शिक्षालाई सीप र रोजगारीसँग नजोड्दा समस्या नगर प्रमुख पाण्डे

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शिक्षालाई सीप र रोजगारीसँग नजोड्दा अहिले समस्या देखिएको भन्दै सीप र रोजगारीसँग जोडेर अघि बढ्नुपर्ने बताउनु भयो । समाजको आवश्यकतालाई पूर्ति गर्ने गरी हाम्रो शिक्षाको पाठ्यक्रम तयार गर्नुपर्ने उहाँले बताउनु भयो ।

कालिका मानवज्ञान माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुका लागि आयोजना गरिएको शैक्षिक गुणस्तर अभिवृद्धि तालिमको उद्घाटन गर्दै उहाँले विश्व परिवेशको अनुभवबाट सिकेर हामीले आफूलाई सुधार गर्नुपर्ने बताउनु भयो । ‘उत्पादनभएको जनशक्ति यहीँ रहने र राख्ने गर्दा मात्रै देश विकास हुने हो, देशलाई फाइदाहुने हो,' उहाँले भन्नुभयो ।

उहाँले कालिका मानवज्ञान माविले गरेको मिहिनेत र प्रगतिले बुटवलको गौरव बढाएको भन्दै यहाँको सिकाई र अनुभव अरुका लागि पनि अनुकरणीय भएको बताउनु भयो ।

कालिका मानवज्ञान माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एंव सल्लाहकार घनश्याम पाठकले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक वर्गसहित यहाँको समुदायको साझा प्रयासबाट विद्यालय अहिलेको अवस्थामा आएको उहाँले चर्चा गर्नु भयो । ‘विद्यालयलाई यो अवस्थामा ल्याउन धेरै मिहिनेत गर्‍यौं, एकैचोटी यो अवस्थामा आएको होइन्, पहलकदमी लियौं,साथ खोज्यौं, साथ पायौं, मिहिनेत गर्‍यौं, संभव भयो,' उहाँले भन्नु भयो ।

उहाँले समय अनुसार शिक्षण र सिकाईलाई सुधार गर्दै जान यस्ता अभिमुखीकरण कार्यक्रम लाभदायक हुने बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यालयको अहिलेको अवस्थाबाट अझै परिस्कृत हुँदै अघि बढ्न सक्दा मात्रै सफलता निरन्तर हुने बताउनु भयो । ‘एउटै विन्दुमा स्थिर भएर सफल हुने होइन्, हिजोको जुन विन्दुबाट यहाँसम्म आयौं, यो विन्दुबाट हामीले अझै अघि बढ्नुछ, त्यसका लागि सबैको साथ सहयोग आवश्यक छ,-उहाँले भन्नु भयो ।

अहिले कालिका मानवज्ञान मावि मुलुकमै नमूना भएको र असल अभ्यासमा प्रथम भएको चर्चा गर्दै आफूले लागु गरेका असल अभ्यासलाई अरु विद्यालयलाई सिकाउन तयार रहेको उहाँले बताउनु भयो ।

समय र परिवेश अनुसार सिकाई र शिक्षणलाई चुस्त बनाउन शैक्षिक सत्रको शुरुमै अभिमुखीकरण आयोजना गरेको उहाँले बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले कालिका मानवज्ञान माविलाई अझै उचाईमा लैजान शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति सबैको सार्थक समन्वय र मिहिनेतको खाँचो रहेको बताउनु भयो । उहाँले सिंगो बुटवल एक विद्यालय अवधारणा अनुसार यहाँका विद्यालयको अवस्था सुधार गर्न ढिलाई गर्न नहुने बताउनु भयो । ‘त्यो अवधारणालाई कार्यान्वयन गर्न विद्यालय सहयोग गर्न तयार छ,' -उहाँले भन्नु भयो ।

तालिम तीन दिन सम्म चल्ने छ । तालिमको पहिलो दिन बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले सहजीकरण गर्नु भएको थियो । ३१ गतेसम्म चल्ने तालिममा नरबहादुर कार्की र अभिशेक घिमिरेले सहजीकरण गर्ने विद्यालयका तालिम संयोजक इवराज तिवारीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?