भानु जयन्तीका अवसरमा उपत्याकाव्यापी कविता महोत्सव गर्दै प्याब्सन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) काठमाडौंले भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी प्रथम कविता महोत्सव तथा साहित्य स्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ । प्याब्सन काठमाडौंले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको हो ।

प्याब्सन काठमाडौंका सचिव सुदर्शन थापाले आदिकवि भानुभक्त आचार्यको २१०औं जन्म दिवसको अवसरमा आगामी असार २९ गते कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनुभयो । कार्यक्रम टुरिजम बोर्डमा बिहान ९ बजेबाट सुरु हुनेछ । कार्यक्रमका संयोजक एवं प्याब्सन काठमाडौंका सह-कोषाध्यक्ष बिएन अधिकारीले बालसाहित्यको विकास, बालबालिकाभित्र रहेका अन्तर्निहित प्रतिभाको प्रस्फुटन, आदिकवि भानुभक्त आचार्यको सम्मान र श्रष्टाहरूको सम्मान नै कार्यक्रमको मुख्य उद्देश्य रहेको जिकिर गनुभयो ।

‘बाल साहित्यको विकास गर्नु, बालबालिकाभित्र रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउनु, साथसाथै विद्यालयस्तरबाट नेपाली साहित्यको विकास गराउनु नै यो कार्यक्रमको उद्देश्य हो । आदिकवि भानुभक्त आचार्यको सम्मान गर्नु र नेपाली साहित्यमा कलम चलाउनेहरूको सम्मान गर्नु पनि यो कार्यक्रमको उद्देश्य हो,’ उहाँले भन्नुभयो ।

प्याब्सन काठमाडौंका अध्यक्ष एवं साहित्यकार प्रेमकुमार राईले साहित्य समाजको पथप्रदर्शक भएको बताउनुभयो । बालबालिकाहरूमा साहित्यप्रतिको प्रेम जगाउन कविता महोत्सव गर्न लागिएको उहाँको भनाइ थियो । कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरमा रहेको निजी विद्यालयबाट प्रत्येक विद्यालयबाट एकजना सहभागी हुनेगरी ५० जना विद्यार्थी सहभागिता जनाउने बताइएको छ ।

साथै, उक्त कार्यक्रममा राष्ट्रियस्तरका दुईजना स्रष्टालाई सम्मान गर्न लागिएको पनि उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा सहभागी हुने विद्यार्थीको कविता मौलिकता झल्कने खालको हुनुपर्ने अध्यक्ष राईले बताउनुभयो ।

कविता विद्यार्थी स्वयंले लेखेको हो, होइन भन्ने कुराको निर्णय गर्ने अधिकार निर्णायक मण्डलमा रहेको उहाँको भनाइ थियो । कविता महोत्सवको निर्णायक मण्डलमा कविद्वय श्रवण मुकारुङ र प्रभा भट्टराई रहनुभएको छ ।

असार २९ गते बिहान प्रभातफेरी कार्यक्रमका साथ आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरी कार्यक्रमको सुरुवात गरिने बताइएको छ । प्रत्येक विद्यालयबाट एकजना विद्यार्थीको आधारमा सहभागी गराइने बताइएको छ । कविता कुनै पनि शीर्षकमा लेख्न सकिने र १५० शब्द नबढाई गद्य वा पद्य दुवै शैलीमा लेख्न सकिने आयोजकले बताएको छ ।

विद्यार्थीले लेख्ने कविता देशप्रेम, प्राकृतिक सौन्दर्य, प्रकृतिप्रेम, मानवता, समसामयिक चेतना झल्काउने प्रकृतिको हुनुपर्नेछ भने सहभागिता शुल्क एक हजार रुपैयाँ राखिएको छ । सहभागी हुन चाहने विद्यार्थीले असार २५ गतेभित्र काठमाडौं प्याब्सनको इमेलमा कविता पठाउने आहृवान गरिएको छ ।

मूल्यांकनको आधार लेखन र वाचन दुवैको आधारमा गरिनेछ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय पुरस्कारसहित अन्य सात जनालाई सान्त्वना पुरस्कार प्रदान गरिने बताइएको छ ।

प्रथम पुरस्कार नगद १५ हजार, मेडल तथा प्रमाण, द्वितीय पुरस्कार नगद १५ हजार मेडल तथा प्रमाण, तृतीय पुरस्कार नगद १० हजार, मेडल तथा प्रमाण पत्र, चौथो र पाँचौं पुरस्कार नगद चार हजार, मेडल तथा प्रमाण रहेको छ । त्यसैगरी शान्त्वना पुरस्कार नगद तीन हजार र मेडल तथा प्रमाण–पत्र पाँचजनालाई प्रदान गरिने आयोजकले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?