काठमाडौं । आमनिर्वाचन सकिएको एक वर्ष नपुग्दै प्रमुख दलहरूका गतिविधि अर्को चुनाव केन्द्रित हुन थालेका छन् । अर्को चुनाव आउन चार वर्षभन्दा बढी समय बाँकी छँदै दलहरूका गतिविधि चुनाव केन्द्रितजस्तो देखिन थालेका हुन् । प्रमुख दल र तिनका नेताहरूले तारन्तार आगामी चुनाव केन्द्रित अभिव्यक्ति दिइरहेका छन् । गत निर्वाचनमा नयाँ दलहरूको उदय भएसँगै झस्किएका पुराना प्रमुख दलहरू आन्तरिक रूपमा आगामी चुनावलाई केन्द्रमा राखेर गतिविधि गरिरहेका छन् । यसको ज्वलन्त उदाहरण हो गत चुनावलगत्तै नेकपा (एमाले)ले सुरु गरेको ‘ग्रास रुट अभियान’ । बाहिर जे भनिए पनि त्यसको उद्देश्य ‘मिसन २०८४’ रहेको तथ्य कतै लुकेको छैन । त्यसपछि गत वैशाखमा भएको उपनिर्वाचनको परिणामले पुराना दलहरूलाई थप झस्काएको छ । पुरानाप्रतिको वितृष्णाका कारण नयाँ दलहरूले पाएको मतले आगामी चुनावको चित्र स्पष्ट पारेको छ । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैजसो पुराना दललाई चुनौती हुने स्पष्ट संकेत गत आमनिर्वाचन र वैशाखको उपनिर्वाचनले दिएको छ । यसले सजिलै आगामी निर्वाचन जित्न नसकिने पुराना दलहरूले बुझेका छन् । परिणामतः उनीहरूका गतिविधि चुनाव केन्द्रितजस्तो देखिन थालेका हुन् ।
एमालेले अनौपचारिक रूपमा मिसन २०८४ सुरु गरिसकेको छ । कांग्रेसमा पनि आगामी चुनावलाई लिएर चिन्ता र चासो व्यक्त गर्नेहरू धेरै छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित युवा नेताहरूले पार्टी रूपान्तरणको अभियान नै सञ्चालन गरेका छन् । गत निर्वाचनमै कमजोर नतिजा ल्याएको माओवादी पनि आगामी चुनावबारे चनाखो बनेको छ । प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी चुनावमा बलियो उपस्थिति जनाउन समाजवादी मोर्चा र माओवादी धारको एकतामा जोड दिइरहनु भएको छ । पूरा दलहरू संगठित/असंगठित रूपमा रास्वपासहितका नयाँ दलप्रति आक्रामक देखिएका छन् । उनीहरू सबैको साझा चुनौती नै अहिले रास्वपा बनेको छ । आगामी चुनावमा पनि उसैले सबैलाई चुनौती दिने भय उनीहरूमा छ । यसबाहेक वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको रास्वपाले २०८४ सालको चुनावमा अर्जुनदृष्टि नै लगाएको छ । पुराना दललाई चुनौती दिने ठानिएको रास्वपाले मिसन २०८४ अभियान नै चलाइरहेको छ । सभापति रवि लामिछानेले आगामी चुनाव केन्द्रित अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।
नयाँ दलको पनि छिट्टै पुरानो पार्टीहरूको जस्तै हविगत हुनेछ : भुसाल
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नयाँ दलहरूको हविगत पनि पुराना राजनीतिक पार्टीहरूको जस्तै हुने दाबी गर्नुभएको छ । पार्टीनिकट कानुन व्यवसायीहरूको संगठन ‘समाजवादी पेसागत कानुन व्यवसायी संगठन’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल र पुँजीवादले ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको पनि छिट्टै बेहाल हुने बताउनुभयो । दलाल र पुँजीवादले खडा गरेको समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरू अघि बढ्न सक्ने अवस्था नरहेको उहाँको भनाइ थियो । ‘अहिले राजनीतिमा नयाँ भन्ने चिज आइराख्या छ । स्वतन्त्र भन्ने आइराख्या छ । तिनको पनि त्यही हविगत हुन्छ,’ उहाँले भन्नुभयो, ‘किनभने ती कसैले पनि यो दलाल र पुँजीवादमाथि प्रश्न उठाएका छैनन् । यसतर्फ उनीहरूका पनि मुद्दा केन्द्रित छैनन् ।’
