घोराही सिमेन्ट आइपियो प्रकरण : आवेदकले पैसा फिर्ता लिन पाउने, फर्जी आवेदकको फाइल प्रहरीमा

एनआइसी एसिया बैंकमाथि पनि छानविन हुने

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । विवादका कारण अलपत्र परेको घोराही सिमेन्टको आइपिओ भरेकाहरूले पैसा फिर्ता लिन पाउने भएका छन् । धितोपत्र बोर्डले आइपियो भरेकाहरूलाई पैसा फिर्ता लिन तीन दिनको समय दिने भएको हो । तीन दिनको अवधिमा आवेदकहरूले दिएको पुरानो आवेदन परिमार्जन गर्ने सुविधा दिने बोर्डले जनाएको छ । बोर्डका अनुसार सेयरमा आवदेन दिएका लगानीकर्ताहरूले सेयर थपघट गर्नेदेखि आवेदन फिर्ता वा खारेज गर्न मिल्ने भएको छ । बिक्री प्रबन्धकले पुनः यसबारे सूचना प्रकाशित गर्ने बोर्डले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सूचना प्रकाशित भएको तीन दिनभित्र पैसा फिर्ता दिने अथवा रद्द गर्न निवेदन दिनुपर्ने छ । तीन दिनमा पर्याप्त आवेदन नआए बोर्डले आइपिओ आवेदनको म्याद थप सात दिनसम्म लम्ब्याउने अनुमति दिएको छ । यस अवस्थामा यसअघि आवेदन नदिएकाहरूले समेत आवेदन दिन पाउनेछन् । घोराही सिमेन्टको आइपिओमा सर्वसाधारणको तीन अर्ब ६१ करोड रुपैयाँ रकम होल्ड भइरहेको छ । कुल १२ जनाले खातामा पैसा नहुँदा नहुँदैसमेत १०/१० लाख कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीको आइपिओमा फर्जी आवेदन परेको पुष्टि भएसँगै बोर्डले आइपिओ निष्कासनलाई बीचमै रोक लगाएको थियो । स्वार्थ बाझिने गरी भएको क्रेडिट रेटिङका आधारमा प्रिमियम निर्धारण भएकोसमेत आरोप लागेको थियो ।

घोराही सिमेन्ट इण्डष्ट्रीले यही जेठ ३२ गते सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको थियो । कम्पनीले हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमार्फत ६९ लाख ११ हजार ६७० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा प्रिमियमबापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँ अन्तिम मूल्यमा उक्त परिमाणमा साधारण सेयरको बिक्री खुला गरेको थियो । कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही असार ४ गते र ढिलोमा असार १४ गते बन्द हुने पूर्वनिर्धारित कार्यतालिका थियो । तर, नेपाल धितोपत्र बोर्डले सेयरको बिक्री निष्कासनमा अनियमितता भएको आशंकामा तत्कालको लागि स्थगन गरेपछि घोराहीको विवाद उत्कर्षमा पुगेको हो ।

घोराही सिमेन्टको विवाद उद्योग स्थापनादेखि नै हुँदै आएको छ । दाङ उपमहानगरपालिका-४ मा रहेको बस्ती बीचमा उद्योग स्थापना गरिएको छ । जसले गर्दा मानव स्वास्थ्यमा असर परिरहेको गुनासो स्थानीयले लामो समयदेखि गर्दै आएका छन् । वातावरण प्रतिकूल बन्दा यहाँका पानीका मुहान सुक्न थालेको स्थानीयको भनाइ छ । वातावरण प्रदूषणसम्बन्धी स्थानीयवासीसँगको विवाद अदालतसम्म पुगेको थियो । उच्च अदालत दाङले समेत उद्योगलाई वातावरण प्रदूषण हटाउन र वातावरण विभागले तय गरेका मापदण्ड पालना गर्दै तोकिएका उपकरणहरू जडान गर्न आदेश दिएको थियो । तर, उद्योगले अहिले पनि कुनै मापदण्ड पालना नगरेको स्थानीयहरूले बताउँदै आएका छन् । धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार जालसाजीसम्बन्धी दण्ड सजाय व्यवस्थामा त्यस्तो कार्य गर्नेलाई एक लाख रुपैयाँदेखि तीन लाख रुपियाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । साथै त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानीसमेत भराई दिनुपर्ने व्यवस्था छ ।

