रेसुंगा महापोखरी सरसफाइ

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीको ऐतिहासिक, तपोभूमि, सिद्धभूमि, देवभूमि, अमृतभूमिको रुपमा परिचित रेसुंगामा अवस्थित प्राचिन कालदेखि रही आएको बह्रा पोखरीमा सरसफाइको कार्यले तीव्रता पाएको छ । चारै धामहरूको जल तथा बालुवा मिसाएर शुद्ध गरिएको पोखरीलाई पुर्नताजगी गराउने उद्देश्यले अहिले जम्मा भएर रहेका कङक्रिटहरू, फुलपातीबाट दुषित बनाइको फोहोर सफा गरिएको हो ।

श्रावण महिनामा स्नान गर्न योग्य जलको व्यवस्थापनका लागि महादेव पोखरी सफा गर्ने कार्य समेत भइरहेको छ । अहिले महादेव पोखरी रङ्गरोगन गर्ने, चारै धामका जलहरू लिएर पुर्नमिश्रण गर्ने उद्देश्यले सरसफाइको कार्य भइरहेको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो ।

महादेव पोखरी परिसरमा रहेका २७ वटा जलका धाराहरुलाई पनि व्यवस्थित गर्ने उद्देश्यले मर्मत सम्भारको कार्य तीव्रताका साथ भइरहेको र श्रावण महिनाभरी पोखरी तथा धाराहरुमा स्नान योग्य बनाउन लागिएको अध्यक्ष भुसालले बताउनुभयो ।

‘त्यसका लागि संरक्षण समितिका उपाध्यक्ष ईन्जिनियर राजेन्द्र पाण्डेको संयोजकत्वमा कार्य सञ्चालन भइरहेको छ । दैनिक रुपमा रेसुंगा संरक्षण समितिका पदाधिकारीहरु एवम् सदस्यहरु उपस्थित भएर सक्रियतापूर्वक लागिरहेका छन् ।’अध्यक्ष भुसालले भन्नुभयो । ‘रेसुंगा मानिसहरुका लागि मात्र होइन्, ज्यादै दुर्लभ पशुपंक्षी तथा जनावरहरूको संरक्षण गर्नु पनि मानवीय दायित्व हो ।’ अध्यक्ष भुसालले भन्नुभयो, ‘यसको संरक्षणका लागि स्थानीय जातका आफुसँग उपलब्ध हुने फलफुलका बिरुवाहरु रेसुंगाको क्षेत्रभित्र रोपण गरी जनावरको आहारका लागि आवश्यक पूर्वाधार तयार गर्न र जंगली जनावरलाई जंगलभित्रै पर्र्याप्त आहारको व्यवस्थापनका लागि जुटौं ।’

बिशेष गरी बाँदर डेडुवा र मृग, बदेल, दुम्सीबाट मानिसको खेतीपातीमा हुने क्षेतिलाई रोक्न तथा जनावरहरुको पनि संरक्षणका लागि सम्पूणर् तह र तप्काबाट सहयोग गर्नुपर्ने भुसालले बताउनुभयो । रेसुंगा क्षेत्रमा रहेका बन कुखुरा, खरायो, मृग, बदेल, चराचुरुङ्गीहरुको चोरी सिकारी गर्ने कार्य ब्यापक भइरहेकाले यसको निरुत्साहितका लागि सम्बन्धीत सरोकारवालाहरूसँगै सुरक्षा निकायले पनि बिशेष ध्यान पुर्याउनुपर्ने अध्यक्ष भुसालको माग गर्नुभयो ।

‘पछिल्लो समय रेसुंगामा वृक्षारोपण गर्ने कार्य राजनैतिक दल, विभिन्न क्लब, संघ, संस्था, आमा समुह, वन उपभोक्ता समिति, लगायतबाट वृक्षारोपणको कार्य भइरहेको छ,यो ज्यादै राम्रो पक्ष हो ।’ भुसालले भन्नुभयो, ‘तर यस्तो अभियानलाई फेसनका रुपमा भन्दा पनि आफूहरूले लगाएका बिरुवाहरुको संरक्षणको दायित्व पुरा गर्नुपर्छ ।’ उहाँले यस समयमा प्रकृतिको संरक्षण तथा जंगली जनावरहरुको संरक्षणका लागि पनि फलफुलका बिरुवा लगाउन आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?