विकृत मनस्थिति र नियति

हिमालय टाइम्स
Read Time = 8 mins

नेपाल एकातिर भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबिसकेको अवस्था छ भने त्यसका साथसाथै अन्य प्रकारका अनियमितताहरू पनि त्यत्तिकै भइरहेका छन् । बालुवाटार जग्गा प्रकरण र नक्क्ली भुटानी शरणार्थी प्रकरणलाई हेर्ने हो भने नेपालमा कुन हदसम्म भ्रष्टाचार र अनियमितता हुनसक्ने रहेछ भन्ने थाहा हुन्छ । सानादेखि ठूलासम्म सबैको मानसिकतामा भ्रष्टाचार छ । कसले कति मौका पाउँछ भन्नेमात्र हो । अपवादबाहेक भ्रष्टाचार गर्ने मौका पायो भने कोही पनि साधु भएर बस्छ भन्ने छैन जसले जति सक्छ त्यति भ्रष्टाचार गर्छ नै । कोही–कोहीमात्र यसको अपवाद हुन सक्लान् । जसरी भ्रष्टाचारको जालो जेलिएको छ त्यसरी नै तस्करीको जालो पनि देशदेखि विदेशसम्म फैलिएको छ । भ्रष्टाचार अनियमितता, कालो बजारी र तस्करी जस्ता कुराहरू संस्थागत बन्दै गएका छन् ।

सुन तस्करीको कथा पनि यस्तै छ, दरिलो बनेर झांगिएको छ । ठूलो परिमाणमा सुन तस्करी भएका घटना बेला–बेलामा सार्वजनिक बन्ने गरेका छन् र अर्को कुनै प्रकरण चर्चामा आएपछि त्यो घटना बिस्तारै सामसुम हुँदै जानेगरेको छ । ३३ किलो सुन तस्करीको प्रकरण पनि बिस्तारै सेलाएर गयो । भ्रष्टाचार गरेको रकम पनि बैंकहरूमा राख्दा थाहा हुने र घरैमा राख्दा पनि सुरक्षित नहुने कारणले त्यस्तो रकम भ्रष्टाचारीहरूले सुन किनेर राख्ने गरेको चर्चा हुन्छ । सुनलाई सरकारले नगदलाई जसरी अमान्य घोषणा गर्न पनि सक्दैन, पानी, आगो र कीरा–धमिराबाट पनि नगदलाई भन्दा सजिलो गरी सुनलाई जोगाउन सकिने भएका कारण तिनले नगदलाई सुनमा परिणत गरेर राख्ने गर्छन् ।

सुन माटोमा गाडेर राख्दा पनि नबिग्रने भएका कारण कतिले त त्यसो गरेको चर्चा हुने गरेको छ । ठूला व्यापारी तथा कालो बजारियाहरूले ठूलो परिमाणमा नगद लुकाएर राखेको आशंकामा सरकारले हजार र पाँच सयका नोटाहरू अमान्य गर्ने चर्चा बेला–बेलामा हुने गरेको छ । सुन यसरी अमान्य गर्न सकिँदैन । त्यस कारण सुनमा भ्रष्टाचारको रकम लगानी हुने गरेका कारण यसरी सुन तस्करीका घटना हुने गरेका हुन् । पञ्चायत कालमा पनि माननीयहरू स्वयंले सुन तस्करी गर्ने गरेका उदाहरण छन् । त्यसबेला त्यस्ता घटनाहरू भए भनेर नै प्रजातन्त्रका लागि संघर्ष गर्नुपरेको थियो ।

शैली फरक, उपाय फरक, तरिका फरक तर परिमाण भने पहिलेको भन्दा अझै बढी तस्करी हुँदै आएको छ । लठ्ठी टेकेर आउने र त्यसभित्र खोक्रो बनाएर सुन भरेर ल्याउने, लगाएका लुगाहरूका टाँकहरू सुनका बनाएर आउने जस्ता अनेक उपायबाट सुनको तस्करी हुने गरेको छ ।

