चिनियाँ मदिरा बरामद

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । वैशाख १८ गतेदेखि चीनसँगको हुम्लाको हिल्सा नाकासहित अन्य नाका खुलेसँगै लुकिछिपी ल्याएको अवैध चिनियाँ मदिरा (झिनिगिन्टी) प्रहरीले बरामद गरेको छ । तीस वटा कार्टुनमा रहेको ३३० बोटल मदिरा प्रहरीले बराम गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक भिमला भट्टराईले बताउनुभयो । बरामद भएको मदिरा रु तीन लाख ६३ हजार रुपैयाँ बराबरको रहेको उहाँले बताउनुभयो ।

सर्केगार्ड गाउँपालिकाबाट खच्चडमा ढुवानी गरी ल्याउँदै गरेको मदिरा खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारमा बिक्री गरेको सूचनाका आधारमा गस्तीमा रहेको प्रहरीले उक्त मदिरा बरामद गरेको हो । अवैध मदिरा बिक्री गरिरहेको सूचना पाएपछि प्रहरीले खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारको एक होटलमा खानतलासी गरी मदिरा बरामद गरेको प्रहरी नायव उपरिक्षक भट्टराईले बताउनुभयो ।

बरामद भएको मदिराबारे आवश्यक कारवाहीका लागि थप अनुसन्धान भइरहेको छ । मदिरा भित्र्याएर बिक्री गर्नेलाई कानुनी कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी हुम्लाले बताएको छ । होटलले सस्तो मूल्यमा आउने मदिरा प्रतिबोतल एक हजार एक सय रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ ।

बरामद भएको अवैध चिनियाँ मदिरा भन्सार कार्यालय हुम्लाले एक सूचना जारी गर्दै लिलाम विक्री गर्ने भएको छ । बरामद भएको मदिराबाट थोरै भएपनि सरकारलाई उठाउनको लागि लाइसेन्स प्राप्त व्यवसायीका लागि लिलामको सुचना जारी गरेको भन्सार कार्यालय हुम्लाका प्रमुख रामराज जैसीले बताउनुभयो । चिनियाँ मदिराले खासै मानव जीवनमा असर नगर्ने भएकाले बरामद भएको मदिरा विक्री गरेर राजस्व उठाउने उहाँले बताउनुभयो ।

यसअघिका वर्षहरुमा बरामद हुँदै आएका चिनियाँ मदिरा प्रहरीले सरोकारवाला निकायको रोवहरमा नष्ट गर्दै आएको थियो । चीनले कोरोनाका कारण सीमा नाका बन्द गर्दा लामो समय चिनियाँ मदिरा जिल्लामा भित्रिन सकेको थिएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?