अहिले विचारबिनाका पार्टीहरूको लहर बढे पनि सफल हुँदैनन् : ओली

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचारबिनाका पार्टीहरूको लहर चलेको बताउनुभएको छ । मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा उहाँले राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचार नचाहिने पार्टीहरूको लहर चलेको बताउनुभएको हो । उहाँले भन्नुभयोे, ‘राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन् । अहिले एउटा लहर चलेको छ, विचार नचाहिने, बिनाविचार हामी आयौँ भन्ने लहर चलेको छ ।’

राजनीतिक दल र नेताहरूले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको उहाँको भनाइ छ । आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपार्टीको अन्त्य हुँदै गएकोमा उहाँले गुनासो गर्नुभयो । ‘योगदान बिर्सिए हुन्छ, कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ? कसलाई फुर्सद छ हाम्रा पूर्वजका योगदान सम्झिने, आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने ? महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने ? भन्ने खालका विचारहरू पनि आज सुनिन्छन्,’ उहाँले भन्नुभयो, ‘तर बिना इतिहास समाज यहाँ आएको छैन । धेरै उत्तारचढावबाट समाज यहाँसम्म आइपुगेको हो । आज पनि समाज अनेक प्रकारका रस्साकस्सीका बीचबाट अघि बढेको छ । यस रस्साकस्सी बीचबाट समाज कसरी अघि बढाउने भन्ने सन्दर्भमा जानपर्ने छ ।’ अध्यक्ष ओलीले मौलिकता बिनाको आन्दोलनहरू सफल नहुने पनि बताउनुभयो ।

‘जलहरीमा खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित होइन’
एमाले अध्यक्ष ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीको विषयमा भइरहेको विवाद आफूसँग सम्बन्धित नभएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले प्रधानमन्त्रीको काम बजेट दिने मात्रै भएको प्रतिक्रिया दिनुभयो । ‘मैले त पशुपति विकास कोषलाई पैसा दिने मात्रै हो । अरू काम उनीहरूले कस्तो गरे, के गरे मसँग सम्बन्धित विषय होइन । खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित विषय होइन नि’, उहाँले भन्नुभयो । ओलीले शिलान्यास, उद्घाटन गर्नेको नाम लेख्ने चलन सबैतिर भएकाले जलहरीमा आफ्नो नाम लेखिनु स्वाभाविकै भएको बताउनुभयो । पहिले ९९.९९ प्रतिशत सांसदको समर्थनमा बजेट पारित हुने गरेकोमा अहिले ५३ प्रतिशतले मात्रै पारित भएको भन्दै ओलीले वर्तमान सरकारले संसद्मा आफ्नो मत गुमाउँदै गएको दाबी गर्नुभयो । तर, यो सरकारलाई विस्थापन गर्ने प्रयासमा नलागेको उहाँको भनाइ छ । नयाँ गठबन्धनका लागि एमाले र कांग्रेसका नेताहरूले प्रयास गरिरहेका छन् भनिन्छ नि ? भन्ने प्रश्नमा ओलीले भन्नुभयो, ‘मैले पनि तपाईंहरूबाटै थाहा पाएँ ।’ उहाँले भ्रष्टाचारका पुराना फाइलहरू खुल्नु नियमित प्रक्रिया भएको उल्लेख गर्नुभयो । ‘यो सरकारले प्रतिक्रिया दिन लायक कुनै काम गरेको छैन,’ उहाँले भन्नुभयोे, ‘स्वार्थले बनेको गठबन्धन हो । स्वार्थ फुटेपछि सक्किहाल्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?