‘नेपालीपन भएका गीतलाई संरक्षण र सम्बद्र्धन गर्ने दायित्व सबैको हो’

गीता अधिकारी
Read Time = 16 mins

मालारानी गाउँपालीका-५ बागी सुकापोखरा अर्घाखाँचीका शम्भु कुँवर काठमाडौंमा रहेर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनु भएको छ । बहुप्रतिभाका धनी कुँवर गायक, गीतकार मोडलिङ सँगसँगै गीतसंगीतको व्यवसायमा सक्रिय हुनुहुन्छ । कुनै बेला रेडियो आरजेको भूमिकामा आफूलाई प्रस्तुत गर्नुभएका कुँवर यतिबेला भने पूर्णरूपमा गीतसंगीतको क्षेत्रमा आफूलाई समर्पण गर्नुभएको छ । विसं २०७२ सालदेखि स्टुडियो मालाश्रीका मेनिजङ डाइरेक्टरका रूपमा कुशल कार्य सम्पादन गर्दै आउनुभएका कुबँरले पाँच दर्जन जति गीत गाउनुभएको छ भने आधा दर्जन जति गीतमा मोडलिङ पनि गर्नुभएको छ । आफ्नै शुभारम्भ डिजिटल म्युजिक प्रा.लि.मार्फत नेपाली गीतसंगीतको श्रीवृद्धिमा आफूलाई तल्लिन बनाउँदै आउनुभएका उहाँको स्वरमा रहेका ‘तिमीले विष दिए पनि हासी हासी, रुदै क्यारी बाँचौं, चोखो माया गरौला, ताते ताते भन्दै आमा टेक्न सिकायौ, सम्भिएर न रुनु है प्यारी’ जस्ता गीत लोकप्रिय छन् । उहाँको नयाँ प्रतिभालाई खोजेर उजागर गर्ने अभियानले गर्दा थुप्रै नयाँनयाँ प्रतिभाले आफ्नो पहिचान कायम गर्न सफल भएका छन् । उहाँले कमला घिमिरेको पहिलो गीत ‘चिया छानेर’ बजारमा ल्याउनुभएको थियो भने सचिन परियार, रविना बस्याल, आयुसा बस्याललगायतका प्रतिभालाई उजागर गर्नुभएको हो । बच्चाहरूलाई अझ प्राथमिकता दिने गरेको उहाँ बताउनुहुन्छ । नेपालीपन भएका गीतलाई संरक्षण र सम्बद्र्धन गर्ने दायित्व यस क्षेत्रसँग सम्बन्धितहरूको हो भन्नुहुने शम्भु कुँवरसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अशंः-

यतिबेला के गर्दै हुनुुहुन्छ ?
गीतसंगीतसँग सम्बन्धित व्यक्ति भएको हुनाले त्यसैसँग सम्बन्धित कार्यमा नै आफूलाई तल्लिन बनाउँदै आएको छु । यस्तै आफ्ना केही व्यक्तिगत कार्य र केही सामाजिक कार्य छँदै छन् । यतिबेला तीज गीतको चाप भएको हुनाले त्यसैमा अलिक बढी व्यस्त छु भन्नुपर्ला ?

यो क्षेत्रमा कसरी आउनुभयो ?
मेरो जन्म स्थान अर्घाखाँची हो । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका-५ बागी सुकापोखरामा मेरो जन्म भएको हो । अर्घाखाँची जिल्ला लोकगीत संगीतका लागि उर्वर भूमि हो भन्ने मलाई लाग्छ । त्यहाँका पाखा पखेरामा गीत गुञ्जिरहेका हुन्छन् । त्यहाँका मेला पर्व, वन पाखामा गुञ्जिने गीतको सायद प्रभाव ममा पर्‍यो होला । अर्घाखाँचीले थुप्रै कलाकार गायक, गायिका जन्माएको छ । धेरै प्रतिभा हुनुहुन्छ । कसैले आफूमा रहेको प्रतिभालाई उजागर गरेर फिल्डमा आउनुभएको छ भने कोही अन्य कर्ममा आफूलाई संलग्न गराउँदै आउनुभएको छ । मैले मेरो परिवेशको ममा रहेको खुबीलाई यस क्षेत्रमा समर्पण गरेर अघि बढिरहेको छु । मेरो सानैदेखिको लगाव गीतसंगीततर्फ थियो । त्यही सानैदेखिको प्रभावले म यो क्षेत्रमा हेलिँदै गए र अहिले यो पहिचान बन्न सफल भएको हो कि भन्ने लाग्छ ।

