प्रधान र आचार्यलाई हेमबहादुर मल्ल सम्मान

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । हरेक वर्ष विभिन्न व्यक्तित्वलाई प्रदान गरिँदै आएको हेमबहादुर मल्ल सम्मान २०७७ र ०७८ गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिएको छ । नेपाल जन-प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रधान र आचार्यलाई उक्त सम्मान प्रदान गर्नुभएको हो । उपराष्ट्रपति यादवले जनताको अपेक्षाअनुसार सेवा प्रवाहको कामलाई थप प्रभावकारी बनाउन जरुरी रहेको भन्दै नेपालका प्रशासन, व्यवस्थापन र कर्मचारी संयन्त्रमा सुनिने गरिएका गुनासो, विकृति, विसंगतिको अन्त्यका लागि पनि जनमुखी सेवा प्रवाहको कामलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

मुलुकको आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पसाथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । मुलुक डिजिटल युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले सोहीअनुरूपको जनशक्ति परिचालन गर्दै आफ्नो सेवा प्रवाह थप सुदृढ, परिष्कृत, परिमार्जन गरी अघि बढ्नुपर्नेतर्फ तीनवटै तहका सरकारको ध्यानाकर्षण गराउनुभयो । जनताको सेवा प्रवाहको काम सहज, सरल, प्रभावकारी र पारदर्शी बनाउन पनि नेपाल जन-प्रशासन संघले उनीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक प्रशिक्षणको व्यवस्था गर्नुपर्ने सुझावसमेत उहाँले दिनुभयो ।

ख्यातिप्राप्त प्रशासक र व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रही उत्कृष्ट योगदान पु¥याएबापत उहाँको सम्झनामा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको र हरेक वर्ष राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्‍याउने विभिन्न क्षेत्रका व्यक्तित्वलाई उक्त सम्मान प्रदान गरिँदै आएको संघका अध्यक्ष कृष्णहरि बास्कोटाले बताउनुभयो । हेमबहादुर मल्ल सम्मान बर्सेनि सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनेलाई नगद दुई लाखसहित सम्मानपत्र प्रदान गर्ने गरिएको उहाँले जानकारी गराउनुभयो ।

हेमबहादुर मल्ल सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान् कोइराला, डा. विमल कोइराला, डा. महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकरलाल दास र सूर्यनाथ उपाध्याय सम्मानित भइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?