कांग्रेसमा विवाद : आन्तरिक शक्ति संघर्ष बढ्दै

पार्टी संसदीय दलको नेता बदल्ने महामन्त्री थापाको उद्घोष

अनिल क्षेत्री
Read Time = 9 mins

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष चुलिँदै गएको छ । कांग्रेसमा पार्टीभित्र गुट उपगुटको आरोप/प्रत्यारोपको शृङ्खला निरन्तर चल्दै आएको छ । संस्थापन इतर पक्ष पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध रणनीतिक रूपमा लागेको छ । संस्थापनइतर समूहले सभापतिमाथि निरन्तर दबाब बढाइरहेको छ । केही नेताहरूले रूपान्तरण अभियानको नाममा नेतृत्वविरुद्ध देशभर कार्यक्रम गरिरहेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित संस्थापनइतर पक्ष नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै निरन्तर आलोचना गरिरहेको छ । जिम्मेवारी र भूमिकाको हिसाबले पार्टी सभापतिपछि दोस्रो पदमा रहनुभएका महामन्त्री गगन थापाले सभापतिले पद छाड्नुपर्ने भन्दै आक्रामक अभिव्यक्ति दिइरहनु भएको छ ।

पार्टीभित्र संस्थापन र इतर पक्षबीच अन्तरसंघर्ष चर्किरहेको बेला महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूको भेला बोलाउनुभयो । दुई दिनसम्म चलेको भेलाले शुक्रबार १४ बुँदे प्रतिबद्धता जारी गर्‍यो । पार्टी विधानले दिएको अधिकारबमोजिम बोलाइएको दुईदिने जिल्ला सभापतिहरूको भेलामा पार्टी सभापति शेरबहादुर देउवा भने सहभागी हुनुभएन । देशभरका जिल्ला सभापतिहरूको भेलामा पार्टी सभापति शेरबहादुर देउवा अनुपस्थित भएकोबारे प्रश्न उठ्यो । बैठकका लागि पार्टी कार्यालय सानेपामा भेला भएका जिल्ला सभापतिहरूले पार्टी सभापति देउवालाई दुई दिन खोजे । तर, देउवा भेटिनुभएन । बरु महामन्त्रीद्वय थापा र शर्माले सम्मेलनका निष्कर्षहरू सभापतिलाई आफूहरूले सुनाउने भन्दै जिल्ला सभापतिहरूलाई सम्झाउनुपर्ने अवस्था आयो ।

केही जिल्ला सभापतिहरूले गुटगत भेला गर्न खोजेको आरोप लगाएपछि महामन्त्रीहरूले सभापतिकै सल्लाह र समन्वयमा जिल्ला सभापतिहरूको सम्मेलन गरेको स्पष्टीकरण दिनुभएको थियो । जिल्ला सभापतिहरूले पार्टी सभापति भेलामा उपस्थित नहुँदा राम्रो सन्देश नगएको टिप्पणी गरेका छन् । सभापति देउवानिकट नेताहरूका अनुसार देउवा जिल्ला सभापति सम्मेलनको पक्षमा हुनुहुन्थेन । देउवा भेलाप्रति उदासीन हुनुहुन्थ्यो । तर, दुवै महामन्त्रीले तयारी गर्नुका साथै विधानले संगठन निर्माणका लागि दिएको अधिकार प्रयोग गर्ने भन्न थालेपछि सभापतिले जिल्ला सभापतिहरूको भेला रोक्न सक्ने अवस्था रहेन । त्यसकारण भेला रोक्ने प्रयास पनि गर्नुभएन । तर, धुम्बाराहीबाट सानेपा नपुगेर सभापति देउवाले कार्यक्रमप्रति आफ्नो असहमति रहेको स्पष्ट सन्देश भने दिनुभएको छ ।

