समाजवादको उच्चतम परिभाषा ‘सर्वे भवन्तु सुखिन’ हो : कमल थापा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरुले भन्ने गरेको समाजवादको उच्चतम परिभाषा सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा पार्टीले गरेको राप्रपा नेपालको हिन्दुराष्ट्रः अवधारणा र औचित्य अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलहरुले अहिले भन्ने गरेको समाजवाद वैदिक कालमा नै व्याख्या गरिसकिएको बताउनुभएको हो । उहाँले सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया भन्दा समाजवादको उच्चतम र उत्कृष्ट परिभाषा अरु हुनै नसक्ने दाबी गर्नुभयो ।

उहाँले सबै सुखी हुन्, सबै समान हुन्, कोही पनि दुःखी र रोगी नहुन् भन्नेकुरा वैदिक कालमा नै शास्त्रले व्याख्या गरिसकेकाले अहिलेका राजनीतिक दलहरु र संविधानमा लेखिरहनुको अर्थ नरहेको जिकिर गर्नुभयो । उहाँले प्रजातान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि पनि नेपाल हिन्दुराष्ट्र हुनुपर्ने बताउनु भयो । उहाँले हिन्दु राष्ट्रका कुरा गर्दा अहिलेका आधुनिक कुरालाई वहिष्कृत गर्ने नभइ त्यसलाई पनि संरक्षण गरेर आर्थिक समृद्धिको दिशामा जान सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो सनातन संस्कृतिमा प्रजातान्त्रिक मूल्य र मान्यता छ । त्यसको संरक्षणका निमित्त पनि नेपाल हिन्दुराष्ट्र हुनुपर्छ । सामाजिक समन्वय, नैतिक मूल्य, उदार आर्थिक मान्यता, यो उदार आर्थिक मान्यता कतिपयले यो आधुनिक विश्वको उपलब्धिको रुपमा लिएका छन् । प्रजातन्त्र, डेमोक्रेसी र लिबरल इकोनोमीलाई एक अर्काका परिपूरकका रुपमा लिइरहेका छन् । तर उदार आर्थिक मान्यता, समृद्धिको जुन कुरा छ, आर्थिक समृद्धिको कुरा मैले गरेको छु, त्यो समृद्धिको क्रममा अहिलेको लिबर इकोनोमीको आत्मा भनेको इण्टुभिजुअल फ्रिडम हो, त्यो इण्टुभिजुअल फ्रिडमको चर्चा त वैदिक कालमै भनेको छ । उपनिषद्हरुमा छ । हिन्दु राष्ट्रका कुरा गर्दा अहिलेका आधुनिक कुरालाई वहिष्कृत गर्ने होइन । त्यसलाई पनि हामीले संरक्षण गरेर आर्थिक समृद्धिको दिशामा जान सक्छौँ । वसुधैव कुटुम्बकम धेरै चर्चा भइसकेको विषय हो । सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया । आजकाल अधिकांश राजनीतिक पार्टीहरु समाजवाद भन्छन् । हुँदा हुँदा हाम्रो संविधानमा नै समाजवादउन्मुख लेखिएको छ, त्यो आवश्यक नै थिएन । सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया । सबै सुखी हुन्, कोही दुःखी नहुन्, कसैले दुःख नपाओस् भन्ने मान्यता नै हाम्रो वैदिक मान्यता हो । यही हो समाजवाद भनेको । जहाँ समानता हुन्छ । समाजवादको उच्चतम परिभाषा भनेकै सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया हो । यो भन्दा अर्को उच्चतम, उत्कृष्ट परिभाषा हुनै सक्दैन ।’

अध्यक्ष उदार आर्थिक मान्यतालाई उपलब्धिको रुपमा लिने गरेको भएपनि यो कुरा वैदिक कालमा नै चर्चा भइसकेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?