवाद भन्न चाहन्छु । जय गीत जय संगीत ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?