जिल्ला सभापतिहरूको गुनासो
सभापतिहरूको भेलाले पार्टीलाई चलायमान बनाउने मूल प्रतिबद्धता जनाएको छ । भेलाले मूलतः क्रियाशील सदस्यता, कार्यसमितिहरूको सम्मेलन र पार्टी व्यवस्थापनबारे छलफल भएको थियो । तर, भेलामा जिल्ला सभापतिहरूले निर्धारित विषयभन्दा बाहिरसमेत चासो राखेका छन् । जिल्ला सभापतिहरूले मुख्य गरी बजेट, सरकार सञ्चालन र पार्टीभित्रको गुटबन्दीबारे कुरा उठाएका हुन् । उनीहरूले पार्टी नेतृत्वको निर्णय प्रक्रियाप्रति पनि गुनासो गरेका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिँदै थुनामा रहँदासमेत निलम्बन नगरिएको प्रति भेलामा प्रश्न उठेको थियो । नेताले नै पार्टीविरुद्ध अभिव्यक्ति दिएको, पार्टीभित्रको गुटको अन्त्य गर्नुपर्ने र सुधारको प्रक्रिया सुरु गर्न कारबाहीको सिफारिसमा परेकालाई निलम्बन गर्न नहुने जिल्ला सभापतिहरूको राय छ । सभापतिहरूले केन्द्रीय नेतृत्वको कार्यशैली, व्यवहार तथा पार्टी र सरकारबीचको समन्वयमा पनि प्रश्न उठाएका छन् । उनीहरूले कांग्रेसको इतिहासमा भ्रष्टाचारीलाई कारबाही नगर्ने गरेको भन्दै नेतृत्वमाथि प्रश्नसमेत उठाएका छन् । यस्तै, उनीहरूले पार्टी अनुशासन उल्लंघन गर्दै निर्वाचनमा अन्तर्घात गर्ने नेताहरूलाई पुरस्कृत गरिएकोमा पनि प्रश्न उठाएका छन् । चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न नसक्दा पार्टीमा अराजकता मौलाएको कतिपय जिल्ला सभापतिहरूले तर्क गरे । जिल्ला सभापतिहरूको भेलामा पार्टी, नीति र नेतृत्वका सम्बन्धमा उठेका विभिन्न विषयहरूलाई आसन्न केन्द्रीय कार्य समितिको बैठकमा लैजाने महामन्त्रीद्वयले प्रतिबद्धता जनाएका छन् । पार्टी सुदृढीकरणका लागि ६/६ महिनामा जिल्ला सभापतिहरूको भेला गरिनेसमेत महामन्त्रीद्वयले वचन दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यही असार २७ मा बस्दै छ ।

म थाकेको छैन, फेरि संसदीय दलको नेता बदल्न लाग्छु : थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री बन्ने प्रयासमा रहेको बताउनुभएको छ । आफू एकपटक पार्टीको संसदीय दलको नेतामा पराजित हुँदैमा नथाकेको स्पष्ट पार्दै महामन्त्री थापाले भन्नुभयो, ‘म त क्लियर छु हेर्नुहोस्, विधिभित्रै रहेर यो कुरा गरिरहेको छु । म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हो । मैले सबै साथीहरूको मन चित्त त बुझाउन सकिनँ । तर, म थाकेको छैन, हारेको छैन ।’ नेपालमा भूतपूर्व प्रधानमन्त्रीहरूबाटै प्रधानमन्त्री चयन भइरहेको भन्दै महामन्त्री थापाले कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला त्यसलाई बदल्नुपर्ने जिकिर गर्दै भन्नुभयो, ‘नेपाली कांग्रेसबाट भुतपूर्व भएको प्रधानमन्त्री कांग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बन्नुहुँदैन, त्यसकारणले गर्दा फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु । त्यसलाई बदल्छु सके आफू बन्छु, नसके अरूलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु । त्यो बदलिनपर्छ र बदल्ने ठाउँ दिएको छ, बदल्ने ठाउँ कहाँ दिएको छ भने त्यहीँ दलभित्रै छ ।’ महामन्त्री थापाले कांग्रेसले मिसन २०८४ नभई २०८० र २०८१ को सुरु गर्न जरुरी रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?