यहाँको आवाज केही समय रेडियोमा पनि गुञ्जियो ?
हो, मैले केही समय रेडियोमा काम गरे । रेडियो उपत्याका, रेडियो राजधानीलगायत केही एफ एम रेडियोमा कार्यक्रम प्रस्तोताका रूपमा आफूलाई प्रस्तुत गरे । यतिवेला भने पूर्णरूपमा गीत संगीतकै क्षेत्रमा आफूलाई समर्पित गरेर अघि बढिरहेको छु ।

मालाश्री रेकर्डिङ स्टुडियोमा कसरी जोडिनुभयो ?
यहाँ आउनुको छुट्टै कथा छ । मेरो आफ्नै शुभारम्भ डिजिटल म्युजिक प्रा.लि.मा गीत रेकर्ड गर्दै गर्दादेखि नै म यहाँ आउँथे । म यहाँ आउनेक्रममा विनोद बाजुराली दाइले यो मान्छेलाई ल्याउनुपाए हुन्थ्यो भन्ने सोच बनाउनुभएको रहेछ । मेरो काम गर्ने कार्य कौशल देखेर उहाँको आग्रहमा म यहाँ आए । हामी टिममा काम गर्छौ । यतिबेला धेरै राम्रो हुँदै पनि गएको छ ।

नेपाली गीतसंगीतको प्रारम्भिक कालदेखि अहिलेसम्मको समयलाई हेर्दा यस क्षेत्रमा निकै उतारचढाव आएको देखिन्छ । हामीकहाँ आधुनिक गीत, शास्त्रीय संगीतदेखि लिएर विभिन्न क्षेत्रमा गाइने स्थानीय गीतहरूको आफ्नै महत्व छ । तथापि हाम्रो माटोको सुगन्ध भएको, हाम्रो मौलिक गीत लोक गीतको आफ्नै प्रकारको विशेष महत्व र अस्तित्व रही आएको छ । प्रत्तद गायनदेखि आजको डिजिटल युगसम्ममा हजारौं गायक गायिकाले नेपाली गीतसंगीतमा आफ्नो जीवन व्यतीत गरिसकेका छन् । पुर्खाको पदचाप पछ्यार्दै यसक्षेत्रको समृद्धिका लागि तपाईं हाम्रो सबैको साथ सहयोग आवश्यक छ । नेपालीपन भएका गीतलाई संरक्षण र सम्बद्र्धन गर्ने दायित्व यससँग सम्बन्धित सबैको हो । आउनुहोस् यसमा हातेमालो गरौं ।

यहाँ गीत गाउनुहुन्छ, भाका बनाउनुहुन्छ, गीत लेख्नुहुन्छ, मोडलिङ गर्नुहुन्छ साथै बजार व्यवस्थापन पनि गर्दै आउनुभएको छ, यो सबै कसरी सम्भव हुन्छ ?
म जे गरिरहेको छु एउटै क्षेत्रका विविध पाटा हुन । म फरक-फरक क्षेत्रको काम गरिरहेको छैन । एउटै क्षेत्रका विभिन्न पाटामा आफूलाई प्रस्तुत गर्दै आएको छु । सबै क्षेत्रमा आफूलाई अब्बल रूपमै प्रस्तुत गरेजस्तो लाग्छ यदि सफलता यसको मापन हो भने । अब कसरी सम्भव हुन्छ भन्ने जहाँसम्म तपाईंको प्रश्न छ, मानिसमा सबैभन्दा ठूलो कुरा भनेको इच्छा शक्ति रहेछ । इच्छा शक्ति र आफूमा खुबी भयो भने त्यो सम्भव हुन्छ । समय व्यवस्थापन गर्न सकियो भने गाह्रो छैन ।

