भारतको मणिपुरमा महिला यौन हिंसाको डरलाग्दो घटना

१४० करोड भारतीयलाई लज्जा भएको छ : प्रधानमन्त्री मोदी

Read Time = 6 mins

नयाँदिल्ली । भारतको मणिपुरमा महिला यौन हिंसाको डरलाग्दो घटना सार्वजनिक भएसँगै यसको सर्वत्र निन्दा भएको छ । विगत साढे दुई महिनादेखि मणिपुरमा मेइती र कुकी समुदायबीच हिंसात्मक द्वन्द्वको बीचमा बुधबार मणिपुरमा दुई महिलामाथि यौन दुव्र्यवहार भएको डरलाग्दो भिडियो सार्वजनिक भएको हो । महिलामाथि भएको चरम यौन उत्पीडन भएको एक भिडियो बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

घटना मे ४ मा घटेको र जुलाई १९ मा बाहिरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भिडियोमा कुकी जातिका दुई महिलालाई मेइती समुदायका पुरुषको समूहले सडकमा नग्न हिँडाएको देखिन्छ । महिला हिंसाको यो दर्दनाक घटनामा ती पुरुषहरूले महिलालाई नग्न रूपमा करिब डेढ किलोमिटर हिँडाएर दुव्र्यवहार गरेको बताइएको छ । उनीहरूले ती महिलालाई कुटपिट गरी अन्तिममा सडक छेउको खेतमा लगेर ‘सामूहिक बलात्कार’ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस भिडियोको पुष्टि गर्दै मणिपुर प्रहरीले यी महिलाहरू मे ४ मा मणिपुरको थौबल जिल्लामा यौन दुव्र्यवहारको सिकार भएको बताएको छ । मणिपुर प्रहरीले भनेको छ, ‘यो घटना मे ४ को हो । यसमा अपहरण, सामूहिक बलात्कार र हत्याको मुद्दा अज्ञात व्यक्तिविरुद्ध दर्ता गरिएको छ । यस विषयमा अनुसन्धान सुरु भएको छ । प्रहरीले दोषीलाई पक्राउ गर्न सक्दो प्रयास गरिरहेको छ ।’

मणिपुरका मुख्यमन्त्री बिरेन सिंहले दोषीलाई फाँसी दिने प्रयास गर्ने बताउनुभएको छ । यस घटनामा एक जनालाई पक्राउ गरिएको पनि मुख्यमन्त्रीले जनाउनुभएको छ ।

यौन हिंसाको डरलाग्दो घटनामा सर्वाेच्च अदालत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिक्रिया जनाउनुभएको छ भने सर्वत्र यसको निन्दा भएको छ । बिहीबार प्रधानमन्त्री मोदीले मणिपुरको घटनाको उल्लेख गर्दै आफ्नो मन पीडाले भरिएको बताउनुभएको छ । प्रधानमन्त्री मोदीले देशको अपमान भइरहेको र दोषीलाई उन्मुक्ति नदिने बताउनुभएको छ । प्रधामन्त्री मोदीले भन्नुभएको छ, ‘कानुनले आफ्नो बाटो लिन्छ । मणिपुरकी छोरीमाथि जे भयो माफी गर्न सकिँदैन ।’ मोदीले भन्नुभएको छ, ‘मणिपुर घटनाका कारण पूरै देश लज्जित छ’, । उहाँले सबै राज्य सरकारलाई कानुनी शासन सुनिश्चित गर्न आग्रह पनि गर्नुभएको छ ।

सर्वोच्च अदालतले पनि स्वतः संज्ञान लिएको छ र सम्पूर्ण मुद्दाको सुनुवाइ यही जुलाई २८ मा तोकेको छ । भिडियो सार्वजनिक भएसँगै यस विषयमा केन्द्रदेखि विपक्षी दलका प्रमुख नेतासम्मको कडा प्रतिक्रिया देखिएको छ । कांग्रेसलगायत अन्य विपक्षी दलहरूले यस विषयमा सत्तारुढ दल भाजपालाई घेरा हाल्ने प्रयास गरेका छन् ।

भिडियोमा देखिएकी एक महिलाको उमेर करिब २० वर्ष र अर्की महिलाको उमेर ४० वर्ष रहेको बताइएको छ । भिडियोमा दुईजना महिला मात्रै देखिन्छन् । तर, भीडले ५० वर्षीया महिलालाई पनि कपडा खोल्न बाध्य पारेको यी महिलाले आफ्नो उजुरीमा बताएका छन् ।

मणिपुरमा गत मेदेखि कुकी र मेइतेई समुदायबीच द्वन्द्व चर्किएको छ । मेइती समुदाय मणिपुरको बहुसंख्यक जनसंख्या हो । उनीहरूले लामो समयदेखि सेड्युल्ड ट्राइब (एसटी)को दर्ता माग गर्दै आएका छन् । यसले उनीहरूलाई सरकारी जागिर र शैक्षिक संस्थाहरूमा आरक्षण सिट जस्ता केही फाइदा दिनेछ । तर, मणिपुरको आदिवासी समूह कुकी समुदायले मेइती समुदायले मागेको एसटी दर्जाको विरोध गरेको छ ।

मेइती समुदायले सो दर्जा पाएमा कुकी र मणिपुरका अन्य आदिवासी समूहलाई फाइदा नगर्ने उनीहरूको भनाइ छ । करिब तीन महिनादेखि जारी द्वन्द्वमा करिब डेढ सयको ज्यान गएको र हजारौं मानिस विस्थापित भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?