प्रहरी सुरक्षाबीच बञ्चरे डाँडामा फोहोर विसर्जन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । स्थानीयको अवरोधबीच प्रहरीको स्कर्टिङबाट काठमाडौं उपत्यकाको फोहोर बञ्चरे डाँडामा विसर्जन गर्न सुरु गरिएको छ । शुक्रबार प्रहरीको स्कर्टिङमार्फत काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका करिब १२० वटा गाडी बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट पुगेका थिए । फोहोर बोकेर गएका गाडीलाई स्थानीयले सिसडोलमा अवरोध गर्न खोजे पनि प्रहरीले बल प्रयोग गरेर भिड पन्छाएको थियो ।

स्थानीयले फोहोरका कारण दुर्गन्ध फैलिएको, गिद्धले सिनोहरू ल्याएर मानिसको छत र आँगनमा झार्ने गरेको, फोहोरका कारण रोगव्याध लाग्ने गरेको र झिँगा फैलिएर बस्तीमा खाना खानसमेत अप्ठेरो परेको गुनासो गर्दै आएका छन् ।

उनीहरूले अव्यस्थित रूपमा फालिएको फोहोर व्यवस्थापन नगरेसम्म र फोहोरबाट अति प्रभावित भएका स्थानीयलाई अर्काे बस्तीमा स्थानान्तरण नगरेसम्म काठमाडौं उपत्यकाको फोहोर ल्याण्डफिल्ड साइटमा जान नदिने अडान राख्दै आएका छन् । स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेका कुनै पनि गाडी केही दिनदेखि ल्याण्डफिल्ड साइट जान सकेका थिएनन् । बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरूले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नयाँ आर्थिक वर्ष सुरु भएकै दिन १ साउनदेखि फोहोर बोकेर ल्याण्डफिल साइट गएका गाडीहरूलाई बाटोमै रोकेका थिए ।

दैनिक ३८० वटा ट्रक बञ्चरेडाँडा जाने गरे पनि अवरोध हुँदा काठमाडौंमा फोहोर व्यवस्थापनमा समस्या सिर्जना भइसकेको थियो । २ साउनमा गएको ३० वटा फोहोर बोकेका गाडी बाटोबाटै फर्केको पछि फोहोर बोकेको गाडी काठमाडौंबाट जानै रोकिएको थियो । तर, बिहीबार क्यापिङ गर्न माटो लिएर २० वटा ट्रक बञ्चरेडाँडा जाँदा अवरोध भएको थिएन । पाँच दिनसम्म फोहोर नउठ्दा टेकु ट्रान्सफर स्टेसन भरिँदै आएको छ भने ललितपुर महानगरपालिकाले घरभित्र फोहोर व्यवस्थापन गर्न महानगरवासीलाई सूचना जारी गरेको छ । काठमाडौंका मैतीदेवी, रातोपुल, न्युरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको छ ।

केही दिनअघि ककनी गाउँपालिकाले फोहोर बोकेर आउने गाडीहरूलाई प्रवेश शुल्क लिने निर्णय गरेको थियो । तर, स्थानीयले शुल्कभन्दा नागरिकको स्वास्थ्य महत्वपूर्ण भन्दै फोहोर विसर्जन गर्न नदिने अडान लिएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । संघीय सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको उनीहरूको आरोप छ । डम्पिङ साइट आसपासका ढुंगाना गाउँ, पहिरे र सुडिनी लगायतका ठाउँमा फोहोरले बस्न नसकिने अवस्था आएको उनीहरूको भनाइ छ ।

उनीहरू ‘कि हामीलाई मारिदे, कि बस्ती सारिदे भन्दै आन्दोलनमा उत्रिएका हुन् । ‘फोहोररहित मानव, मानवरहित फोहोर, फोहोर हामीलाई चाहिँदैन, मान्छे मार्न पाइँदैन,’ लगायत नारासहित फोहोरमैला पीडित नागरिक आन्दोलनमा उत्रिएका छन् । २०६२/०६३ सालमा केही वर्षका लागि उपत्यकाकाको फोहोर ओखरपौवाको सिसडोलमा बिसर्जन गरिएको थियो । त्यहाँ भरिएपछि डेढ किमि तल नयाँ ल्याण्डफिल साइट बञ्चरे डाँडामा निर्माण गरेर केही वर्षदेखि फोहोर बिसर्जन हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?