फेरि फोहोरमैलाको समस्या

हिमालय टाइम्स
Read Time = 7 mins

फोहोर व्यवस्थापनमा फेरि समस्या पैदा भएको छ । यो निकै चुनैतीपूर्ण विषय हो र चुनौतीपूर्ण बन्दै पनि आइरहेको छ । यो चुनौतीपूर्ण बन्नुको एउटा कारण चाहिँ अधिक मात्रामा हुने गरेको राजनीतिले पनि हो । यही राजनीतिको गोटी चाल्ने क्रममा कसले कहाँनेर के कस्तो मौका पाउँछ त्यही अनुसार प्रहार गर्ने गर्दछ । स्वार्थका गोटीहरू चालिरहन्छन् । यही क्रममा कहाँनेर गएर कसको हार हुन्छ र कसको जित हुन्छ सोही अनुसारको प्रभाव बाहिर आउने हो । फोहोरको समस्या पहिले पनि पटक-पटक बल्झिरहने गरेको थियो । गत वर्ष स्थानीय निकायको निर्वाचन भएर काठमाडौं महानगरपालिकामा प्रमुखका रूपमा बालेन साह निर्वाचित भएपछि पनि यो समस्याले चर्को रूप लिएको थियो ।

उहाँले नै पहल गरेर नुवाकोटका स्थानीय र जनप्रतिनिधिसँग सम्झौता गरेर फोहोरको व्यवस्थापन गर्नुभएको थियो । त्यसपछि भने फोहोरको विषय त्यति बल्झेको थिएन । बरू केही समय पहिले सरकार र महानगरबीच केही असमझदारी भएका कारण मेयर साहले सिंहदरबार र बालुवाटारको फोहोर नउठाउने घोषणा गर्नुभएको थियो । उहाँले सरकारलाई पनि चर्को शब्दमा गाली गर्नुभएको थियो । पछि त्यो असमझदारी हटेर गयो र महानगरपालिकाले सिंहदरबार परिसर बालुवाटारको फोहोर पनि उठायो । एकातिरको समस्या समाधान भए पनि पुनः अर्कातिर समस्या सिर्जना भएको छ । बालेन साह आएपछि फोहोरमैलाका क्षेत्रमा पनि केही गर्न खोजेको जस्तो देखिएको थियो । कुहिने र नकुहिने फोहोरलाई घरघरबाटै छुट्याएर तोकिएको फरक-फरक दिनमा संकलन गर्ने गरिएको थियो ।

तर, क्रमशः हाल त्यसो गर्न छोडिएको छ र पहिले पहिलेकै जसरी मिसाएर लाने गरिएको छ । नयाँ व्यवस्था स्थापित गर्न खोज्यो केही समयपछि पूर्वावस्थामै फर्किने हाम्रो प्रवृत्ति जस्ताको त्यस्तै रहेको यसबाट देखिन आउँछ । गर्मीको समय छ, वर्षाद्को पनि समय हो यो । गर्मी महिनामा फोहोरमैलाको समस्या जाडोमा भन्दा बढी देखापर्छ । छिटो कुहिने र दुर्गन्ध फैलिने कारणले गर्दा यसो भएको हो । त्यसमाथि पानी पर्नाले सडक छेउछाउ थुपारेको फोहोर बगाएर यत्रतत्र बनाउने गर्दछ । यसो हुँदा रोगको संक्रमण फैलिन लामो समय लाग्दैन । त्यसले गर्दा फोहोर व्यवस्थापन सबैको साझा समस्या हो भनेर सबैले मान्नुपर्ने हुन्छ ।

फोहोरबाट फैलिने रोग कुनै एउटा पार्टीका कार्यकर्तालाई लाग्ने र अर्को पार्टीका कार्यकर्तालाई नलाग्ने भन्ने हुँदैन । फोहोरको संक्रमणबाट श्वासप्रश्वास, घाँटी, मुटुसम्बन्धी अनेकौं रोग संक्रमण हुन सक्छन् । सबैभन्दा बढी, सबैभन्दा छिटो र झाडापखाला हैजा आदि रोग लाग्न सक्छन् । त्यसैले यथासक्य छिटो यसको समाधान खोजिनुपर्ने हुन्छ । यो कसैको उदासीनता र कसैको सक्रियता हुनुपर्ने विषय होइन । यसमा सबैको समान सक्रियता रहनु आवश्यक छ । फोहोरमैला संकलन गरेर विस्थापित गर्न तोकिएको ठाउँमा लैजाने क्रममा फोहोर बोकेका कन्टेनरहरू हाल बाटैमा रोकिएका छन् । यसका लागि तिनलाई गन्तव्यमा पुग्न र फोहोरको व्यवस्थापन गर्न नदिनेमात्र दोषी छैनन् ।

पहिले गरिएका सम्झौता पालन नगर्ने र स्थानीयहरूका लागि दिन्छु भनेको सेवासुविधा नदिने पक्ष पनि दोषी देखिन्छ । जसरी नेपाली राजनीतिप्रति नेपाली जनताको भरोसा र विश्वास छैन त्यसरी नै यो फोहोरमैला व्यवस्थापनको पक्ष र स्थानीयहरूप्रति पनि जनताको यस्तै धारणा रहँदै आएको छ । किनभने यस विषयमा लामो समयदेखि दोहोरी चल्दै आएको छ । कहिले पहिलो पक्षबाट र कहिले दोस्रो पक्षबाट सम्झौता भंग हुँदै आएको छ । स्थानीयले आफ्नो ठाउँमा फोहोर फाल्न नदिने अधिकार राख्दछन् तर आफूलाई केही फाइदा हुनेजस्तो देखेर सम्झौता गर्ने फेरि पटक-पटक अवरोध पुर्‍याउने काम चाहिँ उचित हुँदैन ।

सम्झौता गरिसकेपछि पालना गर्नुपर्दछ । यसैगरी पहिलो पक्षले पनि स्थानीयलाई दिन्छु भनेर गरेको सम्झौता पालना गर्नुपर्छ । एक पटक एक ठाउँमा गरेको सम्झौता पूरा नगरेको खण्डमा पुनः अर्को ठाउँका मानिसले पनि विश्वास गुमाउँछन् र त्यसका लागि ठाउँ दिँदैनन् । त्यसतर्फ सोच्नुपर्ने हुन्छ । उपत्यकामा फोहोरमैलाको व्यवस्थापन गर्नका लागि ठाउँ छैन । जसले गर्दा भोलिका लागि सम्भावना हेर्दै गर्नुपर्छ । त्यस कारण यस विषयलाई राजनीतिकरण गर्नु हुँदैन र यो सबैको साझा समस्या हो भन्ने ठानेर यथाशीघ्र यसको समाधानका लागि सबै लाग्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?