यहाँका स्वरमा रहेका कति जति गीत श्रोता/दर्शकमाझ आएका छन् ?
मेरो स्वरमा पाँच दर्जन जति गीत श्रोता/दर्शकमाझ आएका छन् । ‘तिमीले विष दिए पनि हासी हासी’, रुदै क्यारी बाँचौ, चोखो माया गरौला, ताते ताते भन्दै आमा टेक्न सिकायौ, सम्भिएर न रुनु है प्यारी’लगायत गीतलाई श्रोता/दर्शकले औधी मन पराएको पाइन्छ ।

केही गीतमा मोडलिङ गरेको पनि देखिन्छ नि ?
हो, मैले केही गीतमा मोडलिङ गरेको छु । मैले यस्तै आधा दर्जन जति गीतमा मोडलिङ गरेको छु ।

यहाँको आफ्नै शुभारम्भ डिजिटल म्युजिक प्रा.लि. पनि रहेको छ ?
मेरो आफ्नै शुभारम्भ डिजिटल म्युजिक प्रा.लि.रहेको छ । यसमार्फत हामीले नेपाली गीतसंगीत बजार व्यवस्थापन गर्ने गर्छौ ।

यहाँ बहुप्रतिभाको धनी हुनुहुन्छ, आफूलाई के भनेर चिनाउनुहुन्छ ?
सर्वप्रथम म गायक भएरै चिनिएको हुँ म आफूलाई गायक र गीतसंगीतको व्यवसायी कै रूपमनै चिनाउन चाहन्छु ।

यो क्षेत्रमा कतिको प्रतिस्पर्धा छ ?
मलाई के लाग्छ भने हरेक क्षेत्रमा प्रतिस्पर्धा हुन जरुरी छ । जति प्रतिस्पर्धा भयो त्यति नै राम्रो प्रस्तुति बाहिर आउँछ । मात्र यति हो प्रतिस्पर्धा स्वस्थ हुनुपर्‍यो ।

मालाश्री धेरैको रोजाईको रेकर्डिङ स्टुडियो रहेको पाइन्छ नि ?
हो, तपाईंले भनेजस्तै धेरैको रोजाई मालाश्री भएको हामी पाउँछौ । काठमाडौंमा ७० भन्दा बढी गीत रेकर्डिङ स्टुडियो छन् । डिजिटल प्लेटफर्मको व्यापकताले नेपाली गीतसंगीत क्षेत्रलाई व्यस्त बनाएको छ । जसले गायक, लेखक र कलाकारलाई मात्रै होइन, काठमाडौंमा रहेका हरेकजसो रेकर्डिङ स्टुडियोले दैनिक गीत रेकर्ड गरिरहेका छन् । रेकर्ड भएकामध्ये दैनिक कम्तीमा १० वटा सार्वजनिकसमेत हुनेरेका छन् । काठमाडौंमा भएका रेकर्डिङ स्टुडियोमा अग्रपंक्तिमा आउने अर्थात धेरैको रोजाईको स्टुडियो हो मालाश्री ।

मालाश्री स्टुडियोमा दैनिक कतिजति गीत रेकर्डिङ हुन्छ होला ?
हाम्रो स्टुडियोमा दिनको दशवटा जति गीत रेकर्ड हुन्छ । अहिले तीज गीतसंगीतको सिजन भएकाले चाप अलिक बढी छ । कहिले त यो भन्दा धेरै पनि हुन्छ । त्यसो त अरू दिनमा पनि सात-आठवटासम्म दैनिक रेकर्ड भइरहेको हुन्छ । दुईवटा गीत फाइनल गर्छाैं ।

