निलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा

Read Time = 5 mins

म्याग्दी । म्याग्दीको नारच्याङमा १६ अर्बको लागतमा निर्माणाधीन एक सय नौ मेगावाटका दुई जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको निलगिरि पहिलो र ७१ मेगावाटको निलगिरि दोस्रो गरी एक सय नौ मेगावाटको निलगिरि जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । आयोजनाका आवासीय इञ्जिनियर रत्न बमजन तामाङका अनुसार असार दोस्रो सातासम्म दुवै जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

निलगिरि खोला हाइड्रोपावरले चार वर्षअघि एकैसाथ निजी क्षेत्रको लगानीबाट दुवै आयोजनाको निर्माण कार्य सुरु गरेको थियो । यो जिल्लामै ठूलो आयोजना हो । कठिन भूगोलका अक्करे पहाड छिचोलेर आयोजनाका संरचना निर्माण भएका छन् । आयोजनाका अनुसार दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युत्गृह निर्माणको काम सकिएको छ ।

निलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार दुई सय मिटर सुरुङ खन्ने काम सकिएर ढलानको काम थालिएको आयोजनाका आवासीय इञ्जिनियर तामाङले जानकारी दिनुभयो । पेनस्टक टनेल खन्ने काम सकिएर पहिलोको आठ सय मिटर र दोस्रोको १५ सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको तामाङले बताउनुभयो ।

तामाङका अनुसार निलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानी बाँध बनाएर निलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । निलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण गरिएको छ । क्यासकेडको विद्युत्गृहदेखि निलगिरि पहिलोको बाँध हुमखोलासम्म १४ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ ।

करिब १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । निलगिरिखोलाबाट उत्पादन भएको विद्युत् २२० केभिए क्षमताको दाना सव-स्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ । छोटेपा-दोबिल्ला हुँदै दाना सव-स्टेसन जोड्ने ८.५ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माणका लागि २४ वटामध्ये २३ टावर निर्माण गरी तार तान्ने काम सकिएको आयोजनाले जनाएको छ । दुवै आयोजनाका लागि निर्माण गरिने विद्युत्गृहको सिभिल स्टक्चरको काम सकिएर इलोक्ट्रो मेकानिकलको काम थालिएको छ ।

भौगोलिक विकटताका बाबजुद पनि आयोजना निर्माणले तीव्रता पाएको तामाङले बताउनुभयो । आगामी छ महिनाभित्रमा दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ । आयोजनामा अहिले प्राविधिक जनशक्ति र मजदुर गरेर करिब पाँच सय जना परिचालन भएका छन् ।

यी दुई आयोजना नारच्याङको दुर्गम भेगमा पर्छन् । कठिन भिरपहरा छिचोलेर आयोजना निर्माणस्थलसम्म पुग्न सडक निर्माण गरिएको छ । तामाङले भन्नुभयो, ‘हिमालको फेदीमा आयोजना निर्माण गर्नु हाम्रासामु ठूलो चुनौती थियो तर हामीले सबै चुनौती र समस्यासँग जुधेर आयोजना निर्माण करिब अन्तिम चरणमा पु¥याउन सफल भएका छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?