सरकार यसरी नै चलिरहे २०८४ मा कांग्रेसले जोसँग मिले पनि चुनाव जित्दैन : पौडेल
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहे २०८४ सालको चुनावमा जुन पार्टीसँग मिले पनि कांग्रेसले निर्वाचन जित्न नसक्ने ठोकुवा गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेससमेत सहभागी सरकारले राम्रो काम नगरे आगामी चुनाव जित्न नसकिने बताउनुभयो । वर्तमान सरकारले जनतालाई विश्वास दिनसके २०८४ सालमा कुनै पनि नयाँ पार्टीबाट कांग्रेस डराउनु नपर्ने उहाँको भनाइ थियो । उहाँले सरकारमा भएको बेलामा जनताका लागि काम गर्न मन्त्रीहरूलाई आग्रह गरे । ‘हामी जुन जुन सरकारमा छौँ, ती सुशासन र भ्रष्टाचारको विपक्षमा छन्, जनतालाई डेलिभर गर्न चाहन्छन् भन्ने म्यासेज दिन सक्यौँ भने २०८४ को चुनावमा कसैसँग मिल्नु पर्दैन, एक्लै चुनाव जितिन्छ,’ उहाँले भन्नुभयो, ‘तर, सरकार यसरी नै चलिरहने हो भने ८४ मा जो जोसँग मिले पनि हामीले चुनाव जित्न सक्दैनौँ ।’
आगामी निर्वाचन पार्टीको अर्जुनदृष्टिमा छ : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने बताउनुभएको छ । पार्टीले शनिबार काठमाडौंको तारकेश्वरमा आयोजना गरेको कार्यक्रममा उहाँले २०८४ मा हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै जित हासिल गर्न अहिलेदेखि नै लागिएको बताउनुभयो । जनताले सोधेका सबै प्रश्नको जवाफ दिन आफूहरू सधैँ तयार रहेको उहाँले बताउनुभयो । ‘नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौँ, जनताको आदेशअनुसार काम गर्छौं,’ उहाँले भन्नुभयो, ‘आगामी निर्वाचन हाम्रो पार्टीको अर्जुनदृष्टिमा रहेको छ । विसं २०८४ मा हुने निर्वाचनमा हाम्रो पार्टी एक्लै चुनाव लड्छ । अहिले हामी संसद्मा दह्रो र खरो भएर उभिएका छौँ ।’
सोसल मिडियाका सेलिब्रेटी भेला पारेर दल बन्न सक्दैन : पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडियामा छाएका सेलिब्रेटीलाई भेला गरेर राजनीतिक दल बन्न नसक्ने बताउनुभएको छ । पार्टीको रामेछाप-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेका कार्यक्रममा बोल्दै उहाँले सेलिब्रेटीलाई भेला गरेर राजनीतिक दल बन्न नसक्ने बताउनुभयो । कुनै एक क्षेत्रमा लोकप्रियता हासिल गर्दैमा राजनीतिमा पनि लोकप्रियता हासिल गर्न सकिन्छ भन्नु जनतामाथिको इमोसनल ब्ल्याकमेलिङ भएको उहाँको भनाइ थियो । ‘सोसल मिडियामा छाएका सेलिब्रेटी भेला गरेर राजनीतिक दलको नेतृत्व हुन सक्दैन । सोसल मिडियामा लोकप्रियता हासिल गर्नेबित्तिकै समाजको नेतृत्वको रूपमा हामी योग्य छौँ भन्ने मान्यता टिकाउ मान्यता होइन,’ उहाँले भन्नुभयो, ‘कुनै व्यक्ति कुनै क्षेत्रमा लोकप्रिय भयो भने सबै क्षेत्रमा लोकप्रिय हुन्छ भन्ने कुरा सत्य होइन । हरेकले आफ्नो कामको क्षेत्रभित्र विज्ञता हासिल गर्ने कोसिस गर्नुपर्छ । एउटा क्षेत्रको लोकप्रियतालाई अर्को क्षेत्रको भावनामा प्रयोग गर्ने कुरा जनताको भावनामाथि इमोसनल ब्ल्याकमेलिङ हो भन्ने कुरा बुझ्न जरुरी छ ।’ सही राजनीति र बलियो राजनीतिक नेतृत्व भएमा मात्र देश बन्ने उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच