जनकपुर-जयनगर रेल्वे सेवा विस्तार

महोत्तरीको बिजलपुरदेखि भारतको जयनगरसम्म सञ्चालन

हिमालय टाइम्स
Read Time = 7 mins

पुरन साह/हिटा
जनकपुरधाम । भारतको जयनगरदेखि महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालनमा आएको छ । गत २०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवा आइतबारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा आएको हो । उक्त रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्नुभएको हो । कुर्थाबाट बिजलपुरासम्मका निर्माणकार्य सम्पन्न भएकोे रेल्वे ट्र्याक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो ।

जयनगर-बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आइतबारदेखि रेल सञ्चालनमा आएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले रेलबाट राष्ट्रिय झण्डा देखाएर सुरुवात गर्नुभएको हो । रेल उद्घाटनपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले यात्रुवाहक मात्रै नभएर चाँडै कार्गो रेलसेवा सञ्चालनमा ल्याउने जानकारी गराउनुभयो । उहाँले जयनगर बिजलपुरा सीतापुर रेल सञ्चालन यातायात क्षेत्रको नयाँ छलाङ भएको बताउँदै रेल सञ्चालनले यो क्षेत्रको सामाजिक आर्थिक सुघार हुने विश्वास लिएको बताउनुभयो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जकुमार झाले जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन सुरु भएसँगै कुर्थाबाट बिजलपुरासम्म दैनिक एकपटक रेल सञ्चालन गरिने जानकारी गराउनुभयो । कुर्थाबाट जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्र्याक निर्माण सम्पन्न भए पनि एक किलोमिटर रेलमार्ग निर्माण गर्न बाँकी छ ।

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । जयनगर कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेसन/हल्ट रहेका छन् । जयनगरबाट कुर्थासम्म, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् भने अब विजयपुरासम्म थप दुई हल्ट र दुई स्टेसन थपिएका छन् ।

रेलवे कम्पनी नयाँ रेल खरिदको प्रक्रियामा पनि रहेको महाप्रबन्धक झाले बताउनुभयो । यसअघिको मुआब्जा विवाद सल्टिसकेकाले अब छिट्टै काम सुरु हुने र दुई वर्षभित्रै बर्दिवाससम्म रेल सञ्चालन गर्ने तयारी रहेको उहाँको भनाइ छ  । प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणको क्रममा भएको महत्वपूर्ण सम्झौताहरू मध्ये जयनगरदेखि भंगहासम्मको रेल सेवा विस्तारसमेत एक रहेकाले शीघ्र कार्यान्वयन भएको भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तवले बताउनुभयो ।

सेवा विस्तारसँगै त्यस क्षेत्रको स्थानीयमा उत्साह बढेको छ । जनकपुरधाम हुँदै भारत विहारको सीमावर्ती बजार जयनगरसम्म सजिलै वातानुकूलित रेलमा पुग्ने भएपछि स्थानीय खुसी छन् । यसअघि काठको रेल्वे फलामको लिकमा साना डब्बाका रेल महोत्तरीको बर्दिवास–बिजलपुरा स्टेसनसम्म सञ्चालन हुने गरेको थियो । नेपाल-भारत सम्झौताअनुसार काठ र जडीबुटी नेपालबाट भारत लैजाने र भारबाट उपभोग्य सामग्री नेपाल ल्याउने गरी रेल सञ्चालनमा थियो । यसका साथै समुद्घाटन समारोहलाई मधेशका कृषिमन्त्री गोविन्द न्यौपाने, भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साह सहितकाले सम्बोधन गर्दै रेल्वे सेवाको विस्तारप्रति खुसी व्यक्त गर्दै सेवा गुणस्तरीय र सहज हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

‘पूर्व-पश्चिम रेलमार्गको काम तीव्र रूपमा अगाडि बढाउनुपर्छ’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व-पश्चिम रेलमार्गको काम तीव्र गतिमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । आइतबार भारतको जयनगरदेखि जनकपुरधाम, कुर्था हुँदै पहिलोपटक महोत्तरीमा रेल आएपछि सामाजिक सञ्जालमा पुरानो फोटो सेयर गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपालको रेल !! जनकपुर धामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर रेल सेवा विस्तार भएको छ । यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सेवा सञ्चालन भएको थियो । अब पूर्व-पश्चिम रेल मार्गको काम अझ गतिसाथ अगाडि बढाउनु पर्नेछ’ उहाँले लेख्नुभएको छ, ‘यसबेला रेल सेवा सञ्चालन गर्न विगतमा गरेका कामको सम्झना आइरहेको छ । यस काममा संलग्न सबैलाई धन्यवाद ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?