एपिजी बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी एजेण्डा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी असार २४ देखि २९ गतेसम्म क्यानाडाको भ्यानकुभरमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउण्डरिङ (एपिजी) को वार्षिक प्लेनरी बैठकमा सहभागी भई बुधबार स्वदेश फर्किनुभएको छ । बैठकमा एपिजीका सदस्य राष्ट्र र पर्यवेक्षक/समीक्षकका रूपमा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ), विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, युएन अफिस अफ ड्रग्स एण्ड क्राइम (युएनओडिसी) लगायतका संस्थाको सहभागिता थियो । बैठकमा गभर्नर अधिकारीको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय समन्वय समितिका संयोजक उदयराज सापकोटा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव एवं पारस्परिक मूल्यांकन मूल समितिका संयोजक धनराज ज्ञवालीसहित पारस्परिक मूल्यांकनमा प्रत्यक्ष सहभागी भएका विभिन्न निकायका प्रतिनिधिको सहभागिताको थियो ।

बैठकले नेपाल, ब्रुनाई र लाओसको पारस्परिक मूल्यांकन प्रतिवेदन पारित गरेको छ । साथै बैठकले मंगोेलिया, थाइल्याण्डलगायतका देशको वार्षिक प्रगति विवरणउपर छलफल गरी ती देशका अनुगमन प्रतिवेदन पारित गरेको छ । राष्ट्र बैंकका अनुसार बैठकमा नेपालको पारस्परिक मूल्यांकनको प्रारम्भिक प्रतिवेदनमा विस्तृत छलफल हुँदा मूल्यांकनकर्ताले यसअघि मूल्यांकन गरेको रेटिङमा एउटा सुझाव स्तरोन्नति भई उक्त प्रतिवेदनमा उल्लेखित अवस्थामा केही सुधार भएको थियो । बैठकमा नेपालको यससम्बन्धी कानुन निर्माण र संशोधनसम्बन्धी विषयले उच्च प्राथमिकता पाएको थियो ।

प्लेनरी बैठकले पारित गरेको पारस्परिक मूल्यांकन प्रतिवेदनको फलोअप प्रतिवेदन एपिजीमा पेश गर्नुपर्ने हुन्छ भने सो अवसरमा पारित भएका पारस्परिक मूल्यांकन प्रतिवेदन एफएटिएफमार्पmत् ग्लोबल नेटवर्कमा सञ्चार भएपछि सुझावमा रहेका बुँदा कार्यान्वयनमा लैजाने एक्सन प्लानसहितको प्रतिबद्धता सरकारले एफएटिएफसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । सोही क्रममा मुलुक प्रत्यक्ष निगरानीमा रहनुअघि एफएटिएफले नेपाललाई अब्जरभेसन अवधि प्रदान गर्नेछ, जुन अवधिमा सुझाइएका कार्य कार्यान्वयन हुने अपेक्षा राखिएको हुन्छ । उल्लेखित सुझाव एफएटिएफका मापदण्ड र अन्य मुलुकले पालना गर्दै आएका विषयलाई आधार मानी पारित भएका हुन्छन् ।

गभर्नर अधिकारीले बैठककै क्रममा सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नर डा. पी. नन्दलाल विरासिङ्घेसँग साइडलाइन बैठक गर्नुभएको थियो भने बैठकमा नेपाल र श्रीलंकाको वर्तमान आर्थिकस्थिति, दुई केन्द्रीय बैंकबीचको सम्बन्ध र द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल भएको थियो । साथै, गभर्नर अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलमा सहभागी युएस ट्रेजरी, युएस डिपार्टमेन्ट अफ जस्टिस र युएस डिपार्टमेन्ट अफ स्टेटको टोलीसँग समेत छलफल गर्नुभएको थियो । छलफलमा नेपालको पारस्परिक मूल्यांकन प्रतिवेदनले औँल्याएका विषय समेटिएका थिए । एपिजीको वार्षिक बैठकपछि गभर्नर अधिकारीले वासिङ्टन डिसीस्थित अन्तर्राष्ट्रिय मुद्राकोषको मुख्यालयमा कोषका डेपुटी मेनेजिङ डाइरेक्टर एन्टोनेट सायहसहित साउथ इस्ट एसिया भोटिङ ग्रुपका कार्यकारी निर्देशक, मनी एण्ड क्यापिटल मार्केट (एमसिएम) डिपार्टमेन्ट, लिगल डिपार्टमेन्ट र इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डिएफसी) का विशिष्ट पदाधिकारीसँग सेफगार्ड एसेसमेन्ट, विस्तारित कर्जा सुविधा, पारस्परिक मूल्यांकनलगायत विषयमा द्विपक्षीय छलफल गर्नुभएको थियो ।

एपिजी एफएटिएफ स्टाइल क्षेत्रीय निकाय (एफएसआरबी) हो, जसले एसिया प्यासिफिक क्षेत्रमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एफएटिएफ मापदण्डअनुसारको नीति, नियम र सो कार्यान्वयनका लागि आवश्यक अनुगमन र समन्वय गर्ने गर्छ । संस्थाले सन् २०२१ देखि नेपालको तेस्रो चरणको पारस्परिक मूल्यांकन गरिरहेको छ । सन् १९९५ मा स्थापित संस्थामा हाल एसिया प्यासिफिक क्षेत्रका ४१ राष्ट्र सदस्य रहेका छन् । एपिजीको मुख्य सचिवालय अष्ट्रेलियाको सिड्नीमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?