‘धर्तीका सत्र तारा’ विचारकेन्द्रित जीवनी

सुशीला घिमिरे
Read Time = 6 mins

हालैमात्र सार्वजनिक भएको पुस्तक हो ‘धर्तीका सत्र तारा’ पुस्तकको शीर्षकबाटै थाहा हुन्छ यस पुस्तकमा सत्रजना विभिन्न क्षेत्रका मानिसको विचारमूलमक जीवनी छ भन्ने विषय । पुस्तकको सङ्कलन तथा सम्पादन तिलकप्रसाद लुइँटेल तथा विनोद दाहाल वत्सले गर्नुभएको छ भने यसको प्रकाशन सुख शान्ति मिडियाले गरेको छ । डिएमआई साइजमा प्रकाशित यस पुस्तकको यो पहिलो संस्करण हो र यो २०८० सालमा प्रकाशित पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग भएको छ । छपाइ स्तरीय छ र अशुद्धि कमै भेटिन्छन् ।

भूमिका खण्डमा १८ र पाठ्य खण्डमा २६८ गरी जम्मा २८६ पृष्ठ छन् । यस पुस्तकको मूल्य ५५० रुपैयाँ छ । पुस्तकको लेआउट तथा कम्युटरको काम टपिन्द्र पौडेलले गर्नुभएको छ भने आवरण तिलक भट्टराईले तयार गर्नुभएको छ । आवरणमा सत्र ताराहरू देखाइएको छ, ती प्रत्येक तारामा पुस्तकभित्र समेटिएका व्यक्तिहरूको वर्णानुक्रमानुसार पहिलो अक्षर दिइएको छ । माथि साना अक्षरमा ‘धर्तीका’ भनिएको छ भने ‘सत्र तारा’ ठूला अक्षरमा लेखिएको छ । त्यससँगै साना अक्षरमा ‘जीवन यात्रा’ भनिएको छ । बीचमा कोही पनि मानिस अयोग्य हुँदैन र ऊसँग केही न केही क्षमता हुन्छ भन्ने अर्थमा ‘अयोग्य मनुजो नास्ति’ भनिएको छ ।

भारतको सिक्किम र आसामका एक-एकजना, बेलायती नागरिक एकजना, अन्यमा नेपालीहरू भए पनि कोही अमेरिकामा बस्ने र कोही नेपालकै राजधानीबाहिरका व्यक्तिहरू पुस्तकमा समेटिनुभएको छ । शिक्षा, साहित्य, प्रशासन, समाजसेवा, राजनीति, वित्तलगायत विभिन्न क्षेत्रका मानिसलाई यो पुस्तकले समेटेको छ ।

तल यस पुस्तकमा समावेश गरिएका व्यक्तिहरूको जीवनी तथा विचार केन्द्रित लेखनको सङ्कलन तथा सम्पादन गर्ने तिलक लुइँटेल तथा विनोद दाहाल वत्सको नाम उल्लेख गरिएको छ । आवरणपृष्ठको भित्रपट्टि यस पुस्तकमा समावेश गरिएका सत्र जनामध्ये नौजनाको फोटो राखिएको छ । पृष्ठ आवरणमा पुस्तकमा समावेश गरिएका सत्रजनाको विचार समेटिएका शीर्ष वाक्य दिइएको छ भने यही पृष्ठमा प्रकाशक संस्थाको लोगोसहित नाम दिइएको छ । सँगै पुस्तकको बारकोड दिइएको छ । यस पृष्ठको भित्रपट्टि पुस्तकमा समावेश बाँकी आठजना व्यक्तिका रंगीन फोटा राखिएका छन् ।

पुस्तकको भूमिका खण्डको सुरुमा विषयसूची दिइएको छ र यहाँ वर्णानुक्रमानुसार सत्रजना व्यक्तिहरूको नाम दिइएको छ । यहाँ समावेश भएका सबै मानिसमा केही न केही क्षमता छ । त्यसैले ‘अयोग्य मनुजो नास्ति’ भनिएको हुनसक्छ । सम्झना शर्मा ढकालको ‘पाण्डुलिपिमा पाइयो’, सङ्कलक सम्पादकद्वयको ‘सङ्कलनको सन्दर्भ’, गोधुली साहित्य समाजकी अध्यक्ष गङ्गा लिगलको ‘शुभकामना’ र प्रकाशक संस्था सुख शान्ति मिडियाका अध्यक्ष दामोदर ढकाल ‘दीपक’को ‘प्रकाशकीय’ रहेका छन् ।

त्यसपछि जीवनी र विचार सुरु हुन्छ । वर्णानुक्रममा ईश्वरचन्द्र बानियाँ, कल्पना खरेल, किरण आचार्य, कृष्णबहादुर भण्डारी, गङ्गा अभिलाषी, गङ्गाप्रसाद लुइँटेल, जीवन सुवेदी, त्रिलोचन आचार्य, दुर्गादत्त गौतम र नारायण नेपालहरू समेटिनुभएको छ । यसैगरी यस पुस्तकमा समेटिएका अन्य व्यक्तिमा नेत्रबहादुर कुँवर, माधवलाल श्रेष्ठ, मिश्रादेवी कार्की, विष्णु गौतम, विष्णुप्रसाद पन्त, वेन ब्ल्याक र शशिकला वशिष्ठ रहनुभएको छ । पुस्तकमा समेटिएका सत्र जनामध्ये पाँचजना महिला र १२ जना पुरुष रहनु भएको छ ।

भारतको सिक्किम र आसामका एक–एकजना, बेलायती नागरिक एकजना र अन्यमा नेपाली भए पनि कोही अमेरिकामा बस्ने कोही नेपालकै राजधानी बाहिरका व्यक्तिहरू पुस्तकमा समेटिनुभएको छ । शिक्षा, साहित्य, प्रशासन, समाजसेवा, राजनीति, वित्तलगायत विभिन्न क्षेत्रका मानिसलाई यस पुस्तकले समेटेको छ । यस अर्थमा पुस्तकले विविधता समेटेको छ भन्ने देखिन्छ । समाज र राष्ट्रका लागि केही गरिरहेका तर चर्चामा आउन नसकिरहेका व्यक्तिलाई अगाडि ल्याउने प्रयास यस पुस्तकले गरेको छ ।

जीवनी वा चिनारीका साथै उहाँहरूको विचारलाई पुस्तकले प्राथमिकता दिएको पाइन्छ । त्यसैले यो पुस्तक रंगीचंगी पूmलबारीजस्तो भएको छ । पुस्तकका सम्पादकहरूले त्यसैले यसलाई ‘धर्तीका सत्र तारा’ भन्नुभएको हुनसक्छ । सम्पादकद्वयलाई धन्यवाद तथा बधाई, पुस्तकको सफलताको शुभकामना । उहाँहरूबाट यस्ता प्रयासहरू फेरि भइरहनु आवश्यक छ, हार्दिक शुभकामना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?