शंकाको घेरामा एनआइसी
फर्जी निवेदनका विषयमा थप छानविनका लागि प्रहरीकहाँ पठाउने निर्णय पनि बोर्डले गरेको छ । सर्वसाधारणलाई भ्रमित पार्ने उद्देश्यले बैंक खातामा पर्याप्त रकम नहुँदा नहुँदै फर्जी निवेदन हालिएकाले जालसाजीका विषयमा छानविनका लागि प्रहरीलाई पठाउने निर्णय भएको बोर्डले जनाएको छ । फर्जी आवेदन परेको विषयमा बोर्डले एनआइसी एसिया बैंकमाथि पनि छानविन गर्ने भएको छ । आवेदनको खातामा पर्याप्त रकम नहुँदा नहुँदै पनि आवेदन स्वीकृत गरेको भन्दै बोर्डले बैंकमाथि पनि छानविन अघि बढाउने भएको हो ।

निष्कासन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको हुँदा सो सम्बन्धमा समेत थप छानविन गर्ने निर्णय धितोपत्र बोर्डले गरेको छ । हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड कम्पनीको बिक्री प्रबन्धक छन् । दुईवटै कम्पनीमाथि पनि बोर्डले छानविन गर्ने भएको हो ।

घोराही सिमेन्ट र एनआइसी एसियाको सम्बन्ध
प्राथमिक सेयरमा फर्जी आवेदन प्रकरणमा मुछिएको एनआइसी एसिया बैंक र घोराही सिमेन्टबीच निकट मात्रै होइन व्यापारिक सम्बन्धसमेत छ । घोराही सिमेन्ट र एनआइसी एसिया बैंक दुवैका मुख्य प्रवद्र्धक एकै घरानाका सदस्य हुन् । एनआइसी एसिया बैंकको मुख्य सेयरधनीमा विशाल र त्रिवेणी (सांघाई) समूहका सदस्यहरू हुन् । जसको घोराही सिमेन्टमा अधिकांश सेयर स्वामित्व छ । घोराही सिमेन्टका लगानीकर्ताद्वय विशाल समूह र त्रिवेणी समूहको एनआइसी एसिया बैंकमा करिब ४० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

एनआइसी एसिया बैंकको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनअनुसार बैंकमा व्यावसायिक घराना विशाल समूहका सदस्यको कम्तीमा २६ प्रतिशत सेयर स्वामित्व छ । त्यसैगरी, सांघाई समूहका सदस्यको १३ प्रतिशत सेयर लगानी छ । यी दुई घरानाको गरी एनआइसी एसिया बंैकमा कम्तीमा ३९ प्रतिशत सेयर स्वामित्व छ ।

बैंकको सञ्चालक समिति अध्यक्ष विशाल समूहसम्बद्ध तुलसीराम अग्रवाल हुनुहुन्छ भने सदस्यमा पनि यही समूहका त्रिलोकचन्द्र अग्रवाल, रामचन्द्र सांघाई, निकुञ्ज अग्रवाल र आदित्यकुमार अग्रवाल तथा सांघाई समूहका रामचन्द्र सांघाई हुनुहुन्छ । यता, घोराही सिमेन्टमा विशाल समूहसम्बद्ध लगानीकर्ताको कुल २१.३४ प्रतिशत सेयर लगानी देखिन्छ । विशाल समूहका अध्यक्ष जगदीशप्रसाद अग्रवाल, उपाध्यक्षद्वय त्रिलोकचन्द्र अग्रवाल र तुलसीराम अग्रवाल तथा प्रबन्ध निर्देशक अशोककुमार अग्रवाल, निर्देशक अनुज अग्रवाल, निर्देशक निकुञ्ज अग्रवाल र निर्देशक विशाल अग्रवालको यो कम्पनीमा सेयर स्वामित्व छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?