गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई जन्मकैदको फैसला

फाइल तस्बिर

यज्ञराज पाण्डे
Read Time = 3 mins

काठमाडौं । गुण्डा नाइके समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा उनलाई यसअघि नै दोषी रहेको ठहर गरेको थियो । सजाय निर्धारण भने बुधबार भएको हो ।

अदालतले सिंहसहितका अभियुक्तहरूलाई दोषी ठहर गरेको छ । हत्याका मुख्य योजनाकार भनिएका बस्नेत र काले भन्ने अम्बरबहादुर रानालाई जन्मकैदको फैसला सुनाइएको छ । हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैदको फैसला भएको छ । त्यस्तै, समीरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । जिल्ला अदालतले १८ जनालाई दोषी ठहर र ६ जनालाई सफाइ दिएको छ ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको २०७४ असोज २३ गते काठमाडौंको प्रयागचोकमा गोली प्रहार गरी हत्या भएको थियो । हत्या अभियोगमा २४ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको थियो । हत्याका मुख्य आरोपित बस्नेत २०७४ मंसिरमा पक्राउ पर्नुभएको थियो । उहाँलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।

अदालतले उहाँलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा राखेको छ । धनराज योङहाङ, श्यामबहादुर गुम्बी, रोशन बुढाथोकी र राजीव स्याङ्ताङलाई जनही पाँच वर्ष कैदको फैसला भएको छ । वशन्त थेवे र मनोज बुढा मगरको निधन भइसकेकाले दाबी खारेज गरिएको छ ।
यस्तै यही मुद्दाका प्रतिवादीहरू प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, बिवजी महतो, सूर्यबहादुर बादी, राजकुमार साह, मुकेशकुमार पाण्डे र श्याम गुप्ताले सफाइ पाएका छन् । यो मुद्दाका सात प्रतिवादी भने अझै फरार छन् । गंगाप्रसाद लिम्बू, अजय थापा, समिकला राई, प्रवेश नायव, सुजा थक्सु बाजी, सुधीरकुमार साह र प्रदीपकुमार झा फरार छन् । उनीहरूको हकमा मुल्तवीमा राख्ने फैसला भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?