पाल्पाबाटै सवारी चालक अनुमति पत्रको ‘ट्रायल’ सेवा सुरु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । पाल्पामा पहिलो पटक सवारी चालक अनुुमति पत्रको ट्रायल (परीक्षण) भएको छ । यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले दुई पाङ्ग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रको ट्रायल (परीक्षण) लिन सुरु गरेको हो ।

पहिलो पटक मोटरसाइकल तर्फ वर्ग (ए) र स्कुटरतर्फ वर्ग (के) को नयाँ लाइसेन्स जारी गर्न ट्रायल लिएको छ । तराईमा मात्र हुँदै आएको ट्रायल लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा पहिलो पटक सुरु भएको हो । लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले ट्रायलको शुभारम्भ गर्नुभएको हो ।

एक साताअघि लिखित परीक्षा लिएर दुई पांग्रे स्कुटी र मोटरसाइकलको ट्रायल गराइएको हो । लिखित परीक्षमा उत्तीर्ण १ सय ९० जनाको ट्रायल लिइएको यातायात सेवा व्यवस्था कार्यालयका प्रमुख केशव सुनारले बताउनुुभयो । पहिलो पटकको लिखित परीक्षामा २ सय जना परीक्षार्थीहरु सहभागी भएका थिए । परीक्षार्थीले लिखित परीक्षामा ६० अंक ल्याएमा पास हुने व्यवस्था रहेको छ । लिखित परीक्षामा पास भएका परिक्षार्थीहरुको मात्र (ट्रायल) परीक्षा दिएका हुन् । यातायात कार्यालय बुटवलमा मात्र अत्याधिक भिडभाड बढेपछी लुम्बिनी प्रदेश यातायात व्यवस्था विभागले पाल्पामा पनि दुई पाङ्ग्रे सवारी साधनको परीक्षाको लागि व्यबस्था मिलाएको हो ।

ट्रायल सेवा सञ्चालनमा आएपछि जनताले सहज ढंगले सेवा पाउनुपर्ने जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका गैरेले बताउनुभयो । सिद्धार्थ राजमार्गको बाँसटारीदेखि एक किलोमिटर नजिकमा सुरु ट्रायल सेन्टरका लागि अघिल्लो वर्ष एक करोड बजेट विनियोजन भएको थियो । ट्रायल सेन्टर नजिक सेवा कार्यालयका भवनका लागि जग्गा व्यवस्थापन भएको र आगामी आर्थिक वर्षमा निर्माण सुरु हुने वडाध्यक्ष प्रदीप खनालले बताउनुभयो । यसवर्ष एक करोड बजेट छ । बाँसटारी क्षेत्रमा प्राप्त जग्गामा भवन र सवारी चालक अनुमतिपत्र तथा परीक्षण केन्द्र सञ्चालन हुँदा विकाससँगै रोजगारीका अवसर वृद्धि हुने तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । हाल ट्रायल सेन्टर बनेको स्थानमा १९ रोपनी जग्गा यातायात कार्यालयको भवन तथा अन्य संरचना बनाउन जग्गाको समेत व्यवस्था गरिएको छ । यसअघि साना सवारीसाधनको लाइसेन्सको ट्रायल दिन दुई–तीन दिन लगाएर बुटवल, काठमाडौं, नेपालगन्जलगायतका स्थानमा धाउनुपर्ने बाध्यता थियो । ट्रायल सेन्टरबाट पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँचीका बासिन्दा लाभान्वित भएका छन् ।

पाल्पाको यातायात सेवा कार्यालयमा सवारी चालक अनुमति पत्रको लागि देशभरका जुनसुकै स्थानका व्यक्तिहरुले मोबाईल कम्प्युटरबाट सजिलै आवेदन दिन सक्ने सुविधा रहेको कार्यालय प्रमुख सुनारले बताउनुभयो । कार्यालयले जेठ ४ गतेदेखि लाइसेन्स नविकरणको सेवा समेत दिइरहेको छ । जिल्लाबाटै लाइसेन्स दिने र नविकरणको सेवा सुरु भएसँगै सेवाग्राहीलाई सहज भएको छ । लाइसेन्सको सम्पूर्ण कामका लागि बुटवल, पोखरा जानुपर्ने बाध्यता हटेको भन्दै सवारी चालकहरु समेत उत्साहित भएका छन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?