बाजुराको दुर्गम बस्तीका स्वास्थ्यकर्मी समस्यामा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

बाजुरा । बाजुराका अधिकांश स्वास्थ्य चौकी गाउँबस्तीभन्दा धेरै टाढा छन् । ती गाउँबस्तीमा पुग्न झण्डै एक दिन लाग्छ । हातमा औषधि, काखमा लुगा र पिठ्युँमा सन्तान बोकेरै गाउँबस्ती धाउनुपर्ने स्वास्थ्यकर्मीको बाध्यता रहेको छ । केही वर्षअघि स्थानीय सरकारले ती गाउँबस्तीमा सडकको पहुँच पुर्‍याएको थियो तर सडकको मर्मतसम्भार नहुँदा स्वास्थ्यकर्मी खोप लगाउन हिँडेरै जाने गरेका छन् । बाढीपहिरोले ती गाउँमा जोडिएका सडक सबै तहसनहस भएपछि स्वास्थ्यकर्मीलाई वल्लो गाउँबाट पल्लो गाउँमा जान ज्यानै जोखिममा राख्नुपरेको छ ।

स्वामिकार्तिक खापर गाउँपालिका वाईकी स्वास्थ्यकर्मी नमिता बुढा यस्तै समस्या भोगेर सर्वसाधारणको उपचारमा खटिने एक उदाहरण हुनुहुन्छ । उहाँ २०७५ सालदेखि स्वामिकार्तिक खापर गाउँपालिका-१ मा रहेको वाई स्वास्थ्य चौकीमा अनमीका रूपमा काम गर्दै आउनुभएको छ ।

स्वामिकार्तिक गाउँपालिका केन्द्र तथा वाई स्वास्थ्य चौकीबाट यहाँका अधिकांश वडा तथा बस्ती धेरै टाढा छन् । बाढीपहिरोका कारण सडक बिग्रिएपछि नमिताजस्तै अन्य स्वास्थ्यकर्मीलाई ती बस्तीमा खोप लगाउन तथा स्थानीयलाई स्वास्थ्य सेवा दिन पैदल जान निकै सकस हुने गरेको छ । उहाँले बर्खाको समयमा स्वास्थ्य संस्थाबाट गाउँबस्तीमा खोप लगाउन गएका बेला बाढीपहिरोले बाटो अवरुद्ध हुने गरेकाले घरमा नपुगेर पहिरोमा नै च्यापिने हो कि भन्ने मनमा डर लाग्ने गरेको बताउनुभयो ।

उसो त बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेका हिमाली जगन्नाथ, स्वामिकार्तिक, बुढीनन्दालगायतका स्थानीय निकायले २०७५ सालदेखि नै स्थानीय निकायका प्रत्येक वडामा सडक जोड्ने प्रयास गर्दै आएका छन् । कतिपय स्थानीय तहले त गाउँ–गाउँमा कृषि सडकसमेत बनाएका छन् । यसरी गाउँमा पुगेका ती सडक गत वर्षको अविरल वर्षाका कारण अवरुद्ध भएपछि स्वास्थ्यकर्मी तथा स्थानीयलाई एक गाउँबाट अर्को गाउँ जान समस्या हुने गरेको छ । खप्तड छेडेदह गाउँपालिका–१ काँडाका स्थानीय विक्रम रोकायाले गाउँमा पुगेका सडक बर्खाको समय थोरै पानी परे पनि भत्किने गरेकाले आउजाउ गर्न समस्या भएको बताउनुभयो ।

स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले स्थानीय निकायको बजेटले ती सडक मर्मत हुने अवस्था नभएकाले प्रदेश तथा संघीय सरकारको बजेट आवश्यक रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?