शहरलाई व्यवस्थित बनाउन नसक्नुको कारण फोहोर व्यवस्थापन हो : मन्त्री गुरुङ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले शहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन रहेको बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले शहर व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन भएको बताउनुभएको हो । उहाँले शहर व्यवस्थित बनाउन नागरिकहरु आफैँ सचेत बन्नुपर्ने बताउनु भयो । उहाँले स्थानीय तहसँग समन्वयकारी भुमिका निर्वाह हुन नसक्दा पनि शहर व्यवस्थापन चुनौति बनिरहेको बताउनु भयो ।

उहाँलै भन्नुभयो, ‘शहर एकदमै राम्रो होस् जहाँ तपाईहरुले परिकल्पना गरेको भन्दा पनि आहा भन्ने शहर होस् भनेर लागेको छ । तर त्यो शहरलाई व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापनको भइरहेको छ । हामी सबै जना कुरा गर्दा सहजै गर्छौं । हामी विदेश जाँदा यहीँ देखि टिस्यु पेपर किनेर, फोहोर भएपछि राख्छौँ तर नेपालमा एयरपोर्टमा आउनेबित्तिकै फालेर हिँड्न थाल्छौँ । यसमा नागरिक नै हामी सचेत हुनुपर्छ । स्थानीय तहसँग समन्वयकारी भुमिका निर्वाह हुन सकेको छैन ।’

मन्त्री गुरुङले उद्देश्य र थालनीको तादम्यता नमिल्दा विकास निर्माणका काम पूरा हुन नसकेको बताउनु भयो । उहाँले अन्तरमन्त्रालयबीचको समन्वय प्रभावकारी बन्न नसकेको स्वीकार गर्नुभयो । उहाँले अन्तरमन्त्रालय र अन्तर विभागबीचको समन्वय पारस्परिक बन्न नसक्दा विकास निर्माणले गति लिन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबैको समस्या एउटा उद्देश्य अर्को थालनीको परम्परा छ, यसको अन्त्य गर्न नसके पूर्वाधर निर्माण गर्न सकिँदैन । भौतिक, खानेपानी, शहरी विकास, भूमि व्यवस्थापन लगायतका विभिन्न मन्त्रालयसँग सम्बन्धित हुन्छ, एकले अर्को मन्त्रालयसँग समन्वय गर्न नसक्दा विकास निर्माणका काम हुन सकेका छैनन् । काम गर्ने कुरामा एकले अर्को मन्त्रालय र विभागसँगको समन्वय, सहयोग पारस्पारिक छैन । यसमा सुधार गरेर जानुपर्छ । यी मन्त्रालय र विभागमा तत्काल समस्याको समाधान गर्ने संयन्त्र अवधारणा बनाउनुपर्छ ।’

मन्त्री गुरुङले अन्तरमन्त्रालय समन्वयका लागि तत्काल समस्या समाधान गर्ने संयन्त्र बनाउन जरुरी रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?