तर, प्रजातन्त्र बहालीपछिका जिम्मेवारहरूले त पञ्चायतले नराम्रो काम गरेका कारणले हामी राम्रो काम गरेर देखाउँछौं भन्नुको सट्टा उनीहरूले खाँदा हुने हामीले खानु नहुने भन्ने शैलीमा प्रतिस्पर्धाको भावनाले उनीहरूले भन्दा ठूला–ठूला काण्ड गर्दै गएका छन् । शैली फरक, उपाय फरक, तरिका फरक तर परिमाण भने पहिलेको भन्दा अझै बढी तस्करी हुँदै आएको छ । लठ्ठी टेकेर आउने र त्यसभित्र खोक्रो बनाएर सुन भरेर ल्याउने, लगाएका लुगाहरूका टाँकहरू सुनका बनाएर आउने जस्ता अनेक उपायबाट सुनको तस्करी हुने गरेको छ । केही पक्राउ परेकोहरूको समाचारमात्रै बाहिर आउने गरेको छ । पक्राउ नपरेका, पक्राउ नगरिएका कति व्यक्तिका समाचारहरू सार्वजनिक नै बन्न पाउँदैनन् । तिनलाई भित्रभित्रै सामसुम परिन्छ । बाध्यताबस पक्राउ परेकाहरू पनि सुन तस्करहरू होइनन् ती त भरियामात्र हुन् ।

सानो–सानो प्रलोभनमा ठूलो सजायको भागिदार बन्न पुगेका विचरा मात्र हुन् ती त । माल जसको हो तिनीहरू त कुनै विशेष सुरक्षित ठाउँमा बसेर आफ्नो मालसामान पार भए÷नभएको हेरेर बसिरहेका हुन्छन् । माल पार भयो भने त्यो तिनीहरूको सफलता बन्छ र पास हुन सकेन भने सजायको भागिदार तिनै सामान्य भरियाहरू बन्न पुग्छन् । ती गरिब भरियाहरूको त्यत्रो परिमाणको सुन ल्याउने औकात हुँदैन । त्यो ओहोदावाला ठूला माछाहरूकै सामथ्र्यबाट आइरहेको हुन्छ । केही वर्ष पहिले ठूलो परिमाणमा सुन तस्करी भएको र त्यसको बण्डा नमिल्दा सहभागीहरूकै यातनाका कारण एकजना व्यक्तिको ज्यान गएको थियो ।

यस्ता अनगिन्ती उदाहरण हुनसक्छन् । यस्तै कारणले गर्दा दिनदहाडै राजधानी काठमाडौंका बीचैमा गोली हानेर सांसद तथा माथिल्लै स्तरका मानिसहरूको हत्या भएको जस्ता घटना विस्मृत बनिसकेका छैनन् । यस्ता तस्करीका घटनाले नेपालले पनि कुख्याति कमाउँदै गइरहेको छ । पञ्चायतकालमा दरबारनिकटहरूबाटै मूर्ति तस्करीलगायत अपराध हुन्थे र तिनीहरू कानुनको फन्दाभन्दा बाहिरै रहनसक्थे । अहिले त जनताको शासन प्रजातन्त्र छ । जनताकै प्रतिनिधिहरूले भ्रष्टाचार, कालो बजारी, तस्करी र अनियमितता गर्ने हो भने त्यसको निराकरण चाहिँ कसले गर्ने त ? त्यस कारण कानुनको निर्माण जुन रूपमा भए पनि निर्मित कानुनको कार्यान्वयन कठोरतापूर्वक हुनु अपरिहार्य छ । स्वयं व्यक्तिले पनि आत्मा अनुशासनको पालना गर्नु जरुरी छ जुन कुरा हुनसकेको छैन । विकृत व्यक्तिको सोचले निर्मित र संगठित समाजबाट राष्ट्रको छवि कहिल्यै पनि सफा हुनसक्दैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?