यहाँ प्रयः कस्ता गीत रकेर्ड गर्नहरू आउनुहुन्छ ?
हाम्रोमा प्रायः लोकदोहोरी गीत रेकर्ड हुन्छ । देउडा गीत पनि रेकर्ड हुन्छ । आधुनिक र पप गीत अलि कम रेकर्ड हुन्छ । नाम चलेकादेखि भर्खर गीतसंगीतमा लागेका कलाकार पनि गीत रेकर्ड गर्न आउँछन् । हामीले नियमितलाई प्राथमिकता दिन्छौ र नयाँलाई प्रोत्साहन गर्छौ ।

एउटा राम्रो गीत श्रोतासम्म आइपुग्न स्टुडियोको कस्तो भूमिका रहन्छ ?
सबैको उत्तिकै महत्व छ । भाका हुनुपर्‍यो । शब्द, एरेञ्ज, रेकर्ड, बाजा, भोकल, सम्पादन सबै राम्रो हुँदा राम्रो हुन्छ । स्टुडियोले पनि धेरै कुरा प्रभाव पार्छ ।

नयाँलाई स्टुडियोले दुःख दिने गरेको भन्ने सुनिन्छ नि ?
हामीले नयाँ साथ दिएका छौं जस्तै ‘चिया छानेको गीत’ मेरो लगानीमा आएको गीत हो कमला घिमिरेको । यस्तै सचिन परियार, रविना बस्याल, आयुसा बस्याललाई सुरुमा मैले नै ल्याएको थिए । बच्चाहरूलाई अझ प्राथमिकता दिएको छु ।

भविष्यको योजना ?
गीतसंगीतमा नै केही गरौ भन्ने रहेको छ । नयाँ-नयाँ प्रतिभालाई उजागर गर्ने योजना छ । लुकेर रहेका गीत संगीतका प्रतिभालाई खोजेर उहाँहरूमा रहेको प्रतिभालाई बाहिर ल्याउने, उहाँहरूलाई उजागर गर्ने नै मेरो मुख्य ध्येय हुनेछ । राम्रा राम्रा सिर्जनालाई बाहिर ल्याउने ।

यहाँको लगानीमा थुप्रै गीत श्रोता/दर्शकको माझ आएका भन्नुभयो केहीको नाम लिनुपर्दा ?
मेरो लगानीमा बजारमा आएका गीतहरूमा ‘चिया छानेको, लरी लरीलै, धोबी बगर, माइली, मुगलानी, कमाउनेनी हो रमाउनेनी हो, आधि कपाल, मान्छे फकाएर आफ्नो हुँदैन, सिरक सिरानी, ए हावा जाउ ए बादल जाउ, हान्छु तिम्लाई लौरीले, रातो रबर, दिल बस्यो’लगायत थुप्रै रहेका छन् ।

अन्त्यमा ?
नेपाली गीतसंगीतको प्रारम्भिक कालदेखि अहिलेसम्मको समयलाई हेर्दा यस क्षेत्रमा निकै उतारचढाव आएको देखिन्छ । हामीकहाँ आधुनिक गीत, शास्त्रीय संगीतदेखि लिएर विभिन्न क्षेत्रमा गाइने स्थानीय गीतहरूको आफ्नै महत्व छ । तथापि हाम्रो माटोको सुगन्ध भएको, हाम्रो मौलिक गीत लोक गीतको आफ्नै प्रकारको विशेष महत्व र अस्तित्व रही आएको छ । प्रत्तद गायनदेखि आजको डिजिटल युगसम्ममा हजारौं गायक गायिकाले नेपाली गीतसंगीतमा आफ्नो जीवन व्यतित गरिसकेका छन् । पुर्खाको पदचाप पछ्यार्दै यसक्षेत्रको समृद्धिका लागि तपाईं हाम्रो सबैको साथ सहयोग आवश्यक छ । नेपालीपन भएका गीतलाई संरक्षण र सम्बद्र्धन गर्ने दायित्व यससँग सम्बन्धित सबैको हो । आउनुहोस् यसमा हातेमालो गरौ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?